शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • ‘म्यानपावर काम दिएर ठग्छन्, सरकार रोजगारी दिन्छु भनेर ठग्छ’

‘म्यानपावर काम दिएर ठग्छन्, सरकार रोजगारी दिन्छु भनेर ठग्छ’

  • आइतवार, कार्तिक २३, २०७७
‘म्यानपावर काम दिएर ठग्छन्, सरकार रोजगारी दिन्छु भनेर ठग्छ’

२३ कात्तिक, काठमाडौं । गुल्मीको मदानेका बाबुराम बिक शुक्रबार मध्यान्हमा तिलगंगा आवास क्षेत्रको ‘म्यानपावर बजार’मा कागजपत्र बोकेर चक्कर काटिरहेका थिए । अनिँदोजस्तै देखिने उनका आँखामा काठमाडौंको कंक्रिट जंगल तिर्मिराएको हुँदो हो ।

थकित भए पनि आफ्नो काम त फत्ते गर्नु नै छ, उनी फोटोकपी गर्ने पसल खोज्दै यताउता दगुर्दै थिए । बिहान मात्रै काठमाडौं आइपुगेका उनी सकेसम्म शुक्रबार नै गुल्मीको बस समात्न आतुर छन् ।

यहाँ उनको योजना हो, म्यापावरलाई पासपोर्ट बुझाउने र मेडिकल गरेर फर्किने । कागजपत्र फोटोकपी गर्दागर्दै उनले गाउँबाटै म्यानपावर कम्पनीहरुमा सम्पर्क गरेका छन् । भिसा झरिहाल्छ भनेर भनेपछि उनले म्यानपावरमा शुक्रबार नै पासपोर्ट बुझाउने तरखर गरेको बुझिन्थ्यो । मेडिकल रिपोर्ट पनि लिइहाल्ने योजना थियो ।

जुन म्यानपावरमा सम्पर्क भएको थियो, उसैले अब विदेश पठाउने जिम्मा लिइसक्यो । ‘सबै काम सकियो भने आजै फर्किन्छु,’ उनले भने, ‘यहाँ होटलमा बसेर पनि खर्च मात्रै हुने हो ।’

कोरोनाको महामारी नआएको भए बाबुराम अहिले काठमाडौंमा हुने थिएनन् । सायद उनी दशैं मानेर भारत फकिसकेका हुन्थे । तर, उनलाई महामारीको भेलले गुल्मी ल्याएर थन्क्याइदियो । जसै कोरोनाको महामारी आयो, उनका सपना र योजनाहरु पनि भत्किए ।

उनी महामारीभन्दा अघि भारतको कानपुरको एक होटलमा सर्भिस ब्वाइको रुपमा काम गर्थे । आम्दानी राम्रै थियो, बेला-बेलामा घर पनि आउन पाइएकै थियो ।

जिन्दगी सरल रुपमै चलिरहेको थियो । तर, महामारी सुरु भएपछि होटल बन्द भयो । साहुले बाटो लाग्न भने । त्यसपछि बाबुराम पनि पनि अरु श्रमिककै हुलमा मिसिएर घर फर्किनुपर्‍यो ।

उनी गाउँ आउँदा बजेट आउने लहर थियो । संघ सरकार, प्रदेश सरकारदेखि गाउँपालिकासम्मले बजेट ल्याए । रेडियो/टेलिभिजनमा नेताले रोजगारी सिर्जनाका गफ लगाएको पनि उनले सुनेकै हुन् । तर, उनलाई ती बजेट र कार्यक्रमले कतै छोएन ।

जति जति महामारी लम्बिँदै गयो, उनको दुःख गहिरिँदै गयो । त्यसैले उनी यो अवस्थामा टुलुटुलु हेरेर बस्ने पक्षमा छैनन् । त्यसैले उनले पनि हेमन्त शर्माको गीतमा भनेजस्तै निर्णय लिएका छन्,’अहिले जहाँ पुगेर भएपनि काम गरौं, ४० कटेपछि रमाउँला ।’

बाबुरामलाई काँखको छोरी छोडेर महामारीमै विदेश जानुपर्ने अवस्था आएको छ । उनी यसलाई भाग्यको लेखा मान्छन् । कसैप्रति केही गुनासो पनि गर्दैनन् । बरु पासपोर्टमा जतिसक्दो छिटो भिसा लागिदिए हुन्थ्यो भन्ने प्रार्थना गर्छन् ।

