
बाजुरा– बाजुराको समग्र विकासका लागि संघीय सरकारका विभिन्न मन्त्रालयमा जिल्लाका दर्जनौं महत्वाकांक्षी योजना सहित बाजुराबाट निर्वाचित सांसद जनक गिरीले बिभिन्न मन्त्रालय धाउन सुरु गरेका छन । बाजुराबाट निर्वाचित प्रतिनिधिसभा सदस्य जनकराज गिरी यतिबेला जिल्लाको विकासका एजेण्डा बोकेर मन्त्रालय–मन्त्रालय धाइरहेकाे जनाइएकाे छ ।
सांसद गिरी आफैं फाइल बोकेर मन्त्री तथा सम्बन्धित निकायको ढोका ढकढक्याउँदै बाजुराका विकास आयोजनाका लागि बजेट सुनिश्चित गर्न सक्रियरुपमा लागेकाे जानकारी दिइएकाे उनकाे निकट श्राेतले जनाएकाे छ । गिरीले सडक, शिक्षा, पर्यटन, स्वास्थ्य, कृषि तथा पूर्वाधार विकाससँग सम्बन्धित योजनालाई प्राथमिकताका साथ अघि बढाएकाे गिरी निकट श्राेतकाे भनाइ रहेकाे छ ।
उनले सिगाँडा–देवलसैन–बड्डेली हुँदै आटिचौर सडक कालोपत्रे, पर्यटकीय डाब–खप्तड सडक स्तरोन्नति तथा त्रिबेणी नगरपालिका जोड्न माैरे क्षेत्रमा बुढीगंगा नदीमाथि पक्की पुल निर्माणको योजना मन्त्रालयमा पेश गरेका छन्। त्यस्तै मार्तडीमा बहुप्राविधिक शिक्षालय स्थापना गर्ने प्रस्तावसमेत अघि सारिएको जनाएकाे छ।
त्यसैगरी, क्षेडेदह तालको स्तर उन्नति, मार्तडी–गौमुल सडक स्तरोन्नति तथा बडिमालिका क्याम्पस, बाजुरा क्याम्पस र जनप्रकाश शिक्षण संस्था को गुणस्तर विकाससँगै थप प्राविधिक विषयको पठनपाठन सञ्चालनका लागि समेत पहल गरिएको जनाइएको छ। मार्तडी–कोल्टी हुँदै धुलाचौरसम्म सडक कालोपत्रे, बडिमालिका विकास कोष स्थापना गर्न पर्याप्त बजेट विनियोजन, कर्णाली करिडोर स्तरोन्नति तथा कोल्टी विमानस्थल को स्तर उन्नतिका योजनासमेत सम्बन्धित मन्त्रालयमा पेश गरिएको जनाएको छ।
यस्तै, त्रिशक्ति माध्यमिक विद्यालय लाई कृषि प्राविधिक विद्यालयमा रूपान्तरण गर्ने, सहिद शेरबहादुर शाह स्मृति खुल्ला मञ्च निर्माण, हिमाली गाउँपालिकामा जडीबुटी प्रशोधन केन्द्र स्थापना, कोल्टी–जगन्नाथ सडक स्तरोन्नति तथा मुक्तिकोट लगायत दुर्गम क्षेत्रका बस्ती स्थानान्तरणका लागि बस्ती विकास कार्यक्रम हरु बिभिन्न मन्त्रालयहरुमा पेश गरिएकाे बताएका छन्।


