
बाजुरा— सुदूरपश्चिम प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत जलवायु उत्थानशील भू–परिधि तथा जीविकोपार्जन आयोजना अन्तर्गत प्रदेशस्तरीय आयोजना समन्वय तथा व्यवस्थापन इकाइको आयोजनामा बाजुराको मार्तडीमा आयोजना अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । कार्ययोजना, स्थानीय तहसँगको समन्वय, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण तथा जीविकोपार्जन सुधारका विषयमा सहभागीहरुलाई जानकारी गराउने उदेस्यका साथ सो कार्यक्रमका आयोजना गरिएको हो । कार्यक्रममा जिल्लास्थित सरोकारवाला निकाय, स्थानीय तहका जन प्रतिनिधि, कर्मचारी तथा सम्बन्धित क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
गोष्ठीमा बोल्ने वक्ताहरुले जलवायु परिवर्तनका कारण हिमाली तथा पहाडी जिल्लामा बढ्दै गएको जोखिम न्यूनीकरण गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताएका छन् । उनीहरुले स्थानीय समुदायको सहभागितामार्फत दिगो विकास, वन संरक्षण, वातावरणीय सन्तुलन तथा आयआर्जन वृद्धि गर्न आयोजना उपयोगी हुने धारणा राखेका थिए ।
कार्यक्रममा आयोजनाका गतिविधि, कार्यान्वयन प्रक्रिया, बजेट परिचालन तथा स्थानीय तहको भूमिकाबारे समेत विस्तृत छलफल गरिएको आयोजकले जनाएको छ । जसमा आयोजनाले जिल्लामा सिचाई बन पर्यटन लगायतका क्षेत्रमा काम गर्ने जनाएको छ । पाँच बर्षका लागि सो परियोजनाले बाजुरा जिल्लाका नौ ओटै स्थानिय तहमा सो आयोजना लागु हुने जनाएको छ । पहिलो चरणमा कर्मचारी ब्यबस्थापन लगायतका कार्यहरु केही सम्पन्न भएका र केही सम्पन्न हुने चरणमा रहेकोले अब आयोजनाका कामहरु दुर्त गतिमा अगि बढ्ने आयोजनाका प्रबन्धक भरत प्रशाद श्रेष्ठले बताए । बडीमालिका खप्तड क्षेत्रमा पनि पर्यटन सम्बन्धी पुर्वाधारका कार्यहरुलाइ समेत समेटेर कार्यक्रमहरु अगाडी बढाइने बताएका छन ।
जलवायु उत्थानशील भू–परिधि तथा जीविकोपार्जन आयोजनाका प्रबन्धक भरत प्रशाद श्रेष्ठको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाजुराका समन्वय प्रमुख तुलसीराम रोकाया रहेका थिए । कार्यक्रमको उदेस्य स्वागत तथा जलवायु उत्थानशील भू–परिधि तथा जीविकोपार्जन आयोजनाका प्रबन्धक भरत प्रशाद श्रेष्ठले गरेका थिए भने कार्यक्रमको संचालन आयोजना अधिकृत दान बहादुर थापाले गरेका थिए । कार्यक्रममा जिल्ला स्थित नौ ओटै स्थानिय तहका प्रमुखहरु, आयोजना निर्देशक उद्धव बहादुर घिमिरे लगायतको उपस्थिीती रहेको थियो ।