‘पहिले पनि ३ वर्ष कतार बसेर फर्किएको हुँ,’ उनी भन्छन्,’फर्किएर भारतमा पुगेपछि होटलमा काम गर्न थालेँ । अब त खाडीतिर जान्न भन्ने लागको थियो, कर्ममा यस्तै लेखेको रहेछ ।’

उनले गाउँमा बस्दा केही गर्न सकिन्छ कि भनेर आँट नगरेका होइनन् । तर, गोजीमा सुको नभएपछि कहाँबाट के काम गर्ने ? केमा हात हाल्ने ?

त्यसैले उनलाई परदेशकै बाटो सजिलो लागेको छ । आफूले दुःख नै पाए पनि परिवारको खुसीका लागि त केही गर्न सकिन्छ नि !

‘गर्न सक्ने उमेरमा यतिकै बस्नु भएन, अब जे जसो पर्छ, गरिन्छ’ उनी भन्छन्,’महामारी छ भनेर के गर्नु ? डराएर बस्दा त समस्या मात्रै थपिन्छ, बरु जे पर्छ त्यो टर्छ भनेर हिँडेको हुँ ।’

बाबुराम र उनका साथी
बाबुरामसँग अर्का एक युवक पनि काठमाडाैं आएका छन्, तर उनलाई केही बोल्न मन छैन । ‘बोलेर के हुन्छ देशमा ?’ भन्दै उनी पन्छिए ।

सर्लाहीको कबिलासी नगरपालिका घर भएका अजय यादव पनि यही म्यानपावर बजारमा भौंतारिएका छन् । उनी बाबुरामजस्तो बेरोजगार युवा त होइनन्, तर जागिर भएर के गर्नु ? महिनाको १५ हजार पनि कमाइ नहुने । काठमाडौंका कोठा भाडा तिरेर आफ्नो खाईखर्ची जुटाउन पनि मुस्किल छ ।

अजयको हातमा सिप नभएको हैन । इलेक्टि्रकल कम्युनिकेसनमा डिप्लोमा सकाएका छन् । सीटीईभीटीले उत्तीर्णको प्रमाणपत्र लिएर हिँडेका छन् । त्यही प्रमाणपत्रका आधारमा उनले एउटा ‘आउट सोर्सिङ कम्पनी’मा जागिर पनि पाएका हुन् ।

उनी नेपाल टेलिकमको फोनमा आउने समस्या समाधान गर्न त्यही कम्पनीमार्फत दौडन्छन् । दिनभर भोके पेट दौडिएर पनि अजयलाई काठमाडौंमा टिक्न गाह्रो परिरहेको छ ।

अजय यादव
उनका लागि जागिर ‘छ’ भन्न मात्रै भइदियो, कमाइ एक रुपैयाँ बचाउन सकिने अवस्था पनि छैन । त्यसैले उनी अब विदेशमा जान पाइन्छ कि भनेर भौतारिन थालेका हुन् ।

एकजना साथीले कतारबाट सुरक्षा गार्डको डिमान्ड आएको छ भनिदिएपछि उनी म्यानपावर बजारमा आएका हुन् । उनलाई महिनाको १५ सय डलर कमाइ हुने जागिर हो भनेको छ म्यानपावरले । कतारमा २०२२को विश्वकपका लागि सुरक्षा गार्ड चाहिएकाले राम्रो तलब दिइएको तर्क गरेको छ । खाडीमा यति ठूलो तलबको जागिर पाए किन नजाने ! उनको मनमा अहिले उब्जिएको प्रश्न यही हो ।

उनी अब भिसा झर्‍यो भने सेक्युरिटीको कामका लागि नै विदेशिने योजनामा छन् । यदि भएन भने आफूले जानेको सिपमै आधारित काममा पाएपनि विदेश जान पाइन्छ कि भनेर बुझ्ने तरखर पनि गरेका छन् ।

‘हातमा सिप छ भनेर हुँदैन रहेछ, यहाँ सरकारले सिकाएको सिप अनुसारको भ्याकेन्सी नै खुलाउँदैन,’ उनी भन्छन्, ‘श्रमिकलाई दिएको तलब पनि आउटसोर्स कम्पनीले आफैं राखेर खान्छन् । अनि हामीजस्ता युवा नै बाँच्नका लागि नै पुग्ने तलब लिएर कसरी देशभित्र अडिने ? ‘

