
धनगढी– कैलालीको गोदावरीमा वन अतिक्रमण हटाउने अभियानका क्रममा भीरबाट टेम्पो फालिएको घटनाको विवाद समाधान भएको छ। टेम्पो फाल्ने कार्यमा संलग्न वन कर्मचारीले भीमदत्त राजमार्गमा टेम्पो राखी खुद्रा सामान बिक्री गर्दै आएकी धनादेवी धामीलाई क्षतिपूर्तिवापत रकम दिएपछि विवाद टुंगिएको हो।
धनादेवीले क्षतिपूर्ति पाएसँगै सोही घटनामा कैलाली प्रहरीको हिरासतमा रहेका सव–डिभिजन वन कार्यालय अत्तरियाका वरिष्ठ डिभिजन वन अधिकृत कृष्णबहादुर बोहरा र वन रक्षक चेतराज फूलारा थुनामुक्त भएका छन्। जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई जनही ७/७ हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो। धामी टेम्पोको क्षतिपूर्तिसँगै अतिक्रमण हटाउने क्रममा वन कार्यालयले भत्काएको घर पुनर्निर्माणको माग गर्दै प्रहरी र स्थानीय प्रशासन धाइरहेकी थिइन्।
वन कर्मचारीले क्षतिपूर्तिवापत ५ लाख रुपैयाँ दिएपछि इलाका प्रहरी कार्यालय मालाखेतीमा उनीहरूबीचको विवाद पनि टुंगिएको छ। भीरमा फालिएको सुपप्र ०१००१ ह ३१८० नम्बरको टेम्पो भने गरिमा विकास बैंकको नाममा रहेको खुलेको छ। गोदावरीकै कृष्णबहादुर थापाले गरिमा विकास बैंकबाट ऋण लिएर टेम्पो खरिद गरेका थिए। ऋण चुक्ता भइसके पनि नामसारी नभएकाले सवारीधनी बैंककै नाममा रहेको देखिएको हो। धामीले उक्त टेम्पो गोदावरीकै एक स्थानीयबाट खरिद गरेको बताएकी छन्। यस घटनापछि डिभिजन वन कार्यालय धनगढीको अतिक्रमण हटाउने अभियान विवादमा परेको थियो।


