बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • त्रिवेणी
  • त्रिबेणी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

त्रिबेणी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

  • शुक्रबार, बैशाख १८, २०८३
सेयर गर्नुहोस् :
त्रिबेणी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

बाजुरा— “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता – पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित त्रिबेणी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम कार्यबाहक नगर प्रमुख कमला कुमारी जैशी (न्यौपाने) को अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय बाजुराका प्रमुख लाल बहादुर खड्का प्रमुख अतिथिको रूपमा सहभागी रहेका थिए । साथै विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, VPD इन्भेस्टिगेशन मेडिकल अफिसर डा. किरण थापा, स्वास्थ्य कार्यालयका खोप शाखा प्रमुख, नगरपालिकाका विभिन्न शाखा प्रमुख, संघसंस्थाका प्रतिनिधि तथा स्वास्थ्य संस्थाका प्रमुखहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमको सुरुवातमा अध्यक्ष जैशीले प्रमुख अतिथि तथा अन्य अतिथिहरूलाई खादा लगाएर स्वागत गरेकी थिइन्। त्यसपछि स्वास्थ्य शाखा प्रमुख चिरञ्जीवी प्रसाद शाहले स्वागत मन्तव्य व्यक्त गर्दै पूर्ण खोप सुनिश्चितता सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रस्तुत प्रतिवेदन स्वास्थ्य कार्यालय बाजुरालाई औपचारिक रूपमा हस्तान्तरण समेत गरिएको थियो।
कार्यक्रममा वक्ताहरूले पूर्ण खोप सुनिश्चितता कायम राख्न स्थानीय तहको सक्रियता, समुदायको सहभागिता र स्रोतहरूको प्रभावकारी उपयोग अपरिहार्य रहेकोमा जोड दिएका थिए । साथै खोप कार्यक्रमलाई दीगो बनाउन सबै सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो। नगरपालिकाले पूर्ण खोप सुनिश्चितता घोषणा गर्दै आगामी दिनमा समेत खोप सेवा प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार