आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • सिस्नु पाउडर उत्पादन तालिमले जगाएकाे उद्यमशील सपना

सिस्नु पाउडर उत्पादन तालिमले जगाएकाे उद्यमशील सपना

  • शुक्रबार, जेष्ठ २९, २०८३
सेयर गर्नुहोस् :
सिस्नु पाउडर उत्पादन तालिमले  जगाएकाे उद्यमशील  सपना

बाजुरा— बडीमालिका नगरपालिकामा विद्यालय बाहिर रहेका किशोरी तथा आर्थिक रूपमा विपन्न महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको ५ दिने सिस्नु पाउडर उत्पादन प्राविधिक सीप विकास तालिम सम्पन्न भएको छ। “समृद्ध नगर, खुसी नगरवासी” भन्ने मूल नाराका साथ बडीमालिका नगरपालिका र सामुदायिक विकास केन्द्र  डोटीको साझेदारीमा आयोजित उक्त तालिम युनिसेफ नेपालको आर्थिक सहयोगमा सञ्चालित “सशक्त महिला, समृद्ध नेपाल” कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको हो।

तालिममा बडीमालिका नगरपालिका वडा नम्बर १, ८ र ९ का विद्यालय बाहिर रहेका किशोरीहरू, आर्थिक रूपमा विपन्न तथा पछाडि परेका समुदायका महिला र लैङ्गिक हिंसा प्रभावित महिलाहरूको सहभागिता रहेको थियो। १४ जना किशोरीलाई सिस्नु पाउडर उत्पादनसम्बन्धी व्यवहारिक ज्ञान, सीप तथा व्यवसायिक योजना निर्माणबारे प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ।

घरको कमजोर आर्थिक अवस्थाका कारण विद्यालय शिक्षा छाड्न बाध्य भएका किशोरीहरूलाई स्वरोजगार र आयआर्जनसँग जोड्ने उद्देश्यले तालिम सञ्चालन गरिएको सामुदायिक विकास केन्द्र  डोटीले जनाएको छ। तालिमपछि सहभागी किशोरीहरू व्यवसाय सञ्चालनतर्फ उत्साहित देखिएका छन्। सहभागीहरूलाई आगामी दिनमा आवश्यक सामग्री तथा थप प्राविधिक सहयोग उपलब्ध गराई उद्यम सञ्चालनमा सहजीकरण गरिने प्रतिबद्धता समेत जनाइएको छ।

तालिम समापन कार्यक्रममा बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काको अध्यक्षतामा स‌चालन भएकाे कार्यक्रममा बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकराज जोशी अथितिकाे रुपमा रहेका थिए । कार्यक्रममा पालिकाका विभिन्न शाखाका कर्मचारी, पत्रकार,  गैरसरकारी संस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। तालिममा बडीमालिका नगरपालिका मेड्पा शाखा प्रमुख रञ्जिता शाही र वडा नम्बर ५ का अंश थापाले प्रशिक्षकको रूपमा सहजीकरण गरेका थिए।

समापन कार्यक्रममा बोल्दै नगरप्रमुख अमरबहादुर खड्काले स्थानीय स्रोत र साधनको उपयोग गर्दै उत्पादनमूलक सीप सिकाएर किशोरी तथा महिलाहरूलाई आत्मनिर्भर बनाउनु नगरपालिकाको प्राथमिकता रहेको बताउनुभयो। उहाँले यस्ता तालिमले रोजगारी सिर्जना, आयआर्जन वृद्धि तथा महिला सशक्तीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत लोकराज जोशीले तालिमबाट सिकेका सीपलाई व्यवहारमा उतार्दै व्यवसायिक रूपमा अगाडि बढ्न सहभागीहरूलाई आग्रह गर्दै स्थानीय स्तरमै उद्यम विकास गर्न सके आर्थिक समृद्धिको आधार बलियो बन्ने बतएका छन। वक्ताहरूले सीपमूलक तालिमले किशोरी तथा महिलाहरूको आत्मविश्वास बढाउनुका साथै स्थानीय स्तरमा रोजगारी सिर्जना र उद्यमशीलता प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए। तालिमले सहभागी किशोरीहरूमा आत्मनिर्भर बन्ने सोच र व्यवसाय सञ्चालन गर्ने उत्साह थपेको आयोजकको भनाइ छ।

चर्चामा

सम्बन्धित समाचार