
बाजुरा–नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली बाजुरा र हुम्ला बीच विवाद भएको हिमाली गाउँपालिका–३ लाम्पाटामा पुगेको छ । लाम्पाटामा स्थापना गरिएको अस्थायी सुरक्षा बेशका लागि यहीँ जेठ २७ गते मार्तडीबाट हिँडेको टोली शनिबार त्यहाँ पुगेको हो ।
लाम्पाटा क्षेत्र सदरमुकाम मार्तडीबाट कम्तीमा तीन दिनको दूरीमा रहेको छ । त्यस क्षेत्रमा सुरक्षा व्यवस्थालाई मध्यनजर गरी स्थापना गरिएको संयुक्त अस्थायी सुरक्षा बेशका लागि खटिएको टोली आज लाम्पाटामा पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेशबहादुर शाहीले जानकारी दिए ।
यस्तै अस्थायी सुरक्षा बेशमा खटिएको टोलीलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट नै आवश्यक निर्देशन दिइने र आवश्यकता अनुसारको समन्वय गर्ने बताइएको छ । करिव एक महिनादेखि बाजुरा र हुम्ला बीच भएको विवादका कारण अशान्त बनेको लाम्पाटामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त अस्थायी सुरक्षा बेश स्थापना गरिएको छ । सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक जनक पौडेलको नेतृत्वमा २१ जना र प्रहरी सहायक निरीक्षक मिठ्ठु बहादुर बोहराको कमाण्डमा ७ जना नेपाल प्रहरी गरी २८ जनाको टोली त्यस क्षेत्रमा खटिएको छ ।
यसअघि गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले विवादित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको केन्द्रीय संयुक्त सुरक्षा बेश स्थापना गर्ने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार दुवै सुरक्षा निकायको संयुक्त उपस्थितिमार्फत विवादित क्षेत्रमा शान्ति, सुरक्षा र समन्वय कायम गर्दै परिस्थितिलाई नियन्त्रणमा राख्ने तयारी गरिएको छ।
यसअघि हिमाली गाउँपालिका ३ लाम्पाटामा प्रहरी चौकी स्थापनाको कार्यलाई अवरोध गर्दै जेठ ३ र ५ गते स्थानीयबासी, कर्मचारी तथा जनप्रतिनिधिमाथि हुम्लाका नागरिकहरुले लाम्पाटामै आएर कुटपिट तथा दुर्व्यवहार गरेका थिए । यस्तै जेठ २३ गते हुम्ला क्षेत्रका बासिन्दाले रानीसैन क्षेत्रबाट भोटे समुदायलाई लखेट्नुका साथै गोठमा आगजनी गरेको तथा दुर्व्यवहार गर्ने गरेको स्थानीयले बताएका छन् । यस्तै यहीँ जेठ ५ गते रानीसैन क्षेत्रमा पर्यटन प्रवद्र्धन तथा प्रचारका लागि पुगेको टोलीमाथि कुटपिट तथा दुर्व्यवहार भएको घटना सार्वजनिक भएको थियो ।
उक्त घटनामा कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालसहितको टोलीमाथि आक्रमण गरिएको थियो । घटनामा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, वडा नम्बर ३ का वडा सदस्य पेमागारा गुरुङलगायत केही स्थानीय तथा सुरक्षाकर्मी घाइते भएका थिए । जेठ ३ गते हुम्लाबाट आएका स्थानीयले लाम्पाटा गाउँ पुगेर वडा सदस्य पेमागारा गुरुङ लगायत स्थानीयलाई कुटपिट गरी बन्धक बनाएका थिए । पछिल्लो घटनाले रानीसैन क्षेत्रको विवाद झन् जटिल बन्दै गएको स्थानीयको भनाइ छ । भोटे समुदायका व्यक्तिहरूले आफूहरू असुरक्षित बनेको गुनासो गर्दै तत्काल सुरक्षा व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गर्दै आएका छन् ।


