शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • धार्मिक
  • पाल्पाकै प्रशिद्ध धार्मिक स्थल रम्भादेवी, यस्तो छ यहाँको जान्नैपर्ने किवंदन्ती

पाल्पाकै प्रशिद्ध धार्मिक स्थल रम्भादेवी, यस्तो छ यहाँको जान्नैपर्ने किवंदन्ती

  • शनिबार, साउन ११, २०७६
पाल्पाकै प्रशिद्ध धार्मिक स्थल रम्भादेवी, यस्तो छ यहाँको जान्नैपर्ने किवंदन्ती

एवत सारु । पाल्पा
जिल्लाकै ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको रम्भादेवी मन्दिर भक्तजन तथा दर्शनार्थीको लागि उत्कृष्ट गन्तव्य बन्दै गएको छ । रम्भादेवीको मन्दिर गई चोखो मनले भाकल गरे रम्भादेवीले मनोकांक्षा पुरा गर्ने जनविश्वासले गर्दा दिनहु भक्तजनहरुको घुईचो लाग्ने गर्दछ ।

जिल्लाकै धार्मिक केन्द्रको रुपमा रहेको रम्भादेवी मन्दिर र आसपासका क्षेत्र धार्मिक हिसाबले मात्र नभई सास्कृतिक, सामुदायिक वन विकास, पर्यटन विकास तथा जैविक विविधताको दृष्टिले समेत महत्वपूर्ण रहेको छ । जिल्ला सदरमुकाम तानसेन बजारबाट करिब ३१ किलोमिटर पूर्वमा ताहु बजार नजिकै रम्भाद्वार्थ राजमार्गमा पर्ने आर्यभञ्ज्याङ देखि करिब १४ किलोमिटरको दुरीमा यो मन्दिर रहेको छ । जिल्लाको १० स्थानीय तह मध्य रम्भा गाउँपालिकाको वडा नं। ५ ताहुमा यो मन्दिर रहेको छ । गाउपालिकाको नाम समेत रम्भादेवीको नामबाट नामाकरण गरिएको छ ।

ताहु बजार देखि करिब १ किलोमिटर उत्तर तर्फ हिंडेपछि रम्भादेवी वन क्षेत्रमा पुग्न सकिन्छ । रम्भादेवी वनको अधिकांश भाग उत्तरी ढलान फर्केको छ भने केही भाग दक्षिणी मोहडा फर्केको छ । यस वनमा ६० प्रजाति भन्दा धेरै वनस्पति तथा सयौं थरीका वन्यजन्तु रहेको जिल्ला वन कार्यालयले जनाएको छ । संरक्षित वनस्पति बेत बाँस यसै वनमा पाईन्छ । उत्तर तर्फ रहेको रमणीय माछापुच्छे्र, धौलागिरी, अन्नपूर्ण हिम श्रंखला देख्न सकिने रम्भादेवी वनको बिचमा रम्भादेवीको मन्दिर रहेकोछ ।

धार्मिक किम्बदन्ती अनुसार भगवान राम र सीता घुम्दै आउँदा यस क्षेत्रमा आईपुगेको र रमा९सीता० लाई पानीको प्यास लाग्दा रामले वाण हानी पानी उत्पन्न भएकोले रमापानी भनिएको र पछि अपभ्रशं भई रमापानीको सट्टा रम्भापानी भएको कथन छ ।
रम्भादेवी मन्दिर नजिकका क्षेत्र समेत धार्मिक र ऐतिहासिक हिसाबले महत्वपूर्ण मानिन्छ । यस क्षेत्र देखि केही दुरीमा बाकुमगढी तथा रिमिघा लेक पर्दछ । रिमीघा लेक पर्यटकीय दृष्टिले महत्वपूर्ण त छदै छ यो लेक ऋषिमुनीहरुको पवित्र तपोभूमिको रुपमा समेत रहेको विश्वास गरिन्छ ।

