आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • छुटाउनु भयो कि?
  • बाजुराको लाम्पाटामा सुरक्षा बेश स्थापना, स्थानीय गाउँ फर्कर्दै

बाजुराको लाम्पाटामा सुरक्षा बेश स्थापना, स्थानीय गाउँ फर्कर्दै

  • आइतवार, जेष्ठ ३१, २०८३
सेयर गर्नुहोस् :
बाजुराको लाम्पाटामा सुरक्षा बेश स्थापना, स्थानीय गाउँ फर्कर्दै

टेक बहादुर बुढा—बाजुराको लाम्पाटामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त अस्थायी सुरक्षा बेश स्थापना भएको छ । बाजुरा र हुम्ला बीच उत्पन्न विवादले अशान्त बनेको बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा संयुक्त अस्थायी सुरक्षा बेश स्थापना गरिएको हो ।

May be an image of one or more people, mountain and text

लाम्पाटा क्षेत्र बाजुरा सदरमुकाम मार्तडीबाट कम्तीमा तीन दिनको दूरीमा रहेको छ । यसअघि जेठ २७ गते सदरमुकाम मार्तडीबाट हिडेको सुरक्षाकर्मीहरुको टोली तीन दिन लगाएर शनिबार त्यहाँ पुगिसकेको छ । दुई जिल्ला बीच बाजुराको लाम्पाटामा सुदूरपश्चिम प्रदेश सरकारले अस्थायी प्रहरी चौकी स्थापना गर्न सुरु गरे पछि विवाद सुरु भएको थियो । पछिल्लो समय विवाद झन् सतहमा आएपछि सरकारले सुरक्षाका लागि संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरेको हो । केही दिनअघि हुम्लाका बासिन्दाहरुले बाजुराका भोटे समुदायमाथि कुटपिट तथा दुर्व्यवहारसँगै गोठमा आगजनी गरेको विषय समेत बाहिरिएको थियो । त्यसपछि केन्द्रीय सुरक्षा समितिको बैठकले नै विवादित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको केन्द्रीय संयुक्त सुरक्षा बेश स्थापना गर्ने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार दुवै सुरक्षा निकायको संयुक्त उपस्थितिमार्फत विवादित क्षेत्रमा शान्ति, सुरक्षा र समन्वय कायम गर्दै परिस्थितिलाई नियन्त्रणमा राख्ने तयारी गरिएको छ।

त्यस्तै लाम्पाटामा स्थापना गरिएको संयुक्त अस्थायी सुरक्षा बेशमा सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक जनक पौडेलको कमाण्डमा २१ जना र प्रहरी सहायक निरीक्षक मिठ्ठु बहादुर बोहराको कमाण्डमा ७ जना नेपाल प्रहरी गरी २८ जनाको टोली बसेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । तीन महिनासम्म सुरक्षा बेस स्थापना गरेर लाम्पाटासहित रानीसैन क्षेत्रमा सुरक्षामा उक्त टोलीले नियमित गस्ती गर्ने उनले बताए ।

यस्तै अस्थायी सुरक्षा बेशमा खटिएको टोलीलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट नै आवश्यक निर्देशन दिइने र आवश्यकता अनुसारको समन्वय गर्ने बताइएको छ ।

यस्तै लाम्पाटामा स्थापना भएको अस्थायी सुरक्षा बेशमा खटिएका सशस्त्रका प्रहरी निरीक्षक जनक पौडेलले अहिले त्यस क्षेत्रमा शान्ति सुरक्षाको अवस्था सामान्य बन्दै गएको बताए । यसअघिको घटनामा पीडित भएका तथा त्रसित बनेर लाम्पाटाबाट अन्यन्त्र बसेका त्यहाँका स्थानीय बासिन्दाहरु पनि गाउँ फर्कन थालेका छन् । यस्तै लाम्पाटामा रहेको बालविकास केन्द्र पनि अबको केही दिनमा सञ्चालन हुने भएको छ ।

हिमाली गाउँपालिका ३ लाम्पाटामा जेठ ३ र ५ गते स्थानीयबासी, कर्मचारी तथा जनप्रतिनिधिमाथि हुम्लाका नागरिकहरुले लाम्पाटामै आएर कुटपिट तथा दुर्व्यवहार गरेका थिए । यस्तै जेठ २३ गते हुम्ला क्षेत्रका बासिन्दाले रानीसैन क्षेत्रबाट भोटे समुदायलाई लखेट्नुका साथै गोठमा आगजनी गरेको तथा दुर्व्यवहार गर्ने गरेको स्थानीयले बताएका छन् ।

यस्तै यहीँ जेठ ५ गते रानीसैन क्षेत्रमा पर्यटन प्रवद्र्धन तथा प्रचारका लागि पुगेको टोलीमाथि कुटपिट तथा दुर्व्यवहार भएको घटना सार्वजनिक भएको थियो । उक्त घटनामा हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द मल्ल, कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल सहितको टोलीमाथि समेत आक्रमण भएको थियो ।

उक्त घटनामा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, वडा नम्बर ३ का वडा सदस्य पेमागारा गुरुङलगायत केही स्थानीय तथा सुरक्षाकर्मी घाइते भएका थिए । जेठ ३ गते हुम्लाबाट आएका स्थानीयले लाम्पाटा गाउँ पुगेर वडा सदस्य पेमागारा गुरुङ लगायत स्थानीयलाई कुटपिट गरी बन्धक बनाएका थिए । पीडितहरुले घटनाको थयार्थ छानबिन गरी दोषिहरुलाई कारबाहीको माग गर्दै निरन्तर दबाबमूलक आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । लाम्पाटा घटनामा कुटपिट तथा दुर्व्यवहार गर्ने हुम्लाका २३ जनाका नाममा पक्राउ पूर्जी समेत जारी भइसकेको भए पनि हालसम्म पक्राउ गर्न सकेको छैन् ।

चर्चामा

सम्बन्धित समाचार