
कहिलेकाहीँ राष्ट्रमा यस्ता पात्र जन्मिन्छन्, जसले समयको धुलो हटाएर इतिहासको अनुहार देखाउँछन् । केपी शर्मा ओली त्यस्तै पात्र हुन् ,जसलाई समर्थकले “राष्ट्रिय बा” भन्छन्, र विरोधीले समेत नकार्न नसक्ने एउटा दृढ व्यक्तित्व । देशलाई आत्मसम्मान दिलाउने, सार्वभौम नीतिको मर्म बुझाउने र “नेपालीपन” लाई विश्व मञ्चमा गर्वका साथ प्रस्तुत गर्ने साहस उनीसँग छ । ओली केवल पार्टीका नेता होइनन्; उनी एउटा राष्ट्रवादी धारा हुन्, जसले नेपालको स्वाभिमानको परिभाषा फेरिदिए । भारतीय नाकाबन्दीको अपमानबीच उनले “नेपाल कसैको पिछलग्गु होइन” भनेर विश्वसामु चर्को स्वरमा बोले । त्यो स्वर, सीमित प्रधानमन्त्रीको होइन, त्यो आवाजमा तीन करोड नेपाली जनताको स्वाभिमान बोलेको थियो । उनको “गैरआश्रित नेपालको नीति”ले आजको युवा पुस्तालाई पनि एउटा नयाँ सोच दिएको छ “आफ्नो देश आफ्नो बलमा उभ्याउने।” तसर्थ ओली एक नेताभन्दा बढी एक राष्ट्रधारणा हुन जुन कुरा समाजले विस्तारै मनन् गर्नेछ ।
तेस्रो गाउँको साधारण किसानको छोरा भएर सिंहदरबारको कुर्सीमा पुग्नु केवल भाग्य होइन, दृढता र दर्शनको फल हो । ओलीले जेलखानामा बिताएका ति वर्ष, राजनैतिक यातनाबाट गुज्रिएको त्यो जीवन, र त्यसपछि पनि हाँसेर देशको नेतृत्व गर्ने शक्ति, जसले उनलाई अविचल राष्ट्रवादी नेताको रूप दिन्छ । उनको सरल बोल्ने तर गहिरो सोच्ने बानीले उनलाई नयाँ पुस्ताको प्रेरक पनि बनाएको छ । ओलीको शासनकाल केवल भाषणले होइन, कार्यकुशलताले चिनिन्छ । प्रधानमन्त्रीका हैसियतमा उनले नेपालमा विद्युत् अभाव अन्त्यको सपना साकार गरे । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा विमानस्थल र गौतमबुद्ध विमानस्थलको योजना अगाडि बढाए । पूर्व–पश्चिम रेलका योजना, जलविद्युत्, र स्वदेशी उत्पादनमा बल दिए । सुरुङमार्ग निर्माण, हरेक पालिकामा अस्पताल, सबैभन्दा ठूलो नेपालको परराष्ट्र नीति स्वतन्त्र ढङ्गले चलाउन प्रयाश गरे । त्यो साहस सबै नेतामा हुँदैन । यस्ता तमाम कार्यका कारण ओली, विकास र दृढ निर्णयका प्रतीक मानिन्छन । आजको लहडमा हिडेको जेन-जी पुस्ता जो तथ्यमा कम भ्रममा बढि बाँचेको छ, त्यो पुस्ता स्वतन्त्रता चाहन्छ, तर उनीहरूलाई दिशा दिने सशक्त पात्रको अभाव छ र अनियन्त्रीत छ ।
ओलीले युवालाई आत्मनिर्भर, नवप्रवर्तनशील र राष्ट्रिय स्वाभिमानयुक्त बन्न सन्देश दिएका छन् । उनको बोलीमा व्यङ्ग्य हुन्छ, तर त्यस व्यङ्ग्यभित्र एउटा चेतावनी पनि हुन्छ “देश बेचेर आधुनिक बन्न सकिँदैन।” उनले आफूलाई युवा पुस्तासँग जोड्ने शैली अपनाएका छन् टिकटक होइन, सोच र क्रियाशीलताका माध्यमबाट । ओली भावनामा पनि चल्छन्, तर्कमा पनि । उनले राष्ट्रलाई माया गर्छन्, तर त्यो माया भावनामा होइन राष्ट्रियताको सवालमा गरिने निर्णयमा देखिन्छ । देश संकटमा पर्यो भने उनी माइक्रोफोन, साउन्ड सिस्टम लिएर होइन, निर्णय लिएर उभिन्छन् । उनको हाँसो, व्यङ्ग्य, कठोरता र आत्मविश्वास मिलेर बनेको एउटा अपूर्व मिश्रण हो, जो केवल राजनीतिज्ञको रुपमा मात्रै होइन, देशका पिता बन्ने दिशामा देखिन्छ ।
