बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • त्रिवेणी
  • बाजुराका कृषकलाई नवीकरणीय ऊर्जा वरदान २० मिनेटमै गहुँ चुट्ने विद्युतीय थ्रेसरले घटायो श्रम र लागत

बाजुराका कृषकलाई नवीकरणीय ऊर्जा वरदान २० मिनेटमै गहुँ चुट्ने विद्युतीय थ्रेसरले घटायो श्रम र लागत

  • मङ्लबार, बैशाख १५, २०८३
सेयर गर्नुहोस् :
बाजुराका कृषकलाई नवीकरणीय ऊर्जा वरदान २० मिनेटमै गहुँ चुट्ने विद्युतीय थ्रेसरले घटायो श्रम र लागत

बाजुरा १५ बैशाख — सुदूरपश्चिमका दुर्गम क्षेत्रमा कृषकहरूको दैनिक कृषि कार्यलाई सहज बनाउन नवीकरणीय ऊर्जामा आधारित प्रविधि प्रभावकारी बन्दै गएको छ । शाही नर्वेजियन राजदूतावास र युएनडीपीको आर्थिक साझेदारी तथा लिबर्डको कार्यान्वयनमा सञ्चालित कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा परियोजनाले बाजुराका विभिन्न पालिकामा विद्युतीय बहुबाली चुट्ने मेसिन (थ्रेसर) उपलब्ध गराए पछि कृषकहरू राहात पुगेको छ ।

सुदूरपश्चिम, कर्णाली र बागमती प्रदेशका ११ पालिकामा सन् २०२४ देखि परियोजना सञ्चालनमा रहेको छ । बाजुरा जिल्लाका स्वामिकार्तिक, हिमाली, बुढीनन्दा, जगन्नाथ गाउपालिका, बुढीगंगा र त्रिवेणी नगपालिकामा परियोजना संचालनमा रहेको छ । बुढीगंगा र त्रिवेणी नगरपालिकामा ६÷६ वटा मेसिन वितरण गरिएको लि बर्ड रेरास परियोजना अधिकृत शम्भु बस्नेतले बताए ।

परियोजना अन्तर्गत पहिलो वर्ष पूर्ण अनुदानमा मेसिन उपलब्ध गराइएको थियो भने दोस्रो वर्ष ८० प्रतिशत परियोजना र २० प्रतिशत समुदायको लागत साझेदारीमा कृषकलाई हस्तान्तरण गरिएको बस्नेतले बताए ।

त्रिवेणी नगरपालिका ८ कालापानीमा सञ्चालनमा रहेको विद्युतीय थ्रेसरले करिब २० मिनेटमै ६५ किलो गहुँ चुट्न सक्ने क्षमता देखाएको छ । यति परिमाण चुट्दा जम्मा ०.४ युनिट विद्युत खपत हुने गरेको छ । समूहले प्रति किलो रु. २ का दरले सेवा शुल्क निर्धारण गरेको छ, जसको ३० प्रतिशत मर्मत कोष र ७० प्रतिशत सञ्चालन तथा विद्युत खर्चमा छुट्याईने गरेको भगवती कृषक समूहकी सचिव सीता थापाले बताईन ।

स्थानीय कृषकहरूका अनुसार यो मेसिन महिला मैत्री समेत रहेको छ । कालापानीकी कालीदेवी थापाले सहजै सञ्चालन गरिरहेको उदाहरण दिँदै कृषकहरूले यसको प्रयोग सरल र प्रभावकारी भएको बताएका छन् ।

भगवती कृषक समूहकी सचिव सीता थापाका अनुसार पहिले गहुँ चुट्न एक दिन लाग्थ्यो, अहिले १५–२० मिनेटमै सकिन्छ । बचेको समयमा अन्य खेती गर्न पाइन्छ । अर्की कृषक पार्वती थापा भन्छन पहिले धेरै मेहनत र समय लाग्थ्यो, अहिले काम निकै सहज भएको छ ।

पेट्रोलबाट चल्ने थ्रेसरको तुलनामा विद्युतीय मेसिनबाट गहुँ चुट्दा करिब ५० प्रतिशत लागत कम हुने हुने गरेको छ । यसले स्थानीय लघु जलविद्युतबाट उत्पादित ऊर्जा प्रयोग गर्दै इन्धन खर्च घटाउनुका साथै वातावरण मैत्री अभ्यासलाई पनि प्रोत्साहन गरेको छ।

यस परियोजनाले कृषकहरूको श्रम र लागत घटाउँदै उत्पादन शीलता बढाउने मात्र नभई ग्रामीण क्षेत्रमा नवीकरणीय ऊर्जाको प्रयोग विस्तार गर्ने दिशामा महत्वपूर्ण योगदान पु¥याएको छ।

चर्चामा

सम्बन्धित समाचार