आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • अधिवेशनका नाममा रास्वपाको चन्दा आतङ्क

अधिवेशनका नाममा रास्वपाको चन्दा आतङ्क

  • आइतवार, जेष्ठ ३१, २०८३
सेयर गर्नुहोस् :
अधिवेशनका नाममा रास्वपाको चन्दा आतङ्क

धनगढी– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिम प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनका लागि रकम तोकेर चन्दा माग गरेको भन्दै एउटा पत्र सार्वजनिक भएको छ। कञ्चनपुरमा एक निर्माण कम्पनीका प्रबन्ध निर्देशकलाई सम्बोधन गरी पठाइएको उक्त पत्रमा ३० हजार रुपैयाँ आर्थिक सहयोग मागिएको देखिन्छ। रास्वपाको कृष्णपुर नगरपालिका–१ वडा समितिका अध्यक्ष सुरेन्द्र बोहराको हस्ताक्षर रहेको पत्रमा जलजला कन्स्ट्रक्सन कम्पनीसँग उक्त रकम माग गरिएको उल्लेख छ।

पत्रमा उक्त कन्स्ट्रक्सन कम्पनीले विगतदेखि वडामा काम गर्दै आएको तथा स्थानीयस्तरमा सहयोग गर्दै आएको भन्दै आगामी असार १ गतेदेखि हुने प्रदेश अधिवेशन र असार ७, ८ र ९ गते हुने केन्द्रीय महाधिवेशनका लागि आर्थिक सहयोग आवश्यक परेको उल्लेख गरिएको छ।

यता रास्वपा वडा सभापति बोहराले भने अधिवेशनका लागि नभई सडक मर्मतका लागि आर्थिक सहयोग मागिएको बताए। ‘मैले सडक मर्मतका लागि सहयोग माग्दै साथीहरुमार्फत पत्र पठाएको थिए।तर, पत्रमा साथीहरुले अधिवेशनका लागि भन्दै लेखिदिनुभएको रहेछ,’ उनले भने, ‘त्यो विषय थाहा पाउने वित्तिकै पत्र फिर्ता ल्याइसकेको हुँ, पत्रको फोटो खिचेर अहिले सार्वजनिक गरेका रहेछन्। यो मामलामा हाम्रो कमजोरी भएको स्वीकार गर्दछु।’

चर्चामा

सम्बन्धित समाचार