
बाजुरा–बाजुराको गौमुल गाउँपालिकाले गाउँ टोलमै पुगेर खोप सेवाबाट छुटेका बालबालिकाहरूको खोजी गर्दै सर्वेक्षण अभियान सुरु गरेको छ । पालिकाका ६ वटै वडाका प्रत्येक गाउँघरमै पुगेर खोपबाट छुटेका बालबालिकाहरूलाई खोज्न थालेको हो ।
गाउँपालिकाले १० वटा स्वास्थ्य संस्थाबाट एक/एक जना स्वास्थ्यकर्मीहरू खटाएर गाउँमा विभिन्न कारणले नियमित खोपबाट वञ्चित बालबालिकाहरूको खोजी गर्न अभियान थालिएको स्वास्थ्य शाखा प्रमुख हरिश विकले जानकारी दिए । उनले भने, “हामीले २०८२ फागुन देखि चैत मसान्तसम्म पालिकाका प्रत्येक गाउँमै स्वास्थ्यकर्मी खटाएर खोप सेवाबाट छुटेका बालबालिका खोज्ने कार्य भइरहेको छ, त्यसपछि त्यस्ता बालबालिकारतलाई खोप दिन्छौँ ।” यस्तै स्वास्थ्य शाखा प्रमुख विकले गौमुलमा मुख्य गरी छिमेकी देश भारतमा जाने परिवारका बालबालिकाहरू खोप कार्ड नहुँदा नियमित खोप सेवाबाट वञ्चित हुने गरेको बताए । गत वर्ष २ जना बालबालिकाहरू खोपबाट छुटेका थिए भने यस वर्ष हालसम्म त्यस्ता कुनै पनि बालबालिकाहरू नभेटिएको समेत उनले बताए । उनकाअनुसार नियमित खोप कार्यक्रम अन्तर्गत पर्नुपर्ने तर विभिन्न कारणले छुटेका बालबालिकालाई पहिचान गरी उनीहरूलाई खोपको दायरामा ल्याउन यो अभियान सुरु गरिएको हो ।
गौमुल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद भट्टले पालिकालाई २०८३ वैशाख मसान्तभित्रै पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्ने लक्ष्यका साथ उक्त सर्वेक्षण अभियान सञ्चालन गरिएको बताएका छन् । उनले प्रत्येक वडाका गाउँघरमा स्वास्थ्यकर्मीहरूको टोली खटाएर नियमित खोप सेवाबाट छुटेका बालबालिकाहरूको तथ्याङ्क सङ्कलन भइरहेको बताए ।
त्यस्तै गाउँपालिकाको वडा नम्बर ३ स्थित माझपालि आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी सुजता बोहराले यस वर्ष विभिन्न कारणले नियमित खोप सेवाबाट छुट्न सक्ने भन्दै वडाका प्रत्येक गाउँघरमा पुगेर त्यस्ता बालबालिकाहरूको खोजी गरिएको र उक्त वडामा खोपबाट छुटेका कुनै पनि बालबालिका नभेटिएको जानकारी दिइन् । अभियानअन्तर्गत स्वास्थ्यकर्मीले खोपको महत्वबारे अभिभावकलाई सचेतना पनि दिइरहेका छन्। बालबालिकालाई पूर्ण खोप लगाउनु अत्यन्त आवश्यक रहेको भन्दै खोप नलगाउँदा विभिन्न सङ्क्रामक रोगको जोखिम बढ्ने उनीहरूले बताएका छन् ।
गाउँ बाहिर गएर खोप कार्ड नभएका, भौगोलिक विकटता, जनचेतनाको कमी तथा सहज पहुँच अभाव लगायतका कारण खोप सेवा लिन नपाएका बालबालिकालाई लक्षित गर्दै पालिकाले घरदैलोमै पुगेर विशेष अभियान थालेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले यो अभियानलाई निरन्तरता दिने र आगामी दिनमा कुनै पनि बालबालिका खोपबाट छुट्न नदिने लक्ष्य लिएको छ । साथै, स्वास्थ्य संस्था तथा समुदायबिच समन्वय गरी खोप कार्यक्रमलाई अझ प्रभावकारी बनाइने पनि जनाइएको छ । हरेक वर्ष प्रायः स्थानीय तहहरूले वैशाखलाई खाेप महिनाका रुपमा मनाएर पालिकालाई पूर्ण खोपयुक्त घोषणा गर्ने गरेका छन् ।


