
बाजुरा—बाजुराको त्रिवेणी नगरपालिका –५ किम्नीमा अहिलेसम्म सडक सञ्जाल पुगेको छैन । देशमा संघीयता आयो, गाउँ–गाउँमा सिंहदरवार पुग्यो भने पनि तर नगरपालिकाको एउटा वडा किम्नीमा अझै सडकको पुहँच पुगेको छैन् ।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएसँगै उक्त वडामा पनि नेताहरु थुप्रै आश्वासन् लिएर भोट माग्न पुगि रहेका छन् । तर अहिले त्यहाँ मतदाताहरुले प्रायः एउटै भनाइ छ “जसले सडक पुर्याउँछ, उसैलाई भोट दिन्छौँ ।” यो भनाइ चुनावी उत्तेजना मात्र होइन, लामो समयदेखि भोग्दै आएको उपेक्षा र पीडाको परिणाम हो । जनताले पटक–पटक माग गर्दा पनि सम्बोधन नहुँदा अब उनीहरूले भोटलाई नै दबाबको माध्यम बनाएका छन् ।
अहिलेसम्म सडकको पहुँचबाहिर रहेका त्यहाँका स्थानीयहरु विकासको मूल ढोका नै बन्द भएको महसुस गरिरहेको स्थानिय गणेश बुढाले बताएका छन् । किम्नी नगरपालिकाका अन्य वडाभन्दा भौगोलिक रुपमा विकट छ र टाढा छ । स्थानीय सरकारको पनि नजर पुगेन अनि सर्वसाधारण नागरिकको त्यहाँसम्म पुहँच नै पुग्दैन् । जनताका आधारभूत आवश्यकतामै पर्छ सडक तर पनि अझै सडकको पहुँच पुग्न सकेको छैन् ।
देशमा संघीयता आएपछि त्यहाँका जनताहरुले दुई–दुई पटक भोट दिएर स्थानीय सरकारमा जनप्रतिनिधि पठाए अनि संघ र प्रदेशमा सांसद जिताएर पठाए । किम्नीमा पटकपटक नेताहरु भोट माग्न पुगे, सडक पुगाउँछौं, विकास गर्छौ भनेर आश्वासन पनि नदिएका भने होइनन् । तर वास्तविक किम्नीका जनताको गाडी चढ्ने सपना अधुरै रह्यो, अझै सडकको पहुँच नपुगेको स्थानिय तुली बुढाले बताएकी छन् ।
वडा सडक सञ्जालमा नजोडिदा सामान्य दैनिक जनजीवन बिताउन पनि निकै चुनौतिपूर्ण छ । त्यहाँ नत सडक सञ्जाल पुगेको छ नत व्यापार व्यवसाय र रोजगारीको अवसर मिलेको छ । गाउँमा अरु विकास त परै जावस् स्वास्थ्य र शिक्षाको अवस्था पनि निकै नाजुक छ । विद्यालयका भवन कक्षाकोठामा नत झ्याल ढोका छन् नत बस्ने डेस्क बेन्च छन् । कक्षाकोठा व्यवस्थापन र भौतिक संरचना बाहिरबाट झट्ट हेर्दा बेहाल अवस्था देखिन्छ । स्वास्थ्यको अवस्था पनि उस्तै छ, बिरामी हुँदा समान्य चोकजाँच र उपचारका लागि जानआउन ३–४ घण्टा पैदल हिड्नु पर्छ ।
त्रिवेणी नगरपालिकाको कार्यालय वडा नम्बर ४ तोलीमा छ, किम्नीबासीलाई सेवा लिन घण्टौं पैदल यात्रा गुर्न पर्ने बाध्यात्मक अवस्था छ । गम्भीर अवस्थामा बिरामीलाई डोको, स्ट्रेचर वा मान्छेको काँधमा बोकेर लैजानुपर्ने अवस्था रहेको छ । यहाँ उत्पादन हुने कृषि उपज बजारसम्म पुर्याउन नसक्दा किसानहरू निराश छन् । उत्पादन भए पनि ढुवानी खर्च अत्याधिक भएकाले उचित मूल्य पाउन नसकेको भरत बुढाले बताए ।
सडक पुगेको भए गाउँमै व्यापार, होटल, कृषि संकलन केन्द्र, साना उद्योग र रोजगारीको सम्भावना बढ्ने स्थानीयको विश्वास छ । तर सडक नहुँदा गाउँको समग्र विकास ‘कागजमै’ सीमित भएको उनीहरूको भनाइ छ । तसर्थ किम्नीबासीहरुले यतिखेर आफूहरुलाई नगरपालिकाले पनि नदेखेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
नेताहरू चुनावको बेला मात्र गाउँ पुग्ने, भाषण गर्ने र योजना ल्याउने प्रतिबद्धता जनाउने गर्छन् । तर चुनाव सकिएपछि सडक निर्माणको विषय ओझेलमा पर्ने गरेको छ । किम्नी गाउँमा तीन स्थानबाट बर्षौ अगाडि सडक ल्याउन खोजिएको छ तर काम अलपत्र रहेको छ । यसपटक त्रिवेणी–५ का मतदाताले सडकलाई केवल विकासको माग होइन, राजनीतिक परीक्षा बनाएका छन् । उनीहरूको भनाइमा अब भाषण र नाराले पुग्दैन । काम गरेर देखाउनुपर्ने बेला आएको छ । जिल्ला निर्वाचन कार्यालय बाजुराकाअनुसार उक्त वडामा आगामी निर्वाचनका लागि ७ सय ३६ मतदाता रहेका छन् भने मतदानस्थल रामेश्वरी माविमा छ ।
