
टेक बहादुर बुढा, बाजुरा–बाजुराको बुढीगंगा नगरपालिका चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहीन छ । प्रशासकीय अधिकृत अभावमा नगरपालिकामा दैनिक सेवा प्रवाहसँगै प्रशासनिक कामकाज तथा आर्थिक करोबार प्रभावित बनेको छ ।
२०८२ पुसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिकामा कार्यरत प्रशासकीय अधिकृत उपसिचव अम्मरराज जोशीको सरुवा गरेर भोजबहादुर ऐडीलाई खटायो । ऐडी सरुवा भएको दुई महिनापछि फागुनमा नगरपालिकामा उपस्थित भए तर एक साता नबित्दै फर्किए । फेरी मन्त्रालयले चैत्र १६ मा बुढीगंगाको प्रमुख प्रशासकीय अधिकृतमा भोजबहादुर ऐडीलाई नै खटाए पनि हालसम्म हाजिर भएका छैनन् । चालू आर्थिक बर्ष सकिन साढे दुई महिना बाँकी रहँदा प्रशासकीय अधिकृत नहुँदा योजना छनोट तथा स्वीकृति, बजेट निकासा लगायतका आर्थिक तथा प्रशासकीय कामकाज ठप्प भएको नगर प्रमुख रामबहादुर बानियाँले बताए ।
बुढीगंगामा मात्रै होइन्, बाजुराका चार वटा स्थानीय तहमा मन्त्रालयले पठाएका प्रमुख प्रशासकीय अधिकृत अहिलेसम्म हाजिर भएका छैनन् ।जगन्नाथ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा चैत १९ गते मन्त्रालयले पठाएका शाखा अधिकृत हेमन्त चुनारा र स्वामीकार्तिक खापर गाउँपालिकामा पठाएका रमेशसिंह भण्डारी हालसम्म हाजिर भएका छैनन् ।
यस्तै त्रिवेणी नगरपालिकामा यहीँ वैशाख ३ गते मन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कार्यालयमा कार्यरत उपसचिव बुद्धि प्रसाद उपाध्यायलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा खटाएको थियो । तर उनी पनि हालसम्म नगरपालिकामा हाजिर नभएको वडा नम्बर ३ का अध्यक्ष एवम् नगर प्रवक्ता मिनबहादुर भण्डारीले जानकारी दिए । त्यस्तै मन्त्रालयले त्रिवेणीमा कार्यरत शाखा अधिकृत टेकबहादुर मौनीलाई खप्तड छेडेदह गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पठाएकोमा उनी भने वैशाख पहिलो साता नै पालिकामा हाजिर भइसकेका छन् ।
त्यसैगरी मन्त्रालयले अन्य चार पालिकासहित बुढीनन्दा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएका उपसचिव बिनोदकुमार पौडेल भने हाजिर भइसकेको नगरपालिकाले जनाएको छ । यसअघिका सरकारले पनि जिल्लाका सबै स्थानीय तहहरुमा दरबन्दीअनुसार नै प्रमुख प्रशासकीय अधिकृत खटाए पनि धेरैजसो नआउने र कोही आए पनि हप्तादिन नबित्दै सरुवा गरेर जाने समस्या रहदैँ आएको छ ।
यस विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सूचना अधिकारी विवेक घिमिरेले मंगलबार मन्त्रालयले सूचना जारी गर्दै प्रशासकीय अधिकृतमा खटाएका कर्मचारीहरुलाई ७ दिनभित्र सम्बन्धित पालिकामा हाजिर हुन निर्देशन दिइएको बताए । यसअघि निमित्तको भरमा सञ्चालन भइरहेका तथा खटाएको पालिकामा कर्मचारी नजाने समस्या अन्त्य गर्न पटकपटक ताकेता भइरहेको भन्दै अबको ७ दिनभित्र सम्बन्धित स्थानीय तहमा हाजिर नहुने कर्मचारीलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएका छन् ।