रम्भादेवी क्षेत्रबाट नजिकै रहेको बाकुमगढीमा नेपाल एकीकरणको क्रममा युद्ध भएको थियो । यहा गोर्खाली फौज र पाल्पाली सेनवंशीय राजाहरु बिच लडाई चलेको थियो । मन्दिरको प्रवेश क्षेत्रमा नाचन डाडा रहेको छ । नाचन डाडा मगर समुदायको मारुनी नाच नाच्ने थलोको रुपमा चिनिन्छ । यहा हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मेला लाग्ने गर्दछ । समुद्र सतह देखि करिब ४३०० फिट उचाईंमा रहेको नाचन डाँडा सम्म सडक पु¥याइएको छ । नाचन डाडामा रम्भादेवी पर्यटन विकास प्रतिष्ठानको सहयोगमा रम्भादेवी मन्दिर प्रवेश द्वार निर्माण गरिएको छ । प्रवेश द्वार देखि करिब ८ सय मिटर को दुरीमा मन्दिर रहेको छ । प्रवेश द्वार देखि मन्दिर सम्मको ८ सय मिटर लम्बाई रहेको बाटो डेढ मिटर चौडाईमा ढुंगाले छापेर बनाईएको छ । बाटोको कुना र छेउमा विभिन्न प्रजातिका वनस्पति लगाईएको छ । रम्भादेवी क्षेत्र विकासको लागि विभिन्न संघ संस्था तथा व्यक्तिहरुको महत्वपूर्ण योगदान रहेको छ । यस क्षेत्रको विकासको लागि रम्भादेवी पर्यटन विकास प्रतिष्ठान, रम्भादेवी सामुदायिक वन, रम्भादेवी समाज कोष, रम्भादेवी मन्दिर व्यवस्थापन समिति लगायतका समिति मार्फत परिवर्तनका प्रयासहरु भई रहेका छन् । पाल्पाको अर्गलीमा पुख्र्यौली घर भई हाल पोखरा बस्ने हरिप्रसाद पाण्डेले रम्भादेवी मन्दिर, प्रतिक्षालय, खानेपानी टंकी निर्माण गरिदिनु भएको छ । मन्दिर परिसर सफा गर्न मासिक तलब रु ५००० दिएर कर्मचारी समेत राखिएको छ ।

रम्भादेवी मन्दिरमा सर्वप्रथम वि।सं १९५८ मा मुर्ति चढाएको अभिलेख छ । वि।सं। १९९९ मा पाल्पाका तत्कालिन कमाण्डर इन चिफ रुद्र शमशेरद्वारा मन्दिरमा देवीको मुकुट र गहना चढाईएको थियो । हाल यस मन्दिरमा करिब ४२ वर्ष अगाडी बनाएको मुर्तिलाई दैनिक पुजा गरिन्छ । अहिलेको मुर्ति वि।सं २०३३ साल भाद्र १ गते कृष्ण जयन्तीका दिन टक्सार निवासी मुर्तिकार रामलाल शाक्यले चढाएका हुन् ।

रम्भादेवी मन्दिर बारे विभिन्न रोचक तथ्यहरु समेत खुल्दै आएका छन् । मन्दिरको मुर्ति २ पटक चोरी भएको पुजारी टीकाराम बस्याल बताउछन् । पछिल्लो पटक वि।सं २०२८ मा मन्दिरबाट नभई घरैबाट मुर्ति चोरी भएको वहाँ बताउनु हुन्छ । बस्तीबाट टाढा जंगलको बिचमा मन्दिर रहेको र मन्दिरबाट मुर्ति चोरी भएको विभिन्न संचार माध्यममा आएपनि मुर्ति घरबाट चोरी भएको हो । करिब २५ वर्ष अगाडि देखि पुजारी काम गर्दै आउनु भएका ५३ वर्षीय बस्याल र अर्का पुजारी पे्रम नारायण पाण्डेले मन्दिरको मुर्ति जोगाउन दिनहु घरैबाट डोकोमा बोकेर ल्याउने लैजाने गर्छन् । घरबाट दैनिक डेढ घण्टा हिंडेर डोकोमा मुर्ति तथा शिला ल्याई मन्दिरमा राख्ने र बेलुकीपख घर लैजाने गरिएको छ । विशेष पुजाका दिन दुवै जना पुजारी आउने र अन्य दिन पालैपालो गरि पुजा गर्न आउने गरिएको पुजारी पे्रमनारायण पाण्डे बताउछन् । उनीहरु दिनहु ताहु बजारका घर घरमा पुगी एकएक मुठी अक्षेता समेत बटुल्ने गर्छन र मन्दिरमा चढाउने गर्छन् । ताहु बजारका करिब ५६ घरमा पुगी अक्षेता उठाउने गरिएको छ ।

