
धनगढी– कैलालीको धनगढीबाट नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले आफूलाई सुरक्षाकर्मी उपलब्ध गराउन माग गरेका छन्। रावलले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा निवेदन दर्ता गराउँदै व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) माग गरेका हुन्।
जिल्ला प्रशासनका अनुसार रावलले १ असारमा आफूलाई सुरक्षा खतरा रहेको उल्लेख गर्दै निवेदन पेश गरेका थिए। निवेदनमा उठाइएका विषयका आधारमा रावललाई साँच्चिकै सुरक्षा खतरा छ वा छैन भन्नेबारे प्रशासनले अध्ययन गरिरहेको जनाएको छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठन हुने सुरक्षा विश्लेषण समितिले रावलको सुरक्षासम्बन्धी अवस्थाको अध्ययन तथा मूल्यांकन गरिरहेको छ। अध्ययन र विश्लेषणको निष्कर्षका आधारमा मात्र आवश्यक निर्णय लिइने उनले बताए।
पूर्वमुख्यमन्त्रीको हैसियतमा रावलले यसअघि मापदण्डअनुसार दुई जना सुरक्षाकर्मी पाएका थिए। तर तोकिएको अवधि समाप्त भएपछि ती सुरक्षाकर्मी फिर्ता भएका थिए। त्यसपछि उनले पुनः सुरक्षाकर्मी उपलब्ध गराउन माग गरेका हुन्। प्रदेश सरकारमार्फत पनि पीएसओ माग्न सकिने विकल्प हुँदाहुँदै रावलले सिधै प्रशासन कार्यालयमै निवेदन दिएको जनाइएको छ।


