
बाजुरा १४ बैशाख– बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका ६ लौफुडाँडामा स्काभेटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने कर्णाली करिडोर केही समयका लागि अवरुद्ध सडक खुलेको छ ।
हिजो आईतबार बिहान नयाँ निर्माणाधीन लौफु कोल्टी भित्री सडक खन्ने क्रममा निस्केको माटो कर्णाली करिडोरमा थुप्रिएपछि सडक अवरुद्ध भएको थियो । सोही माटो पन्छाउने क्रममा प्रदेश ३–०१–००३ क ६३११ नम्बरको स्काभेटर अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल भिरमा खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेश बहादुर शाहीले जानकारी दिएका छन् ।
दुर्घटनामा जगन्नाथ गाउँपालिका ६ का १८ वर्षीय महेश रावल बेपत्ता भएका थिए । खोजीका क्रममा स्काभेटरभन्दा करिब ३०० मिटर तल मृत अवस्थामा फेला परेका सूचना अधिकारी शाहीले बताए ।
स्काभेटर चालक कालिकोट नरहरीनाथ गाउँपालिका २ का २५ वर्षीय केशब बिष्ट दुर्घटना पछि फरार भएका थिए भने सहचालक भने सकुशल रहेका छन्। पछि चालक कालिकोटको सान्नीघाट स्थित प्रहरी सम्पर्कमा आएका थिए र उनलाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी जुड्डीबाट प्रहरी सहायक निरीक्षक रमेश रावलको कमाण्डमा टोली खटिएको थियो । त्यसैगरी इलाका प्रहरी कार्यालय बुढीनन्दाबाट प्रहरी सहायक निरीक्षक भीमसिंह धामीको नेतृत्वमा थप टोली र कालिकोटको राताडाँडा ब्यारेकबाट नेपाली सेनाको टोली पनि उद्धार सामग्री सहित घटनास्थल पुगेका थिए । नेपाल प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा उद्धार कार्य सञ्चालन गरेका थिए।
साँझसम्म मृतकको शव भिरबाट निकालेर कर्णाली करिडोरमा ल्याइएको र सडकमा थुप्रिएको माटो हटाए पछि अवरुद्ध सडक पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ । स्काइभेटर दुर्घटनाबाट मृत्यू भएको रावलको पोष्टमाटमका लागी कोल्टि ल्याएको र आज पोष्टमाटम हुने प्रहरीले जाकारी दिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।