रम्भादेवी मन्दिर संगै पानीको मुहान रहेकोले स्थानीयलाई खानेपानीको गर्जो समेत टरेको छ । ताहुका केही घरपरिवारले मन्दिरको पानी उपभोग गरेको ताहु रानाटोल निवासी कृष्णा रानाले बताईन् । रम्भादेवी मन्दिरमा साउन महिनाको पहिलो १५ दिन, एकादशी र औंसीको दिन बाहेक वर्ष भरि नै पुजा गरिन्छ । बुद्ध जयन्ती र कृष्ण जन्माष्टमीको दिन धुमधामसंग पुजा गरिए पनि त्यस दिन बलि दिईन्न । पुजारीहरुले मन्दिरमा चढाएको भेटी, दान दक्षिणाका साथै बोका, राँगाको बलि दिंदा उठेको रकम लिने गरेको पर्यटन विकास प्रतिष्ठानका अध्यक्ष विनोदकुमार श्रेष्ठ बताउछन् । एउटा रांगो वा बोकाको बलि दिंदा रु। ६०० लिने गरिएको पुजारी टिकाराम बस्याल बताउछन् । धेरै पुजा हुने महिनामा २०,२५ हजार रुपिया सम्म आम्दानी हुने तर कहिले काही नगण्य आम्दानी हुने बस्याल बताउछन् । मन्दिरमा हास, बोका, रागा, कुभिण्डो, भेडा, परेवाको बलि दिईन्छ । रम्भा गाउपालिकाको झोकेदी र पिपलडाडाका करिब २५० घरकुरियाका भक्तजनले हरेका वर्ष १ पाथी धान उठाई पुजारीलाई दिने गर्छन् ।

यस मन्दिरमा चोखोमनले चिताएको कुरा रम्भादेवीले पु¥याउने हुंदा आजकल मन्दिरमा विवाह तथा व्रतबन्ध समेत गर्नेहरु आउन थालेका छन् । पुजा गर्न स्याङजा, नवलपरासी, गुल्मी, रुपन्देही, कास्की, काठमाण्डौ लगायतका स्थानबाट समेत आउने गर्दछन् ।

रम्भादेवी मन्दिरको माथि डाडामा भ्यू टावर निर्माण, बगैचा निर्माण र मन्दिरको आम्दानी व्यवस्थापन गर्न छुृट्टै समिति बनाउने योजना रहेको रम्भादेवी पर्यटन विकास प्रतिष्ठानका अध्यक्ष विनोदकुमार श्रेष्ठ बताउछन् । प्रतिष्ठानबाट प्रवेश द्वार निर्माण, प्रवेश द्वार देखि मन्दिर सम्मको बाटोमा ढुंगा छाप्ने काम, वनको चुलीमा वन्यजन्तुको लागि ७० हजार लिटर क्षमताको पानीपोखरी निर्माण, पिकनिक स्थल निर्माण लगायतका कार्य गरिएको श्रेष्ठ बताउछन् । यस वर्ष फुलको बगैचा निर्माण गर्ने योजना रहेको छ । रम्भादेवी सामुदायिक वनका वन्य पैदावार बिक्री गरि कोष स्थापना गरिएको छ । उक्त कोषबाट समेत मन्दिर विकासमा टेवा पुगेको रम्भादेवी सामुदायिक वनका उपाध्यक्ष खुमप्रसाद श्रेष्ठ बताउछन् । मन्दिरमा विद्युत सुविधा नभएकोले यस वर्ष रम्भा गाउपालिकाबाट विद्युतिकरण गर्न तथा उत्तर तर्फको प्रवेश द्वार सम्म मोटरबाटो विस्तार गर्न रु १० लाख बजेट विनियोजन गरिएको रम्भा गाउपालिका–५ का वडा अध्यक्ष खुमाकान्त बस्याल बताउछन् ।

मन्दिर देखि उत्तर तर्फ रहेको ओमभञ्याङ देखि मन्दिर सम्मको मोटरबाटो बनाउँदा फोक्सिङ्कोट, हुगी तथा स्याङ्जा भेगका भक्तजनलाई सजिलो हुने रम्भा गाउपालिका–१ का वडा अध्यक्ष कृष्णप्रसाद रेग्मीले बताए । फोक्सिङकोट र पिपलडाडाको बिचमा रहेको रिमिघा लेकमा पर्यटन पुर्वाधार विकास भई रहेको र चाडै रिमिघा लेकको विकास गरिने वडा नं। २ का अध्यक्ष उमानसिं सारुले बताए । यसै वर्ष मन्दिरमा विद्युतीकरण गर्न र उत्तर तर्फको मोटरबाटो निर्माण गर्न हुमबहादुर श्रेष्ठको अध्यक्षतामा मोटरबाटो तथा विद्युत निर्माण उपभोक्ता समिति गठन गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार