• होमपेज
  • शिक्षा
  • प्रगतिशील शैक्षिक प्रणाली

प्रगतिशील शैक्षिक प्रणाली

  • सोमवार, चैत्र ४, २०७५
प्रगतिशील शैक्षिक प्रणाली

एउटा बालक/बालिका झोलाभरी किताब, कापी र लेखन सामग्री बोकेर विद्यालय जान्छ। विद्यालयमा पूर्व निर्धारित कार्यतालिका र नियम हुन्छन् जसलाई उसले पालना गर्नुपर्छ। विद्यार्थीलाई अनुशासनमा राखेर शिक्षकअनुकूल तोकिएको पाठ्यक्रम र पाठ्यपुस्तकमा भएका सामग्री पढाइन्छ। त्यहाँ कक्षाकार्य, गृहकार्य र औपचारिक परीक्षाका बारेमा शिक्षकले निर्णय गर्छ। यी सबै विद्यालयमा भएका क्रियाकलाप हुबहु पालना गर्ने विद्यार्थीलाई असल विद्यार्थीको रूपमा चिनिन्छ। यस्तो शिक्षा पद्घतिले समग्रमा बढ्दो औद्योगिक अर्थतन्त्रमा प्रतिस्पर्धात्मक गुणात्मकवाद स्थापित गरी उनीहरूलाई पेसागत भूमिका निर्वाह गर्न सक्ने दक्ष जनशक्ति तयार गरिन्छ।

यसको ठीक विपक्षमा बीसौं शताब्दीको मध्यतिर विशेष गरी अमेरिकामा शिक्षामा एउटा अभियानको सुरुवात भयो र पछि गएर विश्वमा फैलियो त्यसलाई प्रगतिशील शिक्षा भनिन्छ। यसले उल्लिखित परम्परागत शिक्षामा अन्तरर्निहित तत्त्वलाई उपमार्गित गर्दै प्रजातान्त्रिक अभ्यासको वकालत गर्छ।

जोन डिवे, व्यावहारिक शिक्षाका दार्शनिक तथा यस अभियानका अभियन्ताले स्थानीय सामुदायिक जनजीवन तथा स–साना व्यवसायमा आएको ह्रासले युवाले प्रजातान्त्रिक सहभागिताको कला सिक्ने महŒवपूर्ण भूमिकाबाट वञ्चित भएको देखे। यस्तो अवस्थामा उनी यस्तो निष्कर्षमा पुगे कि एउटा यस्तो शिक्षा होस् जसले तात्कालीन अवस्थामा भएको परम्परागत शिक्षाले गरेको क्षतिलाई पूर्णरूपमा समाधान गर्न सकोस्। प्रगतिशील शिक्षा पूर्व सिकाइ अनुभवबाट मात्र पूर्ण हुन्छ। तर अनुभवको असर प्रत्येक व्यक्तिमा फरक हुन्छ भन्नेमा विश्वास गर्छ। परिणामस्वरूप परम्परागत प्रणालीअनुसार कण्ठ गर्ने, ज्ञानको पाण्डित्य छाँट्ने र औपचारिक जाँचको तयारी गर्ने कार्य वास्तविक जीवनसँग मेल खाँदैनन्। यस्तो प्रकारको परम्परागत अवधारणा प्रगतिशील शिक्षाको स्वरूपले स्वीकार गर्दैन।

यस अभियानमा वकालत गरिएका विचार अहिले पनि उत्तिकै सान्दर्भिक छन्। प्रगतिशील शिक्षाको स्वरूपअनुसार विद्यार्थीले सुनेर या देखेर भन्दा बढी आफैंले खोजी गरेर या प्रयोग गरेर प्रभावपूर्ण ढंगले सिकाइ सम्पन्न हुन्छ भन्ने मान्यतामा राख्दछ। जोन डिवेका अनुसार विद्यार्थी कक्षाको बेन्चमा बस्ने र शिक्षकले भट्याउने र चिच्याउने गर्नु हुँदैन। विद्यार्थीले स्वतन्त्र रूपमा गतिशील रहने, प्रश्न गर्ने र ध्यान दिने गर्नुपर्छ। उनी कक्षागत समयतालिका, नियमित रुटिनको विरुद्घ थिए। सिकाइ घण्टीले तोकिएको निर्देशनमा होइन बालक÷बालिकाले कति सिके भन्ने कुराको सावधानीपूर्वक सुपरिवेक्षण हुनुपर्छ। सिकाइका प्रमाण अध्यावधिक गरिएको हुनुपर्छ।

उनी सबै सिकाइ अनुभवमा हुनुपर्छ भन्ने मान्यता राख्छन्। तर अनुभव संगालेर मात्र पुग्दैन, हरेक अनुभवलाई अभिवृद्धि गर्न समीक्षा र प्रयास गर्नुपर्छ। यदि विद्यार्थीलाई कुनै जनावरको बारेमा सिकाउनुछ भने उनीहरूलाई जनावर भएकै ठाउँमा पुर्‍याउनुपर्छ। साथै यदि उनीहरूलाई पानीजहाजको बारेमा सिकाउनुछ भने बन्दरगाहमै लैजानुपर्छ। पाठ्यपुस्तकमा दिइएका विषयवस्तु स्थिर हुन्छन् भने वास्तविक संसार र सिकाइ गतिशील हुन्छ।

प्रगतिशील शिक्षाका अनुसार बालबालिका विभिन्न प्रश्न र खुलदुली लिएर विद्यालय जान्छन्। उनीहरूका झोलामा केही पाठ्यपुस्तक र पुस्तिका हुन्छन् तर त्योभन्दा बढी विभिन्न सामग्री र उनीहरूले स्वनिर्माण गरेका वस्तु हुन सक्छन् जसका बारेमा उनीहरूले कक्षामा एकअर्का साथीभाइ तथा शिक्षकसँग छलफल गर्न सक्छन्।

विद्यार्थीलाई यो थाहा हुन्छ कि उसले शिक्षकबाट मात्र शिक्षा पाउने होइन तर शिक्षा शिक्षक र साथीको सहसिर्जनाबाट हुन्छ। यसमा परीक्षा हुँदैन, घोकाइ हुँदैन केवल सिकाइ र विकासमात्र हुन्छ।

प्रगति शैक्षिक प्रणालीको व्याख्या गर्दा शिक्षालाई दुई मूल तत्वमा विभाजन गरेर हेर्न सकिन्छ—

१. जैविक विविधताको सम्मान – भन्नाले प्रत्येक व्यक्तिलाई उसको आफ्नै क्षमता, रुची, विचारधारा, आवश्यकता र सांस्कृतिक पहिचानको सम्मान भन्ने बुझिन्छ।

२. समालोचनात्मक बौद्घिक व्यक्तित्व र सामाजिक संलग्नता भएको व्यक्तित्वको विकास–जसले व्यक्तिहरूलाई आफ्नो सामाजिक कार्यको दायित्वलाई बुझेर प्रभावकारी संलग्नता गरी सामूहिक लाभको निम्ति पारस्परिक प्रयास गर्न सक्नेछन्। यी दुई प्रगतिशील शिक्षामा अन्तर्निहित तत्वलाई बालबालिक केन्द्रित र सामाजिक पुनर्निर्माणवादी अवधारणा पनि भन्न सकिन्छ।

आजको उत्तर आधुनिक युग जसलाई विश्व पुँजीवादी युग पनि भनिन्छ जहाँ दु्रत गतिमा सांस्कृतिक परिवर्तन भइरहेको छ र हाम्रो पृथ्वीको वातावरणीय स्वस्थ्य पनि चुनौतीपूर्ण भइरहेको अवस्थामा आजका विद्वान्वर्ग, शिक्षाविद् र अभियन्ताले जोन डिवेको कार्यलाई पुनःखोज गरिरहेका छन्। यद्यपि जोन डिवेले एक शताब्दीअघि नै प्रगतिशील शिक्षाका बारेमा प्रशस्तै वकालत गरेको भए पनि अहिले विद्यालयहरूमा भइरहेको मानकीकरण र यान्त्रिकीकरणको सत्ता जसले हाम्रा विद्यालयलाई थिचिरहेकोमा जोन डिवेले प्रजातान्त्रिक संस्कार र अर्थपूर्ण शिक्षाको आशावादी विकल्प दर्शाएका छन्।

नेपालका औंलामा गन्न सकिने सीमित विद्यालयले प्रगतिशील उन्मुख शिक्षा प्रदान गरिरहेको र प्रशस्तै विद्यालयले केही न केही सकारात्मक प्रयास गरिरहेको पाइन्छ। समाज, विद्यालय व्यवस्थापक, शिक्षकवर्ग र अभिभावक साधारणतया प्रगतिशील शिक्षाको पक्षमा भएको पाइए पनि अझ पनि कक्षा ८, १०, १२ मा हुने औपचारिक परीक्षा भविष्यमा उच्च शिक्षा हासिल गर्न पनि परम्परागत परीक्षाफलको मान्यता नै रहिआएकोले प्रगतिशील शिक्षाका अभ्यासकर्तालाई चुनौती भएको आभास हुन्छ। यसै परिपे्रक्ष्यमा परीक्षामा पनि आफ्नो प्रतिभा देखाउन सक्ने र जीवन उपयोगी दक्षता पनि हासिल गर्दै अघि बढ्न सक्ने विद्यार्थी बनाउनु अहिलेको आवश्यकता देखिन्छ।

अन्तमा, नीतिनिर्माण तहका व्यक्ति र राज्यले प्रगतिशील शिक्षाको मर्मलाई अध्ययन गरी सोको प्रोत्साहन हुने किसिमको कार्यक्रम तथा नीतिनियम तर्जुमा गर्नु अपरिहार्य देखिन्छ। केही समय यता विश्व मानचित्रमा आएको शैक्षिक सुधारात्मक प्रणालीको सफलताका कथाको विश्लेषण गर्दा पनि यसको कार्यान्वयनका लागि राज्यले प्रभावकारी नीतिकार्यक्रम बनाई निजी तथा सामुदायिक विद्यालयहरूलाई उचित प्रोत्साहन र प्रबद्र्धन गर्न टड्कारो आवश्यक छ। अन्नपुर्ण पाेष्टबाट

—थापा बृहस्पति विद्यासदनका शैक्षिक निर्देशक हुन्।

चर्चामा

सम्बन्धित समाचार