
काठमाडौं– पर्यटक भिसाको दुरुपयोग गरी धर्म प्रचारमा संलग्न ६ जना सिंगापुरका नागरिक निष्कासित भएका छन्।
गृह मन्त्रालयले निष्कासन गर्ने निर्णय गरेपछि अध्यागमन विभागले बिहीबार साँझ उनीहरूलाई निष्कासित गरेको हो। त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालय स्रोतका अनुसार निष्कासित सिंगापुरका नागरिकहरू एयर इन्डियाको जहाजबाट दिल्ली हुँदै सिंगापुर गएका छन्।
गृह मन्त्रालयले उनीहरूलाई नेपाल प्रवेशमा तीन वर्ष प्रतिबन्ध लगाई निष्कासन गरेको हो। ‘निष्कासन गर्ने निर्णयपछि उनीहरू आजै दिल्ली हुँदै सिंगापुरतर्फ प्रस्थान गरेका छन्,’ स्रोतले अन्नपूर्णसँग भन्यो।
उनीहरू पर्यटक भिसामा नेपाल आएका थिए। तर भिसाको दुरुपयोग गरी उनीहरू धार्मिक प्रचारमा संलग्न रहेको भेटिएको थियो। गैरकानुनी काममा संलग्न भएपछि मोरङ प्रहरीले उनीहरूलाई नियन्त्रण लिई अनुसन्धान गरेको थियो।
प्रारम्भिक अनुसन्धानपछि उनीहरूलाई अध्यागमन विभागमा पठाइएको थियो। स्रोतका अनुसार सिंगापुरका ती नागरिकहरूले नेपालमा ‘ताओइज्म’ नामक धर्मको प्रचार गरेका थिए।


