
बाजुरा—बाजुराको जगन्नाथ गाउँपालिका ३ तलकोटका घाइते दम्पत्तीको उपचारका लागि आर्थिक सहयोग जुटेको छ । तलकोटका ३५ बर्षका पूर्वे ढोली र उनकी ३० बर्षीय श्रीमती विष्णु ढोलीको खुट्टा भाँचिएर जिल्ला अस्पतालको शैय्या रहेको सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि उपचारका लागि आर्थिक सहयोग संकलन भएको हो ।
दम्पत्तीको उपचारको लागि विभिन्न व्यक्तिहरुबाट हालसम्म ६३ हजार एक सय रुपैयाँ संकलन भएको पत्रकार तथा सामाजिक अभियान्ता प्रकाश सिंहले बताएका छन् । उक्त नगद रकम बिहीवार जिल्ला अस्पतालमै पुगेर दम्पत्तीलाई हस्तान्तरण गरिएको उनले बताए ।
आर्थिक अभावमा उपचार गर्न समस्या भोगिरहेका दम्पत्तीको उपचारका लागि बाजुराको बडीमालिका ८ घर भई हाल रोमनिया बस्ने धर्म रावलले पाँच हजार, बझाङ चैनपुर घर भई हाल दुवई बस्ने सन्दिप कुमार विष्टले १४ सय, जिएम ट्रर्डस धनगढीका गोविन्द शर्माबाट १० हजार, जगन्नाथ ३ का चक्र शाहीबाट ३५ सय, सुरता सिंह नेपालगञ्जबाट १५ सय रुपैयाँ सहयोग भएको छ । त्यस्तै मिग्मा दोर्जे शेर्पाबाट १० हजार, साँफेबगर नगरपालिका १० हाल महेन्द्रनगर बसने मोतिकला बटालाबाट १५ सय रुपैयाँ सहयोग भएको छ । नेपाल सरकारका पूर्व सचिव भिम उपाध्यायको समन्वयमार्फत विभिन्न व्यक्तिहरुको सहयोगमा ३० हजार २ सय रुपैयाँ सहयोग भएको छ । पैसा नहुँदा उपचार गर्न समस्या भोगिरहेका दम्पत्तीको उपचारमा सानो सहयोग होस् भनेर निःस्वार्थ भावनाले उपचारका लागि सहयोगीदाताहरुले आर्थिक सहयोग गरेको बिरामीका आफन्त राजेन्द्र नेपालीले बताए ।
करिब एक हप्ताअघि पूर्वे ढोलीको घर नजिकै खानेपानीको लाइन मर्मत गर्न लाग्दा एक्कासी लडेर दायाँ खुट्टा भाँच्चियो । लगत्तै उनी उपचारका लागि बुढीनन्दा नगरपालिका–२ स्थित कोल्टी अस्पतालमा पुगे । त्यहाँ चिकित्सकले खुट्टा भाँचिएको छैन् भने प्लास्टर गरी दियो । केही दिनदेखि उनी सोही अस्पतालमै उपचाररत थिए । लगत्तै उनकी श्रीमती विष्णु पनि घाइते भइन् । उनी यहीँ फागुन २६ गते घरबाट मावली घर सोही पालिकाको ढाडाकोट जादैँ थिइन् । बिच बाटोमा एक्कासी माथि भिरबाट खसेको ढुंगा लागेर दायाँ खुट्टा भाँचियो । अहिले उनीहरु दुवै दम्पत्तीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकहरुले दुवै दम्पत्तीको उपचार गर्न तथा विष्णुको खुट्टामा रड हाल्न ५० हजार बढी खर्च लाग्ने बताएका छन् । घरका मुली श्रीमान् श्रीमती दुवै जना घाइते भएर अस्पतालको शैय्यामा हुँदा घरपरिवारमा भने बिचल्ली छाएको छ । पूर्वेको घरमा एक छोरा र तीन छोरी र बुवा छन् । तीन महिनाकी छोरीलाई भने साथमा लिएर उपचारका लागि दुवै जना यता आएपछि परिवार अन्धकार जस्तै भएको छ ।


