
बाजुरा— बाजुराको हिमाली गाउँपालिका –३ लाम्पाटामा झडप भएको छ । कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल सहितको टोली अपि सैपाल हिमालको ब्यस क्याम्प रानिसैन भ्रमणमा गएको बेला झडप भएको हो । झडपका क्रममाः हुम्लाका स्थानियले आक्रमण गर्दा पाँच जना सामान्य घाइते भएका छन । घाईते हुनेमा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापा,हिमाली गाउँपालिका ३ का वडा सदस्य ३४ बर्षिय पेमा गारा गुरुङ,३३ बर्षिया लक्ष्मी गुरुङ, २४ बर्षिय मिनु कुवँर र प्रहरी चौकी बिच्छ्यामा कार्यरत महेश धामी रहेका छन्। घटनामा हिमाली गाउँपालिका–३ लाम्पाटाका वडा सदस्य पेमा गारा गुरुङको ढाड र गर्धनमा चोट लागेको छ । उनकी श्रीमती लक्ष्मी गुरुङको गर्धनमा चोट लागेको प्रहरीले जनाएको छ । त्यस्तै स्थानीय मिनु कुँवरको छाती र ढाडमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
यस्तै प्रहरी चौकी बिच्छियामा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी तथा हिमाली गाउँपालिकाका कार्यकारी प्रमुख कुल बहादुर थापा समेत घाइते भएका छन् । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । २०८३ जेठ ३ गते लाम्पाटास्थित अस्थायी प्रहरी चौकी निर्माण हुने स्थानमा स्थानीयबीच निर्माण तथा सिमाना सम्बन्धी विवाद उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी नरेश शाहीले जानकारी दिएका छन । स्थानीयले निर्माण सामग्री समेत फालेको भन्ने जानकारी हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल मार्फत प्रहरी चौकी बिच्छियामा पुगेपछि प्रहरी परिचालन गरिएको सुचना अधिकारी शाहीले बताए ।
सोही घटनापछि जेठ ४ गते अस्थायी प्रहरी पोस्ट कुवाडीबाट प्रहरी सहायक निरीक्षक चित्र बहादुर मल्लको कमाण्डमा प्रहरी टोली घटना स्थलतर्फ खटिएको थियो । जेठ ५ गते बिहान १० बजे प्रहरी टोली लाम्पाटा पुगेर दुवै पक्षलाई राखी छलफल तथा सम्झाइ बुझाइ गरेपछि अवस्था सामान्य बनेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
त्यसै क्रममा हिमाली गाउँपालिका अध्यक्षसहित “हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौं” अभियान अन्तर्गत भ्रमणमा रहेको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल सहित करिब ४० जनाको टोली पनि घटनास्थल पुगेको थियो । भ्रमण टोलीले ड्रोनमार्फत भिडियो खिच्ने क्रममा हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थाली गाउँका करिब २५० देखि ३०० जना स्थानीयहरु आएर आक्रोशित बनेपछि वादविवाद र हातपात भएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरी टोली घाइतेहरुलाई लिएर फर्किएको र हाल अवस्था नियन्त्रणमा रहेको जनाइएको छ ।
रानीसैन विवादपछि सामाजिक सञ्जाल तात्याे, स्थानीयले उठाए सुरक्षा र तस्करी नियन्त्रणको प्रश्न
रानीसैन क्षेत्रमा अस्थायी प्रहरी चौकी स्थापना गर्ने विषयलाई लिएर उत्पन्न विवाद र झडपपछि सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया आउन थालेका छन्। स्थानीय तह, राजनीतिक नेतृत्व, अन्तर जिल्ला सीमा विवाद तथा जडीबुटी तस्करी नियन्त्रणको विषयलाई जोड्दै विभिन्न टिप्पणी सार्वजनिक भइरहेका छन्। यसैबीच स्थानीय जनेश भण्डारीले सामाजिक सञ्जालमार्फत भनेका छन रानीसैन क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न खोजिएको विषयलाई “पर्यटक, स्थानीय नागरिक र सरकारी अधिकारीमाथि गरिएको दादागिरीविरुद्धको कदम” भन्दै घटनाको आलोचना गरेका छन्।
भण्डारीले कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवन बहादुर शाहीले केही दिनअघि सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिले स्थानीयलाई उक्साउने काम गरेको आरोप लगाएका छन्। उनले रानीसैन क्षेत्रमा हुने कथित जडीबुटी तथा वन्यजन्तु तस्करी रोक्न अस्थायी प्रहरी चौकी स्थापना गर्न लागिएको दाबी गर्दै त्यसको विरोधमा घटना गराइएको उल्लेख गरेका छन्।
साथै, “सरकारी सुरक्षा कुनै एक जिल्लाका नागरिकका लागि मात्र नभई सबै नागरिकको जनधन, वन, जडीबुटी र सरकारी सम्पत्तिको सुरक्षाका लागि हुने” उल्लेख गर्दै कानुनी र संयमित समाधान खोज्न स्थानियले सरकारसंग आग्रह गरेका छन्। बाजुराका नागरीक समाज र स्थानियले बाजुरा र हुम्लाबीचको अन्तरजिल्ला सीमा विवादलाई प्रदेशस्तरबाट समाधान गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । सुदूरपश्चिम र कर्णाली प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय बाजुरा र हुम्लाका स्थानीय तहबीच समन्वय गरेर समस्या समाधान गर्न ढिला गर्न नहुने बताएका छन ।


