
बाजुरा–बाजुरा र हुम्ला सीमा विवाद तत्काल समाधान गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै प्रतिनिधिसभा सदस्य केपी खनाल, जनकराज गिरी, टिका संगौला र जयपति रोकायाले उक्त विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
रास्वपा सांसद केपी खनालले हुम्ला र बाजुराको रानीसैन सीमा क्षेत्रको विवाद तत्काल समाधान गर्दै नागरिकको जीवन सुरक्षा र स्वतन्त्र रूपमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न माग गरेका छन् । उनले बाजुराको हिमाली गाउँपालिका साइपालको पूर्वी बेस क्याम्प हुनुका साथै जडीबुटी र वन्यजन्तुको अपार भण्डार भएकाले तस्करहरूले वर्षौँदेखि जडीबुटी र वन्यजन्तुको कर छलेर अवैध चोरी तस्करी गर्दै आएको खबर प्राप्त भएको उल्लेख गरे । स्थानीय तहको प्रवर्धन र पर्यटकीय प्रवर्धन काममा लाग्दा धनगढीका मेयर गोपाल हमाल सहितका जनप्रतिनिधिहरूमाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
यस्तै बाजुराबाट निर्वाचित सांसद जनकराज गिरीले जेठ ४ गते बाजुरा र हुम्लाको सीमानामा हिमाली गाउँपालिका ३ का वडा सदस्य, प्रहरी तथा कर्मचारीसहित स्थानीयहरुमाथि अराजक जत्थाले साङ्घातिक आक्रमण गरेको भन्दै घटनामा संलग्न दोषिहरुलाई कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । यस्तै उनले धनगढीका मेयर गोपाल हमाल लगायतका जनप्रतिनिधिहरुलाई रानीसैन जान नदिएर वीचमै धपाउने काम भएको भन्दै यसको पनि छानविन हुनुपर्ने माग गरेका छन् ।
त्यस्तै सांसद टिका संग्रौलाले देशकै दुई जिल्ला विचको सीमा विवादले डर लाग्दो रुपमा लिएर नागरिकहरुविच असामान्य परिस्थिति सिर्जना भएको भन्दै दोषि माथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । उनले संवादमार्फत तत्काल प्राविधिकको टोली खटाएर वैज्ञानिक सीमाङ्कन गरी पर्यटकीय सम्भावनाले भरिपूर्ण रानीसैन क्षेत्रलाई द्धन्द्धको थलो होइन दुई जिल्ला जोड्ने मित्रता र समृद्धिको केन्द्र बनाउन सरकार समक्ष माग गरिन् ।
यस्तै हुम्लाबाट निर्वाचित सांसद जयपति रोकायाले सरकारले वार्ता र संवादको माध्यमबाट दुई जिल्लाबीचको सीमा विवादबारे तत्काल समाधान खोज्न माग गरेका छन् । ‘हुम्ला र बाजुरा क्षेत्रको विवादलाई लिएर कर्णाली राजमार्ग नै अवरुद्ध भएको छ, राष्ट्रिय राजमार्ग अवरुद्ध हुँदा बिरामी, परीक्षा दिने विद्यार्थी, अतिआवश्यक कामका लागि जानुपर्ने सबैलाई असर परेको छ’, उनले भने, ‘दुई जिल्लाबीचको सीमा विवाद सरकारले संवादबाट समाधान खोजी राजमार्ग तत्काल खुलाउनुपर्छ ।’