उनी सरकारलाई सँधै यस्तो गैरजिम्मेवार नबन्न आग्रह गर्छन् । दक्ष श्रमिक आवश्यक परेको स्थानमा जागिर नखुलाएर अरु कम्पनीमार्फत कर्मचारी लिँदा एउटा वर्गले मात्रै लाभ लिने र श्रमिक सँधै भोकै रहने अवस्था आउने उनको भनाइ छ ।

‘अहिले रोगको महामारी छ, सरकारलाई कुरेर के गर्ने ? यतिकै बसियो भने त भोकको महाहारी सुरु हुन्छ,’ उनी भन्छन्,’रोग लागेपनि भोक लागेपनि लड्नु त जनताले नै छ नि ! ‘

आफू सरकारी सेवाका लागि योग्य भएपनि प्रतिस्पर्धाका लागि समेत अवसर नपाएको गुनासो उनको छ । ठूलो खर्च गरेर प्राविधिक शिक्षा लिएपनि अहिले उपयोगविहीनजस्तो भएको भन्दै उनले ‘सिप’को रटानले मात्रै युवालाई रोजगारी नमिल्ने बताए ।

‘सिप भएकाहरु पनि रोएर हिँड्नुपर्ने अवस्था छ,’ उनी भन्छन्,’सरकार काम दिन्छु भनेर ठग्छ, बरु म्यापावरले काम दिएर त ठग्छन् !’

म्यानपावर बजारमा चक्कर काटिरहेका मधेसी युवा
तिलगंगाको म्यानपावर बजारमै भौंताराई रहेको थियो, सिराहाबाट आएको युवाको एक हुल । ‘९ सय रिंगेट त दिन्छु भनेको छ, पासपोर्ट बुझाउँदा फरक पर्दैन,’ हुलमा कुराकानी हुँदै थियो । युवाहरु अओभर टाइम ‘ओटी’ हुन्छ कि हुँदैन भनेर सोधिरहँदा एकजना हुलको नेतृत्व गरेका बुज्रुक अन्य युवालाई हकार्दै थिए ।

यो हुलको नेतृत्व गरेका रहेछन्, रामानन्द मण्डलले । उनले नै मिर्चैयाबाट ७-८ जना युवालाई काठमाडौं ल्याएका खुल्यो । उनी म्यानपावरका एजेन्ट रहेछन् । उनी टोलीका युवालाई कसैसँग नबोल्न भनिरहेका थिए ।

१९/२० वर्षकादेखि ३० कटेकाहरुसम्म हुलमा देखिन्थे । उनीहरु रामानन्दले जता-जता भन्छन्, जे-जे भन्छन्, त्यसै गरिरहेका थिए ।

पटक-पटकको प्रयासमा अनलाइनखबरसँग बोल्न राजी भएका रामानन्दले भने,’यिनीहरु जसरी पनि विदेश पठाइदिनुस् भन्छन्, यहाँ म्यानपावरमा पनि डिमान्ड आएको रहेछ, त्यही भएर काठमाडौं ल्याएँको हुँ ।’

उनले गाउँका गरिब युवालाई विदेश पठाइदिन पाए आफ्नो पनि पुण्य हुने बताए । उनीसँगै रहेका युवालाई भने उनले केही पनि बोल्न दिएनन् ।

‘सबै गाउँका इमान्दार र मिहिनेत केटाहरु हुन्, यिनीहरु गाउँमा घर बनाउने ठाउँमा काम र्गन्,’ उनी भन्छन्,’स्क्राफोल्डिङमा साउदी पठाउन म्यानपावरसँग कुराकानी गरेको छु ।’

उनले कुन म्यानपावरमार्फत प्रक्रिया अघि बढाएको भन्नेबारे खुलाएनन् । ‘रोगको डर छ, धेरै कम्पनीमा जान मिल्दैन,’ उनी भन्छन्,’मान्छेहरुसँग बोल्न पनि मिल्दैन, यस्तो बेलामा पनि केटाहरुले तपाईं नै काठमाडौं हिँड्नुपर्‍यो भनेर मात्रै आएको हुँ ।’