ओलीले हामीलाई “आफ्नै हातले भविष्य लेख्न सकिन्छ” भन्ने आत्मविश्वास दिएका छन् । किनकि उनी न त भारतको आदेश मान्ने नेता हुन्, न विदेशी सल्लाहमा ढल्ने । किनकि उनले नेपालीलाई सम्झाएका छन् “हाम्रो देश भुगोल र जनसंख्याको आधारमा सानो होला, तर हाम्रो मस्तिष्क ठूलो हुनुपर्छ, अन्य ठूला शक्तिशाली देशको सार्वभौमिकता जस्तै समान हुनुपर्छ।” जेन-जी आन्दोलन, असन्तोष, र दिशाहीन राजनीतिक रडाकोबीच पनि ओलीको नाम युवा हृदयमा छ । किनकि उनी बोल्ने मात्र होइन, “दीर्घकाल सोच्ने” व्यक्ति हुन् । उनको विचारले जेन-जी पुस्ता जस्तो असन्तुष्ट र तर्कशील वर्गलाई पनि सोच्न बाध्य पार्छ “राष्ट्र निर्माण भनेको अस्थायी राग होइन, स्थायी जिम्मेवारी हो।” तसर्थ ओली राष्ट्रिय बा बन्न सफल भएका छन ।
काम होइन, ओलीलाई गाली गरे जनताको प्रिय बनिन्छ!
नेपालको राजनीतिक समाजमा आज एउटा विचित्र संस्कार पलाउँदैछ, काम गर्नेले होइन, बोल्नेले वाहवाही पाउने । अनि खासगरी, केपी शर्मा ओलीलाईगाली गरे भने त जनताको मन जित्ने सजिलो टिकट मिल्छ ।
सामाजिक सञ्जालमा लाइक, कमेन्ट, सेयर र फालोअर्स बढाउने ‘शर्टकट’ यही बनेको छ । तर, प्रश्न उठ्छ, यस्तो प्रवृत्तिले देशलाई कहाँ पुर्याउँछ ? के राष्ट्रवाद, उपलब्धि र कर्मको मूल्य फेसबुकका रियाक्सनले नाप्न सकिन्छ ? यो गम्भिर प्रश्न नेपाली समाजमा देखिएको छ ।
आज फेसबुक, टिकटक, युट्युब, एक्स (ट्विटर) जस्ता प्लेटफर्ममा ओली विरोध नै एउटा ट्रेन्ड बनेको छ । उनीमाथि व्यङ्ग्य, मेम र आरोप बनाउनेहरू दिनदिनै बढ्दै छन र तिनै भिडमा राष्ट्र, विकास र नीतिका मुद्धाहरु हराउँदै गइरहेका छन् । सार्वजनिक नीति, राष्ट्रिय दृष्टिकोण र आत्मनिर्भरता जस्ता गम्भीर विषयहरू ‘मिम’को सामग्री बनेका छन् । तर विडम्बना के छ भने, जसले देश चलाउने योजना बनायो उसलाई गाली, जसले देश जलायो उसलाई ताली । यही हो हाम्रो राजनीतिक ट्रेन्ड, जहाँ आलोचना ज्ञान होइन, प्रदर्शनको माध्यम बनेको छ । जुन गाली संस्कृति र डिजिटल लोकप्रियताको नकारात्मक प्रभाव हो ।
ओलीको सबैभन्दा ठूलो ‘गल्ती’ के हो भने उनले काम गरे । भ्रष्टाचारको शुन्य सहनशिलताको नीति लिए, उनले “आफ्नो देश आफैं बनाउने” नारा दिए, विद्युत् संकट अन्त्य गरे, भू–राजनीतिक दबाबको बीचमा पनि नेपालको स्वाभिमान उचाले, नेपाललाई नक्सासहितको पहिचान दिए र परराष्ट्र नीतिमा निर्भीक ढङ्गले बोले, देशलाइ विकासको नया युगमा प्रवेश गराए आफ्नो र आफ्नो श्रीमतीको नामको सबै सम्पत्ती राष्ट्रको नाममा गरिदिए । तर, यस्तो नेताले गाली खानुपर्छ भन्ने संस्कार किन बढ्दैछ ? किनकि हामीले सत्य भन्दा सस्तो मनोरञ्जन रोजेका छौं । हामीलाई तर्कभन्दा ट्रोल प्रिय छ । र हामी अब नेताको नीतिभन्दा उनको मीम हेरेर निर्णय गर्छौं । देश जलाएर खरानीको व्यापार गर्दै डलर कमाउन तयार छौं । यि सबै घटनाले सोच्न बाध्य पार्छ के काम गर्नु, नागरिक ब्यूँझाउनु ओलीको अपराध हो ?
