
काठमाडौं –– टी २० क्रिकेटको विश्व वरीयतामा ८९ औं नम्बरमा रहेको छिमेकी राष्ट्र चीनमाथि १७ औं स्थानमा रहेको नेपालले आज राम्रैसँग क्रिकेटको पाठ पढाएको छ । यो म्याच नेपालका लागि किर्तिमान बनाउने अवसरजस्तो बन्यो ।
सिंगापुरमा भएको म्याचमा टस जितेको चीनले नेपाललाई ब्याटिङको निम्तो दिएर गुन लगायो । गुन यस अर्थमा कि नेपालले पूरा २० ओभर खुलेर ब्याटिङ गर्न पायो र खेलाडीहरूले धक फुकाएर सटहरू हाने । आजको म्याचले नेपाली समर्थकलाई तीन वर्षअघि चीनमा आयोजित एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्ध भएको म्याच सम्झाएको थियो ।
मंगोलियाविरुद्ध पहिलो ब्याटिङ गरेको नेपालले ३१४ रनको स्कोर खडा गर्दै विश्वकिर्तिमान बनाएको थियो, जुन दुई वर्षअघि भङ्ग भइसकेको छ । जिम्बाबेले गाम्बियाविरुद्ध ३४४ रन बनाउँदै नेपालको स्कोरलाई टपेको हो । दोस्रो ठूलो स्कोर भने नेपालकै नाममा थियो । नेपालले मंगोलियाविरुद्ध भन्दा चीनविरुद्ध एक रन कम हान्यो ।
यसप्रकार नेपाल टी २० अन्तर्राष्ट्रियमा दुईपटक ३ सय रन पार गर्ने पहिलो राष्ट्र बनेको छ । सर्वाधिक तीन ठूला टी २० स्कोरमध्ये दुईवटा नेपालको नाममा रहेको छ । टी २० अन्तर्राष्ट्रियमा ५ पटक ३ सयभन्दा माथिको स्कोर बनेका छन् । टेस्ट राष्ट्रविरुद्धको म्याचमा भने अहिलेसम्म ३ सय रन बनेको छैन । भारतले बंगलादेशविरुद्ध बनाएको २९७ रन टेस्ट राष्ट्रविरुद्धको ठूलो स्कोर हो ।
एउटै टी २० अन्तर्राष्ट्रिय म्याचमा सर्वाधिक छक्काको कीर्तिमान नेपालले बराबरी गरेको छ । नेपालले चीनविरुद्ध कुल २९ छक्का प्रहार गरेको थियो । कुशल भुर्तेलले एक्लै १६ छक्का हाने भने रोहित पौडेलले ७, कुशल मल्लले ५ र आसिफ शेखले १ छक्का प्रहार गरे ।
यसअघि स्पेनले क्रोयसियाविरुद्धको म्याचमा पनि २९ छक्का हानेको थियो । उक्त म्याचमा स्पेनले ३ विकेट क्षतिमा २९० रनको स्कोर खडा गरेको थियो । दोस्रो सर्वाधिक छक्का जिम्बाबेले गाम्बियाविरुद्ध हानेको छ । सो म्यानमा जिम्बाबेले २७ छक्का हानेको थियो । तेस्रो फेरि नेपाल नै छ । मंगोलियाविरुद्धको म्याचमा नेपालले २६ छक्का प्रहार गरेको थियो ।
नेपालका ओपनर कुशल भुर्तेलले चीनविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गर्दै अर्को दुर्लभ रेकर्डं बनाए । यसअघि टि २० अन्तर्राष्ट्रियमा चार ब्याट्सम्यानले मात्रै एक ओभरमा छक्का हानेका छन् । उनीहरुमध्ये नेपालकै दिपेन्द्रसिंह ऐरी एक हुन् । ऐरीले २०२४ मा कतारविरुद्धको म्याचमा यो सफलता पाएका थिए । उनीहरुबाहेक भारतका युवराज सिंह (ईंग्ल्यान्डविरुद्ध), वेस्ट इन्डिजका केइरन पोलार्ड (श्रीलंका विरुद्ध) र सामोआका डेरियस भिसरले भानुआटुविरुद्ध एकै ओभरमा छ छक्का हानेका थिए ।
सर्वाधिक कम बलमा शतक प्रहार गर्ने विश्वभरका ब्याट्सम्यानहरुको सूचीमा कुशल भुर्तेल पाँचौं बनेका छन् । चीनविरुद्ध उनले २५ बलमा शतक बनाए । यसअघि नेपालकै कुशल मल्लले मंगोलियाविरुद्ध ३४ बलमा शतक बनाएर विश्वकिर्तिमान राखेका थिए, जुन पछि तोडियो । हाल सर्वाधिक कम बलमा सतकको किर्तिमान इस्टोनियाका साहिल चौहानको नाममा छ । उनले साइप्रसविरुद्ध २७ बलमा शतक हानेका थिए ।
कुशलले बनाएको १२९ रन टी २० म्याचमा कुनै पनि नेपाली ब्याट्सम्यानले बनाएको दोस्रो ठूलो स्कोर हो । पहिलो नम्बरमा कुशल मल्ल नै छन् । उनले मंगोलियाविरुद्ध १३७ रन हानेका थिए ।
नेपालले आज टी २० अन्तर्राष्ट्रियमा रनको हिसाबले सातौं ठूलो जित निकालेको छ । यो नेपालको दोस्रो फराकिलो जित हो । नेपालले मंगोलियालाई २७३ रनले हराएको थियो, जुन अहिले टी २० अन्तर्राष्ट्रियमा दोस्रो फराकिलो जितको रूपमा कायम छ । सबैभन्दा बढी रन अन्तरको जितको कीर्तिमान भने जिम्बाबेले गाम्बियाविरुद्ध राख्यो । उक्त म्याचमा जिम्बाबे २९० रनले विजयी भएको थियो ।


