
बाजुरा– बाजुराको गौमुल गाउँपालिकाले भौगोलिक रूपमा विकट रहेका तीनवटा बस्तीहरूलाई समेटेर नयाँ वडा थप्ने महत्त्वपूर्ण निर्णय गरेको छ। गाउँपालिकाको आज सम्पन्न गाउँसभाले वडा नम्बर १ को अन्द्राडी टोल तथा वडा नम्बर २ को मल्लोदुगन र पौदाली टोललाई मिलाएर नयाँ वडा बनाउने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो।
भौगोलिक विकटता र कठिन भूबनोटका कारण ती क्षेत्रका सर्वसाधारणलाई हालको वडा कार्यालयसम्म पुगेर सामान्य सेवा लिन समेत निकै सास्ती र दुःख भोग्नुपरिरहेको अबस्थालाइ गाउँसभाबाट पारित गरी कार्यन्वयनका लागि अगाडी बढाउन जनाएकाे छ । दुर्गम बस्तीका नागरिकहरूले प्रशासनिक सेवाका लागि गर्नुपर्ने लामो र कष्टकर यात्राको जनगुनासोलाई सम्बोधन गर्दै स्थानीय सरकारले यो निर्णय गरिएकाे गाउँपालिका अध्यक्ष हरी बहादुर राेकायाले बताए । “भौगोलिक विकटताका कारण त्यहाँका जनतालाई वडा कार्यालयमा आउन निकै दुःख थियो,” गाउँपालिकाका अध्यक्ष र रोकायाले भने, “जनस्तरबाट आएको सोही न्यायोचित माग र आवश्यकतालाई सहज रूपमा स्वीकार गर्दै हामीले गाउँसभाबाट नयाँ वडा थप्ने निर्णय पारित गरेका हौँ।”
गाउँसभाबाट पारित भएको यो ऐतिहासिक प्रस्तावलाई अब जिल्ला समन्वय समिति हुँदै स्वीकृतिका लागि प्रदेश सरकार र नेपाल सरकार (मन्त्रिपरिषद्) मा पठाइने गाउँपालिकाले जनाएकाे छ। नेपाल सरकारबाट स्वीकृति भई राजपत्रमा सूचना प्रकाशित भएपछि मात्र यो निर्णयले पूर्ण कानुनी र आधिकारिक रूप पाउनेछ।
नयाँ वडा स्थापना हुने निर्णयसँगै वर्षौँदेखि सास्ती खेप्दै आएका अन्द्राडी, मल्लोदुगन र पौदालीका स्थानीय बासिन्दाहरू उत्साहित भएका छन्। नयाँ वडा बनेपछि यस क्षेत्रका नागरिकहरूले आफ्नै पायक पर्ने स्थानबाट सहजै र छिटोछरितो रूपमा स्थानीय सरकारको सेवा-सुविधा पाउन सक्ने विश्वास गरिएको छ। यसले सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याउने संघीयताको मर्मलाई समेत थप बलियो बनाएको स्थानीयको बुझाइ छ।


