शुक्रबार, कार्तिक ३०, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • हरेक वर्ष लैङ्गिक हिंसा विरुद्धका अभियान तर प्रतिफल के ?

हरेक वर्ष लैङ्गिक हिंसा विरुद्धका अभियान तर प्रतिफल के ?

  • मङ्लबार, मंसिर १०, २०७६
हरेक वर्ष लैङ्गिक हिंसा विरुद्धका अभियान तर प्रतिफल के ?

संगिता तिमिल्सेना

(हिंसा पिडीत महिलाका पिडाहरु पम्पलेट बनाएर विभिन्न पोलहरुमा टाँसिन्छन् । जसले गर्दा पिडाहरुमा मलम लाग्नुको साँटो झन नुनचुक लाग्छ । महिलाहरु पनि आफैमा कमजोर नै हुन्छन् की ? भन्ने कुराको प्रचार प्रसार हुन्छ । हिंसा न्युनिकरणका लागि पिडाहरु पम्लेटमा राख्नुभन्दा हिंसा के हो ? र इन्कार कसरी गर्ने भन्ने कुराको बारेमा वास्तविक पिडीत महिलालाई जानकारी गराउँदा प्रभावकारी होला की ?) 

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विश्वभर मनाउन थालिएको २५ वर्ष भैसकेको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिनलाई महिलामाथि हुने हिंसा विरुद्धको अन्र्तराष्ट्रिय दिवसको रुपमा विश्वभर मनाउने गरिन्छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पृष्ठभुमीलाई हेर्दा सन् १९६० मा डोमिनिकन गणतन्त्रको तात्कालिन त्रुजिलो तानाशाही सरकारले मिरावेल परिवारका तीन राजनीतिक कार्यकर्ता दिदीबहिनीलाई निर्मम तरिकाले गरेको हत्यालाई महिलामाथि हुने राजनीतिक हिंसा वा महिला माथि हुने हिंसाको रुपमा लिएर महिलावादिहरुले तिनै ३ दिदिवहिनी पेटिया, मिनर्भा र मारियाको संझनामा विभिन्न कार्यक्रम गर्दै यो दिवस मनाउन शुरु गरेको पाइन्छ । यो १६ दिने अभियान महिलाहिंसा विरुद्ध आवाज उठाउने त्यस्ता साहसी महिलाहरुलई सम्मान गर्ने, उनीहरुको हिंसा विरुद्धको प्रतिरोधलाई ऐक्यवद्धता जनाउने उत्सवका रुपमा लिने थलोको रुपमा समेत विकसित भएको छ ।

     नेपालमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान जारी छ । तर पनि महिला हिंसाका घटना न्युनीकरण हुन सकेको छैन । महिला हिंसाविरुद्ध सरकार र राजनीतिक दल क्रियाशील नभएको आरोप लाग्ने गरेको छ । मुलुकमा राजनीतिक परिवर्तन भयो । गणतन्त्र आयो । संघीय र समावेशी संविधान पनि बन्यो । जसका कारण शासनसत्तामा महिलाको प्रतिनिधित्व बढ्दै गएको छ । जनप्रतिनिधित्वको क्षेत्रमा महिला सहभागितामा नेपालले फड्को मारे पनि लैंगिक हिंसामा कमी आएको छैन ।

     हरेक वर्ष लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु हुनु पुर्व विभिन्न किसिमका कार्यक्रमहरु तय गरिन्छन् तर ती कार्यक्रम हिंसा पिडीतको लागि अनविज्ञ कार्यक्रम हुन्छन् । सिंहदरबारको सरकार गाउँघरमा आयो भन्ने छ ,तर स्थानिय सरकारले पनि लक्षित वर्गका लागि फलदायी हुने कार्यक्रम संचालन गर्दैनन् । अभियान सुरु हुन्छ अनि अगुवाई गर्ने महिला अधिकारकर्मीले केन्द्र अर्थात् जिल्लाका केन्द्रमा बसेर कोठाभित्र कार्यक्रम तय गर्छन् अनि हिंसा पिडीत महिलाका पिडाहरु पम्पलेट बनाएर विभिन्न पोलहरुमा टाँसिन्छन् । जसले गर्दा पिडाहरुमा मलम लाग्नुको साँटो झन नुनचुक लाग्छ ।

     बाजुरा जिल्लाकै सन्दर्भमा भन्ने हो भने हिमाली गाउँपािलकाको विछ्या, गुम्बा, जगन्नाथ गाउँपालिकाका विभिन्न स्थान, स्वामिकात्र्तिक गाउँपालिका, बुढीनन्दा नगरपािलकाका विकट क्षेत्र, वडिमालिका नगरपलिकाका विभिन्न स्थान, गौमुल, छेडेहद गाँउपलिका, त्रिवेणी नगरपलिका, बुढीगंगा नगरपालिकाका विभिन्न स्थानमा लैङ्गिक हिंसा भनेको के हो? लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान किन मनाइन्छ भन्ने कुराको समेत जानकारी छैन । जो पिडित छ त्यसले अभियानको बारेमा पत्तो पाउँदैन ।

