
बाजुरा– मार्तडी कोल्टी सडक अन्तरगत बडिमालिका नगरपालिका–७ को जिल्लीमा रहेको पहिरो नियन्त्रणका लागि निर्माण कार्य तीव्र गतिमा अगि बढाइएको छ । नजिकै रहेको बिध्यालय र सडकलाई जोखिममा पारेको पहिरो रोकथाम गर्न अहिले पहिरो नियन्त्रणको कार्य भइरहेको हो । पहिरोका कारण मार्तडी कोल्टी सडक र नजिकै रहेको लक्ष्मी माध्यामिक बिध्यालय जोखिममा परेको छ र बर्षाको समयमा विद्यालयको पठनपाठन प्रभावित हुदै आएको छ ।
बाजुराको उत्तरी क्षेत्रका ४ वटा स्थानिय तहका साथै छिमेकी कर्णाली प्रदेशका हुम्ला र मुग जाने मुख्य राजमार्गको रुपमा रहेको सो ठाउँमा बर्षाको समयमा पहिरो जाने र सडक अबरोध हुने हुदा नागरिकले पाएको सास्थीलाई मध्य नजर गरि वडाबाट बिभिन्न समयमा पालिका प्रमुख र प्रदेश सरकारलाई गुहार गरेको बडीमालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए । अहिले धमाधम काम भईरहेको छ दिर्घकालिन कति हुन्छ तर पहिरो रोकथाम भएपनी नागरिकलाई सहज हुने बताए ।
करिब चार महिना अघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह लाई बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले स्थलगत अवलोकन गराउँदै पहिरो नियन्त्रणका लागि पहल गरिदिन आग्रह गरेका थिए । सो क्रममा मुख्यमन्त्री शाहले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । उक्त प्रतिबद्धता अनुसार अहिले पहिरो नियन्त्रणको काम सुरु भएको नगर प्रमुख खड्काले जानकारी दिएका छन् । उनका अनुसार पहिरोका कारण बर्षाको समयमा मार्तडी कोल्टी सडकमा यातायातका साधान चल्न नपाउदा स्थानियले सास्थी खेप्दै आएका र नजिकै रहेको बिध्यालयमा आउने बिध्यार्थीहरुलाइ समेत आवत जावतमा समस्या भएको भन्दै यसलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइएको बताए ।
पूर्वाधार विकास कार्यालय साँफेबगरले करिब १ करोड २० लाख रुपैयाँ लागतमा ठेक्का प्रक्रिया पूरा गरेर निर्माण कार्य सुरु गरेको कार्यालयले जनाएको छ । पहिरो नियन्त्रणका लागि आवश्यक संरचना निर्माण भइरहेको र तोकिएको समयमै काम सम्पन्न गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ । स्थानीयले भने पहिरो नियन्त्रणको काम समयमै सम्पन्न भएमा बिध्यालय र सडक दुवै सुरक्षित हुने विश्वास व्यक्त गरेका छन् । पहिरोमा भइरहेको कामको बडीमालिका नगर प्रमुख अमर खड्का, नगर प्रबक्ता धर्मराज पाध्याय, बडीमालिका ५ का वडा अध्यक्ष धरमपाल मिजार लगायत जनप्रतिनिधीले अनुगमन समेत गरेका छन ।


