शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • पर्यटन
  • आहा ! रामारोशन, स्वर्ग जस्तै तर संरक्षणको अभाव

आहा ! रामारोशन, स्वर्ग जस्तै तर संरक्षणको अभाव

  • आइतवार, कार्तिक २४, २०७६
आहा ! रामारोशन, स्वर्ग जस्तै तर संरक्षणको अभाव

 ‘पर्यटकीय दृष्टीले स्वर्ग मानिने रामारोशन, मनमोहक दृश्यले सबैको मन प्रफुल्ल बनाउँछ । त्यहाँ पुग्नेहरुको थकान क्षणभरमै मेटिन्छ । मन भित्रैबाट आहा रामारोशनले कान गुञ्जिन पुग्छ ।’ रामारोशन अछामको रामारोशन गाउँपालिका–५ मा अवस्थित छ । जयगढदेखि करिब ४० किलोमिटरको कच्ची सडक छिचोल्दै ताल क्षेत्र सम्म अवलोकन गर्न सकिन्छ ।

१२ बण्ड र १८ खण्डका नामले प्रख्यात यो क्षेत्रमा पर्यटकहरु विस्तारै बढ्न थालेका छन् । चारैतिर अग्ला पहाडका चुचुरा अनि घना जंगलको बिचमा ठूला ठूला ताल छन् । ताल छेउमै घाँसेमैदान, बहुमूल्य जडीबुटी, लोपोन्मुख जनावरसहित त्यहाँको हरियाली र प्राकृतिक सम्मिश्रणले लाग्छ रामारोशन साच्चिकै स्र्वगको टुक्रा हो ।

अछामको पूर्वी उत्तरमा पर्ने रामारोशन ताल समुद्री सतहबाट २ हजार ५० मिटरदेखि ३ हजार ७ सय ९२ मिटर उचाइमा पर्दछ । रामारोशन कैलाश नदीको उद्गमस्थल पनि हो । चिसो हावा, चराचुरंगीहरुको चिरविर चिरविर आवज, कैलाश खोलाको कलकल बग्ने छहराहरु, चारै तिर हरियालीसंगै अग्ला अग्ला पहाडले रामारोशन अवलोकन गर्नेहरुलाई लठ्ठ पार्छ ।

यो क्षेत्रमा रहेका १२ बण्ड अर्थात् तालहरूमध्ये सबैभन्दा ठुलो जिइगाले ताललाई मानिन्छ । जिइगालेसहितका थुप्रै ताल छन् । १२ वटा ताल र १८ वटा भूगोल मिलेर रामारोशन सुन्दर बनेको छ ।

रामारोशन ताल नजिकै होटेल व्यवसायी गरिरहेका खडकसिंह रोकाया भन्छन् ‘रामारोशन घुम्न आउनेहरु दिनप्रति दिन बढ्दै गईरहेका छन् । यहाँ एभरेजमा प्रति दिन ५ जना आउँछन् ।बैशाख १ गतेदेखि रामारोशन अवलोकन गर्नेहरुको संख्या बढ्छ ।’

रामारोशन घुम्न आउँनेहरु पहाडको यात्रा, जंगल सवारको अनुभूति, १२ प्रकारको लालीगुराँस अवलोकन, बहुमूल्य औषधीहरुको अवलोकन, परिवारिक भ्रमणमा रमाउँन सकिने विशेषता रहेको रोकायाले बताए । रामारोशन पृथ्वीको किड्नी रहेको बताउँदै मानसरोवर र जलाशयको धारा रहेको यो ताल सिमसार क्षेत्र भित्र पर्ने गरेको जानकारी दिए ।

रामारोशन बाटुले ताल, लामी दह, तल्लो धाउने, रगाडे, लिस्सेडाली, गाग्रे, ताउले, दल्याना, डउठे, बाउले गडा, रामे ताल लगायतका तालले आकर्षण बढाएको छ । यहाँ पानी हाँस, विभिन्न प्रकारका माछाहरु हेर्न पाईन्छ ।

रोकायाका अनुसार यहाँ घोरल, झारल, थार, बाघ, भालु, बँदेल, रतुवा र कालिज डाँफे जस्ता जनावर तथा चराचुरुङगीले रामारोशनलाई झन सुन्दर बनाईदिएको बताए । १२ ओटा ताल र घासे मैदानले भरिएका रमणीय उपत्यका जस्तो देखिने १८ ओटा आकर्षक प्राकृतिक पाटनहरुले सुुसज्जित यस क्षेत्रलाई स्थानीय भाषामा १२ बण्ड र १८ खण्ड पनि भनिन्छ। किनीमिन्नी मैदान फाँट र रामारोशन मैदान फाँट ठूला र आकर्षक छन्। उत्तरी खण्डको चट्टानी पहाडले झनै आकर्षण थपेको छ।