ओलीलाई आलोचना गर्ने धेरै युवा आफ्नै असन्तुष्टिका पीडामा छन् र जसले खुल्ला रुपमा सत्ताविरुद्ध बोल्छ, उसलाई स्वतः ‘हीरो’ ठानिन्छ । युवाले भुल्न नहुने कुरा के हो भने ओलीको विरोध गरेर होइन, उनीजस्तै आत्मनिर्भरको नीति लिएर मात्रै राष्ट्र बलियो बन्न सक्छ । ओलीप्रति असहमति राख्न पाइन्छ, तर विकासका आँकडालाई नदेख्ने अन्धआलोचनाले देशको सर्वांगीण पक्ष कमजोर बनाउँछ । आज काम गर्ने नेताले होइन, अफवाह फैलाउने, झुटो बोल्ने, गाली गर्ने र भिडियो बनाउनेले चर्चा पाउँछन् । ओलीले बाटो, विजुली, उद्योग, रोजगार लगायत आत्मनिर्भरका नीति ल्याए तर मिडियाले हेडलाइन बनायो “ओलीको व्यङ्ग्य”। यो समाजले कार्यकर्ताभन्दा कलाकार, कर्ताभन्दा कमेन्टकर्ता बढी रुचाउन थालेको छ । देशमा कामको राजनीति विरुद्ध चर्चाको राजनीति जो मौलाउदै छ यो कालान्तरमा घातक सावित हुनेछ ।
निष्कर्ष
ओली आज केवल नेता होइनन्; उनी एउटा दृष्टिकोण हुन्, एउटा प्रतीक हुन् , जसले नेपाललाई नक्सा मात्र होइन, दिशा पनि दिएको छ । साहस, व्यङ्ग्य, स्वाभिमान र आत्मनिर्भरता यी चार शब्द केपी ओलीको पहिचान हुन् । राष्ट्रिय बा, ओली ! उनी नेता मात्र होइनन्, उनी “नेपाल” बोल्ने स्वर हुन् । ओली मन नपर्नु, उनको विरोध गर्नु गलत होइन । तर, विरोध ज्ञानमा आधारित होस्, तथ्यमा आधारित होस्, टिकटकको ट्रेन्डमा आधारित होइन । यदि हरेक नयाँ पुस्ताले गाली गरेर मात्र ‘क्रान्तिकारी’ बन्ने हो भने, देशले कहिल्यै नीति र दिशा पाउँदैन । अब समय आयो ओलीलाई गाली गरेर होइन, आफू केही गरेर जनताको प्रिय बन्ने संस्कार सुरू गर्ने । किनकि इतिहासले गाली गर्ने होइन, काम गर्नेहरूलाई सम्झन्छ । यो सोच परिवर्तन गर्न जरुरी छ । केपी ओली परिपूर्ण नेता नहोलान, तर उनीसँग राष्ट्रप्रेम छ । उनीसँग साहस छ र देशलाई आत्मनिर्भर बनाउन चाहिने दृष्टि छ । त्यो दृष्टिलाई नदेखेर केवल व्यङ्ग्य गर्ने चलन हाम्रो चेतनाको अधोगति हो । अब नेपाललाई आवश्यकता छ, गालीको भीडमा हराएको सकारात्मक सोच फिर्ता ल्याउने पुस्ताको । ओलीको योगदान तर्कले मूल्याङ्कन गरौँ, अन्ध–आलोचनाले होइन । केपी ओलीलाई गाली गरेर क्षणिक जनताको प्रिय बन्न सकिएला, तर इतिहासमा स्थान उसैले पाउँछ जो राष्ट्रका लागि केही गरेर जान्छ ।
