बुधबार, जेष्ठ २०, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बाजुरा–हुम्ला घटनाबारे गृह मन्त्रालयको उच्चस्तरीय छानबिन टोली गठन

बाजुरा–हुम्ला घटनाबारे गृह मन्त्रालयको उच्चस्तरीय छानबिन टोली गठन

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको विशेष टोली परिचालन

  • सोमवार, जेष्ठ ११, २०८३
सेयर गर्नुहोस् :
बाजुरा–हुम्ला घटनाबारे गृह मन्त्रालयको उच्चस्तरीय छानबिन टोली गठन

नेपाल सरकारको गृह मन्त्रालय ले हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय टोली गठन गरेको जनाएको छ। मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को संयोजकत्वमा छानबिन टोली गठन गरिएको जानकारी दिएको हो।

गृह मन्त्रालयका सचिवको संयोजकत्वमा रक्षा सचिवसहित सबै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थितिमा बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ। मन्त्रालयले टोलीलाई तत्काल कार्यक्षेत्रमा खटिन तथा यथाशीघ्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ गृह मन्त्रालय सक्रिय भएको र तत्काल हुम्ला तथा बाजुरा दुवै जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको विशेष टोली परिचालन गरिएको पनि मन्त्रालयले जनाएको छ। सीमा क्षेत्रमा नागरिकको सुरक्षा सुनिश्चित गर्न तथा शान्ति–सुरक्षालाई थप मजबुत बनाउन जिल्ला सुरक्षा समितिहरूलाई निरन्तर उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ। यस्तै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुरक्षा रणनीति अवलम्बन गर्न पनि मन्त्रालयले सुरक्षा निकायलाई निर्देशन दिएको छ।

स्थिति नियन्त्रण तथा दीर्घकालीन शान्ति कायम गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट थप आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालन गर्न निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ। विवादको स्थायी समाधान र समन्वयका लागि मन्त्रालयले जनप्रतिनिधि तथा सरोकारवाला निकायहरूसँग पटक–पटक समन्वयात्मक बैठक गर्दै आवश्यक पहल अगाडि बढाएको जनाएको छ।

गृह मन्त्रालयले दुवै जिल्लाका नागरिकलाई संयमता अपनाउन आग्रह गर्दै सीमा क्षेत्रमा शान्ति कायम राख्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।

May be an image of text

चर्चामा

सम्बन्धित समाचार