बुधबार, फाल्गुन ६, २०८२
  • होमपेज
  • मनोरञ्जन
  • राजेश पायलको गाउँको मैदानबाट फैलिएको नृत्य–प्रशिक्षण यात्रा

राजेश पायलको गाउँको मैदानबाट फैलिएको नृत्य–प्रशिक्षण यात्रा

  • बुधबार, फाल्गुन ६, २०८२
राजेश पायलको गाउँको मैदानबाट फैलिएको नृत्य–प्रशिक्षण यात्रा

बाजुरा– बडीमालिका नगरपालिका–९ का राजेश पायल यतिबेला स्थानीय स्तरमा मात्र होइन, सुदूरपश्चिम र कर्णालीसम्म चिनिएका एक सक्रिय नृत्य र खेल  प्रशिक्षकका रूपमा परिचित हुँदै गएका छन्। उनले हजारौं बालबालिकालाई खेल, शारीरिक अभ्यास र अनुशासनको पाठ सिकाइसकेका छन्। हजारौं बालबालिकालाई प्रशिक्षण दिइसकेका पायलले पछिल्लो समय खेलकुदलाई केवल प्रतिस्पर्धा वा शारीरिक अभ्यासमा सीमित नराखी मानसिक स्वास्थ्य, अनुशासन र नेतृत्व विकाससँग जोड्ने प्रयास गरिरहेका छन्।

गाउँको सानो मैदानबाट सुरु भएको उनको यात्रा आज प्रदेशका विभिन्न जिल्लासम्म फैलिएको छ । उनी भन्छन्, “खेल भनेको शरीर मात्रै होइन, मन र व्यवहार सुधार्ने माध्यम पनि हो।” यही विश्वासका साथ उनले नियमित रूपमा विद्यालयहरूमा पुगेर प्रशिक्षण दिइरहेका छन्। राजेश पायलको विशेषता भनेको उनी विद्यार्थीमा मात्र सीमित छैनन्। उनी विद्यालयका शिक्षक र कर्मचारीलाई समेत शारीरिक अभ्यासमा तालबद्ध म्युजिकल पिटी, ध्यान कक्षा तथा नृत्य प्रशिक्षण दिने गर्छन् । विद्यालयमा प्रार्थना सभालाई आकर्षक र ऊर्जावान बनाउन उनले म्युजिकल पिटीलाई प्राथमिकता दिएका छन् । ताल र संगीतसँगै गरिने अभ्यासले बालबालिकामा आत्मविश्वास, अनुशासन र सामूहिक भावना विकास हुने उनी बताउँछन्।

ध्यान कक्षाले विद्यार्थीको एकाग्रता बढाउने र पढाइमा सकारात्मक प्रभाव पार्ने उनको अनुभव छ। “शरीर चलायमान भएजस्तै मन पनि शान्त हुनुपर्छ,” उनी जोड दिन्छन्। बाजुराबाट सुरु भएको प्रशिक्षण अहिले सुदूरपश्चिमको धनगढीसम्म पुगेको छ । त्यस्तै कर्णाली प्रदेशका दुर्गम जिल्लाहरू हुम्ला, मुगु र कालिकोटमा समेत उनले प्रशिक्षण दिएका छन् । दुर्गम भूगोल, सीमित स्रोत र खेल सामग्रीको अभावबीच पनि उनले उत्साह नछोडेको देखिन्छ । स्थानीय विद्यालयहरूमा पुगेर बालबालिकालाई आधारभूत शारीरिक अभ्यास, खेलकुदका नियम तथा समूहगत गतिविधि सिकाउँदै आएका छन ।

उनका प्रशिक्षणका तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा समेत निकै रुचाइएका छन्। यसले उनलाई थप प्रेरणा दिएको छ । पछिल्ला वर्षहरूमा उनले प्रशिक्षण शैलीलाई समयअनुसार परिमार्जन गरेका छन् । परम्परागत पीटीसँगै म्युजिकल पिटी, नृत्य प्रशिक्षण, ध्यान अभ्यास र विविध शारीरिक खेलहरूलाई समेटेर समग्र व्यक्तित्व विकासमा जोड दिएका छन् ।

उनको उद्देश्य स्पष्ट छ—विद्यालय तहबाटै स्वास्थ्यप्रति सचेत, अनुशासित र आत्मविश्वासी पुस्ता तयार गर्नु। स्थानीय स्तरमा सीमित अवसरबीच पनि आफ्नो सीप र मेहनतको भरमा अघि बढिरहेका राजेश पायल धेरै युवाका लागि प्रेरणाका स्रोत बनेका छन । गाउँ–गाउँ पुगेर प्रशिक्षण दिनु, विद्यालयसँग सहकार्य गर्नु र खेलमार्फत सकारात्मक ऊर्जा फैलाउनु उनको निरन्तर अभियानजस्तै बनेको छ । खेल शिक्षकको रूपमा उनले देखाएको सक्रियता र समर्पणले बाजुराबाटै एउटा सशक्त सन्देश दिएको छ र सही मार्गदर्शन र इच्छाशक्ति भए दुर्गम भूगोलले पनि सपना रोक्न सक्दैन भन्ने उदाहरण पायल बनेका छन ।

चर्चामा

सम्बन्धित समाचार