अनलाइनखबरसँग भिडियो र फोटो नखिच्ने शर्तमा यति भनेपछि उनीहरु एक मेडिकलमा छिरे । सम्भवतः उनले युवाको पासपोर्ट म्यानपावरलाई बुझाएर मेडिकल गराउन युवालाई त्यहाँ लैजाादै थिए ।

अहिले बाबुराम, अजय र रामानन्दले काठमाडौं ल्याएका जस्तै धेरै युवा काठमाडौका म्यानपावरको ढोका-ढोका पुगिरहेका छन् । व्यवसायीहरुका अनुसार पनि ‘डिमान्ड’ आएको छ कि छैन भन्दै म्यानपावरमा छिर्नेहरु पछिल्लो दिनमा बढ्दै गएको छ ।

म्यानपावर बजारमा फोटोकपी पसलसहित ओरियन्टेसन कक्षाको व्यवसाय चलाइरहेका नवीन भण्डारी पछिल्ला दिनमा विदेशमा अवसर खोज्दै आउने युवाको संख्या बाक्लिएको बताउँछन् ।

‘छठपछि त फेरि पहिल्यै जसैगरी यहाँ मान्छे ओइरिने देखियो,’ उनी भन्छन्, ‘अहिलेको अवस्था हेर्दा अब युवाहरु अवसर पाएमा महामारी भनेर यतै रोकिने अवस्था देखिएन ।’

म्यानपावर बजारमा देखिएका मधेसी युवा
अहिले अधिकांशरुपमा तराई र अझ विशेष गरी प्रदेश नम्बर २ का युवाहरु बढी म्यानपावरमा धाइरहेको देखिएको बताउँछन् ।

‘यहाँ फोटोकपी गराउने र फोटो खिच्नेहरु हेर्दा देशमा बढेको बेरोजगारीले अब फेरि विदेश जानेहरुको संख्या पुरानै अवस्थमा फर्किन समय लाग्ने देखिँदैन,’ उनी भन्छन्, ‘यहाँ अडिन युवासँग विकल्प छैनन्, त्यसैले बाध्यात्मक वैदेशिक रोजगारी अंगाल्न पर्ने अवस्था झन बढेको अनुभूति हामीलाई पनि भएको छ ।’

सरकारले श्रम स्वीकृति पनि खुला गरेकाले बेरोजगार युवा अब मौका पाए विदेश हानिईहाल्ने योजनामा छन् । कतिपय तिहार र छठ मनाएर मात्रै जाने योजनामा भएपनि कतिपय अहिले नै काठमाडौंका म्यानपावरमा ‘कस्तो माग आएको छ ?’ भनेर बुझ्दै हिँडेको भेटिन्छन् ।

म्यानपावर कम्पनीले पनि डिमान्ड आइसकेको, आउनै लागेको, अब आइहाल्ने लगायतका अनेकन प्रलोभन देखाएर पासपोर्ट होल्ड गर्न थालेका छन् । कतिपय म्यानपावरले भिसा आइहाल्ने भनेर अग्रिम रुपमा पैसा समेत उठाएका छन् ।

तर, अहिले विदेशबाट नयाँ श्रमिकको माग आउन सकेको छैन । म्यानपावर कम्पनीले मागपत्र प्रमाणीकरण नभएकाले मात्रै औपचारिक रुपमा माग नआएको दावी गरिरहेका छन् ।

कम्पनीबाट पटक-पटक पहिलेबाट मागपत्र प्रमाणीकरण सुरु भएर नेपाली युवा लान पाइएला भनेर मलेसिया र कुवेतबाहेकका देशका विभिन्न कम्पनी तयार अवस्थामा बसेको दाबी गर्छन् नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङ ।

‘विदेश पठाइदिन पर्‍यो भनेर युवा काठमाडौंमा ओइरिन थालिसका छन्,’उनले भने,’विदेशस्थिति दूतावाहरुले सहज रुपमा मागपत्र प्रमाणीकरण गरेर विदेश जान चाहाने युवालाई बाटो खोलिदिनुपर्छ ।’

व्यवसायीले मागपत्र प्रमाणीकरणको काम सुरु भएमा तत्कालै डेढ लाख श्रमिकको माग आउने दाबी गर्दै आएका छन् । तर, माहामारीको अनिचियका कारण दूतावासहरुले नयाँ श्रमिक लैजाँदा त्यहाँ फेरि समस्या बल्झिन सक्ने भन्दै प्रमाणीकरणको काम थाल्न अलमल गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार