शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • जब मान्छेमा हनुमानको आत्मा चढ्यो

जब मान्छेमा हनुमानको आत्मा चढ्यो

  • बुधबार, अशोज २२, २०७६
जब मान्छेमा हनुमानको आत्मा चढ्यो

विजया दशमीको रौनकबीच बुंगमतीमा मंगलबार राति मनकामनाको जात्रासहित विशेष सांस्कृतिक उत्सव मनाइयो। जावलाखेलबाट करिब छ किलोमिटर दक्षिण पर्ने बुंगमतीमा नवमीबाट सुरू यो जात्रा एकादशीसम्म चल्छ। जात्राको महत्वपूर्ण दिन विजया दशमीको रात हो।

पहिलो दिन नवमीको रात मनकामना र उनका श्रीमानलाई मन्दिरबाट बाहिर निकालिएको थियो। बुंगमतीको मच्छिन्द्रबहालस्थित मनकामना मन्दिर वर्षभरिमा नवमी, दशमी र एकादशीको तीन दिन मात्र खुल्छ। अरू बेला दिनको दुईचोटि नित्य आरती र पूजाआजा गर्नुपर्छ, तर पुजारी परिवारबाट अभिषेक लिएका व्यक्तिबाहेक अरू मन्दिरभित्र छिर्न पाउँदैनन्।

यो जात्रालाई स्थानीयहरू ‘नन्दे–कुन्दे’ जात्रा भन्छन्। कुन्दे भनेको अजिमा, अर्थात् मनकामना हुन् भने नन्दे उनका श्रीमान्, अर्थात् आजु।

पहिलो दिनको जात्रा बहालभित्र मात्र चल्छ। बहालको दक्षिण ढोकामा भीमसेन बाटो छेकेर बसेका हुन्छन् भन्ने स्थानीय किम्बदन्ती छ।

किम्बदन्तीअनुसार ह्यांग्रिभ भैरव र भीमसेन कुनै बेला मीत थिए रे। एकदिन भैरवले आफ्नो मितलाई भोज खुवाउन राँगाको मासुको थोरै भाग छुट्टयाएर राखेछन्। आफू भने मन्दिर पछाडिको चोकमा सिंगै राँगो मारेर खान थालेछन्। यो थाहा पाएर भीमसेन रिसले चूर भए। भैरवलाई बाहिर जान दिन्न भन्दै मच्छिन्द्रबहालको दक्षिण ढोका रहेको ठाउँमा टाङ फैलाएर बसे। यो भनेको नवमीको दिन हो। उनी आउने–जानेलाई भन्थे रे, ‘म कसैलाई पनि यो बाटो हिँड्न दिन्न। हिँड्ने भए मेरो टाङ मुनिबाट जाओ।’

भीमसेनको यस्तो रवैयाले सबैलाई अप्ठ्यारो परेपछि भैरवले हनुमानसँग सहयोग मागेछन्। हनुमानले भीमसेनलाई बाँसको टुप्पोले अंकुश लगाएर हुत्याउँदै अहिले दोलखामा भीमसेनस्थान रहेको ठाउँसम्म पुर्याएदिए भन्ने कथन छ।

यो पनि हेर्नुहोस्:

आज टीका लगाएपछि के गर्नुहुन्छ? बुंगमतीमा चुल्हे निम्तो छ

नवमी र दशमीको दिन भीमसेनले दक्षिण ढोकामा टाङ फैलाएर बाटो अवरूद्ध पार्ने हुँदा मनकामनाको जात्रा मच्छिन्द्रबहालबाट बाहिर जाँदैन। मंगलबार दशमीको रात करिब साढे १० बजेतिर इन्द्रायणी बाजा बजाउँदै हनुमान ढाकियो। बाजाको धून सुनेर एक स्थानीय व्यक्तिमा हनुमानको आत्मा चढ्यो। आत्मा चढेका ती व्यक्ति हनुमानझैं वेगमा कुदेर बहालमा आए। त्यहाँ गाडिएको बाँसको लिंगोमाथि चढे।

यसरी हनुमान बाँसको लिंगोमा चढेपछि बाटो छेकेर बसेका भीमसेन हुत्तिएर दोलखा पुग्छन् भन्ने जनविश्वास छ। त्यसपछि मच्छिन्द्रबहालबाहिर मनकामनाको जात्रा फुक्छ। यो एकादशीको दिनभरि चल्छ।

पहिले दुई–तीन जना व्यक्तिमा एकैचोटि हनुमानको आत्मा आउँथ्यो। उनीहरूबीच आपसमा प्रतिस्पर्धा हुन्थ्यो। जसले जित्यो उसैले भीमसेनलाई हुत्याउने अवसर पाउँथ्यो।

बुंगमती जात्रा क्रममा सेतो घोडामा सवार सार्थवाह। तस्बिर: किरणकृष्ण श्रेष्ठ
यसबीच यहाँ सेतो घोडामा सवार सार्थवाहको कथा पनि मञ्चन गरियो। किम्बदन्तीअनुसार उनी प्राचीन काठमाडौंका व्यापारी हुन्। व्यापार सिलसिलामा श्रीलंका जाँदा यक्षिनी (राक्षसनी) हरूको चंगुलमा परेका थिए। मच्छिन्द्रनाथ, अर्थात् बुंगद्यःले सपनामा आएर उनलाई सचेत गराए। ब्युँझेर हेर्दा आफ्नै छेउमा यक्षिनी सुतिरहेको देखे।

सार्थवाहले आफूसँगै गएका साथीहरूलाई पनि उठाए। कसैले उनको कुरा पत्याए, कसैले पत्याएनन्। पत्याउनेहरू सार्थवाहसँगै त्यहाँबाट कुलेलम ठोके। बाटोमा समुद्र तर्नुपर्थ्यो। पछाडि पछाडि यक्षिनीहरू लखेट्दै आइरहेका थिए। त्यही बेला बुंगद्यः सेतो वायुपंखी घोडामा उनलाई उद्धार गर्न आइपुगे।

यही किम्बदन्तीलाई साकार रूप दिन बुंगमतीको जात्रामा सार्थवाह बनेका व्यक्ति सेतो घोडा चढेर बहालमा उक्त कथा मञ्चन गर्छन्। यो मनकामना जात्राको विशेष आकर्षण हो।

एकादशीको रात मनकामना अजिमा र आजुलाई मन्दिरभित्र प्रवेश गराएपछि जात्रा सकिन्छ। पहिले बुंगमतीमा जात्रा हुने तीन दिनसम्म मनकामना मन्दिर बन्द हुन्थ्यो भन्ने भनाइ यहाँ प्रचलित छ। अचेल भने बन्द हुँदैन। बुंगमतीका स्थानीय पुरानो चलन समयक्रममा लोप भएको हुनसक्ने बताउँछन्।

उनीहरूका अनुसार पहिले काठमाडौंकै कुनै बज्राचार्य खलकबाट गोरखाको मनकामना मन्दिरमा पूजा गर्न जाने चलन थियो। लामो बाटो आउजाउ गर्नुपर्ने हुँदा यो चलन मासिएको उनीहरूको भनाइ छ।

चर्चामा

सम्बन्धित समाचार