बुधबार, जेष्ठ २०, २०८३
  • होमपेज
  • खेलकुद
  • १६औँ राष्ट्रपति रनिङ शिल्डमा कैलाली प्रथम, बाजुरासहित तीन जिल्ला स्वर्णविहीन

१६औँ राष्ट्रपति रनिङ शिल्डमा कैलाली प्रथम, बाजुरासहित तीन जिल्ला स्वर्णविहीन

  • आइतवार, जेष्ठ १७, २०८३
सेयर गर्नुहोस् :
१६औँ राष्ट्रपति रनिङ शिल्डमा कैलाली प्रथम, बाजुरासहित तीन जिल्ला स्वर्णविहीन

डडेल्धुरा —१६औँ सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलाली सर्वाधिक पदक जित्दै च्याम्पियन बनेको छ भने बाजुरा, डोटी र अछाम स्वर्ण पदकविहीन बनेका छन् ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा अमरगढी नगरपालिका–४ स्थित टुँडिखेलमा बिहीबारदेखि सञ्चालन भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।

अन्तिम पदक तालिका अनुसार कैलालीले ३२ स्वर्ण, १७ रजत र ९ कास्यसहित कुल ५८ पदक जित्दै पहिलो स्थान हासिल गर्‍यो । कञ्चनपुर १७ स्वर्ण, १३ रजत र १३ कास्यसहित कुल ४३ पदकका साथ दोस्रो तथा डडेल्धुरा ६ स्वर्ण, ७ रजत र १७ कास्यसहित ३० पदक जित्दै तेस्रो स्थानमा रह्यो ।

यस्तै, बैतडीले ६ स्वर्ण, ७ रजत र १३ कास्यसहित २६ पदक जित्दै चौथो स्थान प्राप्त गर्‍यो । दार्चुलाले ३ स्वर्ण तथा बझाङले २ स्वर्ण पदक जित्दै क्रमशः पाँचौँ र छैटौँ स्थान हासिल गरे । बाजुरा, डोटी र अछाम भने एक पनि स्वर्ण पदक जित्न नसकी प्रतियोगिता टुंग्याउन बाध्य भए ।

प्रतियोगितामा विभिन्न खेल विधामा कुल ६६ स्वर्ण, ६६ रजत र १०० कास्य गरी २३२ पदक वितरण गरिएको थियो । प्रदेशका नौवटै जिल्लाबाट खेलाडीहरूको सहभागिता रहेको प्रतियोगिताले उदीयमान खेल प्रतिभाको पहिचान र विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ ।

समापन समारोहमा सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले डडेल्धुरामा पहिलोपटक प्रदेशस्तरीय खेलकुद प्रतियोगिता सफलतापूर्वक आयोजना भएकोमा खुसी व्यक्त गरिन् ।

उनले सुदूरपश्चिमका खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रदेशको पहिचान स्थापित गरिरहेको बताउँदै खेलाडीहरूको मेहनत र लगनशीलताको प्रशंसा गरिन् ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्काले प्रतियोगितामा देखिएको उत्साहजनक जनसहभागिताले खेलकुद गतिविधिलाई अझ प्रभावकारी बनाउन प्रेरणा मिलेको बताए ।

प्रतियोगितामा प्रदेशका नौवटै जिल्लाका खेलाडीहरूको सहभागिता रहेको थियो । प्रतियोगिताले प्रदेशका उदीयमान खेल प्रतिभाको पहिचान र विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको थियो ।

चर्चामा

सम्बन्धित समाचार