बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • अर्थ
  • सुदूरपश्चिम सरकारको २५ प्रतिशत मात्रै बजेट खर्च

सुदूरपश्चिम सरकारको २५ प्रतिशत मात्रै बजेट खर्च

  • आइतवार, बैशाख २०, २०८३
सेयर गर्नुहोस् :
सुदूरपश्चिम सरकारको २५ प्रतिशत मात्रै बजेट खर्च

धनगढी–सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा अहिलेसम्म २५ प्रतिशत बजेट मात्र खर्च गरेको पाइएको छ । चालु आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सरकारले ३३ अर्ब ४३ करोड २१ लाख ९८ हजार बजेट विनियोजन गरेको थियो ।

विनियोजित बजेटमध्ये हालसम्म ८ अर्ब २९ करोड ७६ लाख ९४ हजार मात्रै खर्च भएको पाइएको हो । यो कुल बजेटको २४.८२ प्रतिशत रहेको प्रदेश लेखा नियन्त्रक कार्यालय धनगढीले जनाएको छ ।

आर्थिक वर्ष सकिने साढे दुई महिनाको समय मात्रै बाँकी रहेका बेला विनियोजित बजेटको ७५ प्रतिशत खर्च गर्नुपर्ने दायित्व सरकारको छ । सरकारले यो अवधिमा २५ अर्ब १३ करोड बढी रकम खर्च गर्नुपर्ने देखिएको छ ।

विगतमा जस्तै प्रदेश सरकारले पुँजीगतभन्दा चालुतर्फको बजेट खर्च बढी गरेको पाइएको छ । प्रदेश सरकारले चालुतर्फ १३ अर्ब ५८ करोड बजेट विनियोजन गरेको थियो ।

जसमध्ये अहिलेसम्म चार अर्ब ६९ लाख ५५ हजार खर्च गर्दै ३४ दशमलव ५६ प्रतिशत प्रगति गरेको छ । तर पुँजीगततर्फ प्रगति भने झन्डैले आधा रहेको छ । सरकारले पुँजीगतमा १९ अर्ब ८३ करोड बजेट विनियोजन गरेकोमा १८ दशमलव १६ प्रतिशत खर्च गरिएको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांक हेर्दा सरकारले पुँजीगततर्फको आठ अर्ब २९ करोड खर्च गरेको छ । पुँजीगत खर्च न्यून हुँदा प्रदेशमा हुने विकास निर्माणका काम समेत सुस्त गतिमा भइरहेको रूपमा बुझ्न सकिन्छ ।

विकास निर्माणका आयोजना कार्यान्वयन गर्ने विषयगत कार्यालय हेर्ने भौतिक पूर्वाधार विकास मन्त्रालयले कुल बजेटको करिब आधा जतिकै हिस्सा ओगटेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले १५ अर्ब २८ करोडभन्दा बढी बजेट रहेकोमा अहिलेसम्म तीन अर्ब २२ करोड मात्रै खर्च गरेको छ ।

जुन कुल विनियोजित बजेटको २१ प्रतिशत प्रगति मात्रै हो । यो आधारमा हेर्दा मन्त्रालयअन्तर्गत रहेका सडक, पुल तथा अन्य भौतिक विकासका कामहरू सुस्त रहेको देखिन्छ ।

भौतिक पूर्वाधारपछि बढी छ अर्ब ९४ करोड बजेट रहेको सामाजिक विकास मन्त्रालयले भने ३२ दशमलव ५१ प्रतिशत खर्च गरेको छ । मन्त्रालयले कुल बजेट मध्ये अहिलेसम्म दुई अर्ब २४ करोड खर्च गरेको तथ्यांकले देखाउँछ ।

चर्चामा

सम्बन्धित समाचार