     तपाई हामी सहजै देख्न सक्छौ, अहिले हिंसा विरुद्धको अभियान जारी छ,  हरेक शहर र बजारमा विभिन्न किसमिका र्यालीहरु दिनानुदिन निकालिदै छन् तर गाउँघरका हिंसा पिडीत महिला मेलापातमै पिडाहरुलाई बहकाउँदै छन् । उनिहरुलाई पिडाविरुद्धको अभियान के हो भन्ने समेत थाहा छैन । मलाई लाग्छ अहिले हिंसाबाट पिडीत नभएका महिलाहरु सायदै भेटिन्छन् । महिलाहरु कोही शाररिक तवर पिडीत छन् त कोही मानसिक तवरले पिडीत छन् । तर महिलाहरु आफ्नो पिडाको विषयमा खुल्न चाहाँदैनन् । महिलालाई आफ्ना पिडाहरुको बारेमा खुलेर बोलेमा भोलीका दिनमा त्यो घरमा कसरी बस्ने भन्ने पिर एकातिर हुन्छ भने आफुलाई समाजमा हर्ने दृष्टिकोणको पिर अर्कोतिर ।

     हिंसा विरुद्धका नाममा हरेक वर्ष विभिन्न हिंसा पिडीतको लागि खर्च गर्ने रकमले मोटाएका र मुटु दरो पारेर बसेका महिलाअधिकारकर्मीहरु पनि समाजमा सहजै देख्न सकिन्छ । हरेक वर्ष अभियान संचालन गरिन्छ । तर त्यसको प्रभाव हिंसा पिडितसम्म पुगेको छ की छैन त्यसको बारेमा नागरिक अगुवाहरुले विश्लेषण गर्नु पनि जरुरी देखिन्छ ।

     गाँउघरमा एकल महिला, समाजबाट कपोकल्पीत पिडाबाट दबिएका महिला नभएका होइनन् तर हिंसा विरुद्धका अभियानका नाराहरु त्यहाँसम्म पुग्न नसकेको हो नै जस्तो लाग्छ । अहिले हरेक स्थानिय तहबाट अभियानको बारेमा जानकारी लिदा बाहिरी रुपमा प्रचार प्रसारयुक्त कार्यक्रममा मात्र संचालन गरिने भएका छन् । जसले वास्तिविक पिडितका लागि अभियाननै संचालन नभएको महसुस हुने गरेको छ । हिंसाका मुद्दामा लड्ने हरेक अगुवाहरुले पिडित महिलाहरुका लागि प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रम संचालन गर्न सकिन्छ ।

     हिंसा विरुद्धको अभियान संचालन भैरहेको अभियानमा तयार पारी पुर्वनिर्धारित कार्यक्रम मात्र संचालन गर्नुभन्दा यो अवधिमा नै हरेक स्थानिय तहका हरेक गाउँघरमा गएर पिडीत महिलाहरुको खोजी गर्न सकिन्छ र पिडाअनुसार स्थानिय तहमा हिंसाविरुद्ध संचालन भैरहेका वार्षिक कार्यक्रममा समेटेर पिडीतहरुलाई मलम लगाउने कार्य गर्न सकिन्छ जसले गर्दा स्थानिय तहले संचालन गरेका कार्यक्रमहरुले पनि पिडीतलाई प्रत्यक्ष लाभ प्रदान गर्नेछन् ।

 गाउँमा महिलाहरुले चिसो छाउगोठमा दिन विताइरहेका बेला शहर बजार तिर हिंसा अन्त्य गरौँ भन्ने नारा घन्किछन् तर ती आवाजहरु गाउँघरका कुनामा पुग्दैनन् तरपनि कोही कसैले यो विषयमा जान्न चाहेका छैनन् ।

हरेक वर्ष महिलाहरुका लागि संचालन गरिएका कार्यक्रमहरुले हिंसा पिडीत महिलाहरुलाई कत्तिको प्रभाव पारे । यसको विषयमा हरेक वर्षको समिक्षा गरी, पिडीत महिलाको जीवनमा के परिवर्तन भयो, अन्य पिडीत महिलालाई पनि कसरी न्याय दिलाउन सकिन्छ यो विषयमा सबैले सोच्नुपर्छ । सबैले आ आफ्नो क्षेत्रबाट लाग्नुपर्छ । तब मात्रै सभ्य समाजको निर्माण हुन्छ । विभिन्न किसिमका कार्यक्रम संचालन गरि मनाइएको हिंसा विरुद्धको अभियानले सार्थकता पाउने छन् ।

पिडीत वर्गको हकहितका लागि काम गर्ने व्यक्ती, संस्था, सरकारी तथा गैरसरकारी निकाय सबैले हातेमालो गरी अगाडी बढेमा परिवर्तन सम्भव छ, हिंसापिडीतका समस्या परिर्वतनका लागि अभियान चलाऔँ, पर्दशनका लागि होइन ।

(तिमिल्सेना  रेडियो पौरखी बाजुरामा कार्यरत संचारकर्मी छन )

चर्चामा

सम्बन्धित समाचार