
बाजुरा १६ बैशाख– बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका २ माथिल्लो हुनीमा अविरल वर्षा पछि आएको पहिरोले स्थानीय किसानका भेडा–बाख्रामा ठूलो क्षति पुगेको छ । बैशाख १५ गते साँझ करिब ६ बजे भयलपाटा चौका वन क्षेत्रमा चराएर घर फर्काउने क्रममा पहिरो जाँदा १३ वटा भेडा बाख्रा मृत अवस्थामा फेला परेका छन् भने ३८ वटा अझै बेपत्ता रहेका छन् ।
घटनाबारे वडा सदस्य रामु बिकले प्रहरीलाई जानकारी गराएपछि प्रहरी चौकी कुन्नाबाट प्रहरी हवल्दार नन्द बिष्टको कमाण्डमा खटिएको टोली १६ गते बिहान घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी नरेश बहादुर शाहीले बताए ।
प्रहरीले घटनास्थलमा पुगेर खोजतलास गर्दा स्थानीय किसान चैन बहादुर बिष्ट, अमृत ल्वार, राज बहादुर बिष्ट र ऐन बहादुर बिष्टका भेडा बाख्रा पहिरोमा परेर मरेका सुचना अधिकारी शाहीले बताए ।
पहिरोमा परेर मरेका भेडा बाख्राहरुमा चैन बहादुर बिष्टका ५४ मध्ये २ वटा मृत र ९ वटा बेपत्ता छन् भने अमृत ल्वारका ५६ मध्ये ३ वटा मृत र १४ वटा बेपत्ता रहेका छन् । यस्तै राज बहादुर बिष्टका ४० मध्ये ५ वटा मृत र १० वटा बेपत्ता छन् भने ऐन बहादुर बिष्टका ९५ मध्ये ३ वटा मृत र ५ वटा बेपत्ता भएका प्रहरीले जानकारी दिएको छ ।
घटना स्थल प्रहरी चौकी कुन्नाबाट करिब ५ किलोमिटर पश्चिममा पर्ने उक्त क्षेत्रमा बुपत्ता भेडा बाख्राको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।