रामारोशनको सुन्दरता भित्रको कुरुपता

रामारोशन ताल संरक्षण अभावले विस्तारै कुरुप बन्दै गईरहेको छ । पर्यटनको प्रचुर सम्भावना बोकेको सो क्षेत्रका १२ वटा तालहरुमध्ये संरक्षणको अभावमा ८ वटा ताल मात्रै जिवित छन् । अन्य ताल पुरिएर सुक्न थालेका छन्। अछामको प्रमुख पर्यटकीय क्षेत्र मानिने रामारोशन संरक्षणको पर्खाइमा छ ।

ताल वरिपरि जलकुम्भीले भरिएको छ । अवलोकन गर्ने पर्यटकहरु तलको सरसफाई गरि बोटिंगको व्यवस्था गरिदिए अवलोकनलाई थप आनन्द मिल्ने प्रतिक्रिया दिन्छन् । रामारोशन घुम्न आउँनेहरु बाटोको यात्रा सम्झिदा विचबाटोबाटै फर्किहाल्ने कि भन्ने भान हुन्छ । तर रामारोशन पुगिसक्दाको आनन्द बेग्ले हुन्छ ।

रामारोशन गाउँ पालिकाका उपाध्यक्ष सरस्वती रावलले रामारोशनलाई पर्यटकीय गनतव्य बनाउनकोलागि राज्यले नीतिगत योजना ल्याउन आवश्यक रहेको बताईन् । उनले रामारोशनको सम्वद्र्धन प्रर्वद्धन तथा उचित प्रचारप्रसार हुन नसकेकै कारण बाह्रय पर्यटक भित्रियाउन चुनौति भएको बताइन् ।

रामारोशन पुग्न कच्ची बाटोले पर्यटकहरुलाई आवतजावतमा समस्या भईरहेको बताउँदै सडक स्तरउन्नतीकोलागि ठूलो बजेट खर्च हुदाँ गाउँपालिकाले संघिय सरकारसंग अनुरोध गरिरहेको बताइन् ।

रामारोशन आफैमा पर्यटकीय क्षेत्र भएको कारण पर्यटन भ्रमण वर्ष २०२० लाई सफल बनाउन रामारोशनको उचित संरक्षण र सवद्र्धन गर्न सरोकारवाला निकायको ध्यान रामारोशनमा केन्द्रीत हुन आवश्यक रहेको रावलले भनिन् ।

कालिकोट र बाजुरा जिल्लाको दक्षिणमा अवस्थित यो क्षेत्र अछामका रामारोशन भाटाकाटिया साविक गाविस र कालीकोट जिल्लाको रुप्सासँग जोडिएकोे छ।

पर्यटकलाई विश्रामकोलागि छहारी

रामारोशन गाउँपालिका वडा न. ५ का खडकसिंह रोकाया पर्यटकहरुलाई विश्राम गर्न सजिलो होस्भनि छहारी निर्माण गरेका छन् । उनले नाफा कमाउँने उदेश्यले भन्दा पनि पर्यटकलाई खाना र बस्न सहज होस् भनि १५ लाखको लागतमा रेष्टुरेन्ट निर्माण गरेका छन् ।

पुर्व लडाकु समेत रहेका रोकाया जनयूद्धपनि सामाजिक अभियन्ता भएर काम गर्दै आईरहेका थिए । उनी रामारोशन घुम्न आएका पर्यटकहरुलाई लोकल खाना जस्तैः सिस्नो, मकैको रोटी, कोदोको रोटी, भटमासको दाल आदिले स्वागत गर्ने गरेको बताए । रोकायाले होटेल व्यवसायी गर्न लागेको एक वर्ष पुगेको छ ।

उनले रामारोशनमा सम्भावना धेरै रहेको बताउँदै रामारोशन, बडिमालिका, खप्तडहुदै राराताल जोड्ने सडक निर्माण भएपछि यहाँका जनताहरु रोजगारीको लागि भारत जान नपर्ने बताए । सरकारले रामारोशनका जनताहरुलाई आर्थिकरुपले सशक्त बनाउन भौतिक पूर्वधारको विकास गर्न अति आवश्यक रहेको बताए ।

चर्चामा

सम्बन्धित समाचार