शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • अर्थ/वाणिज्य
  • नेपालले फेरि पायो बीबी माइनस रेटिङ

नेपालले फेरि पायो बीबी माइनस रेटिङ

  • बुधबार, मंसिर ४, २०८२
नेपालले फेरि पायो बीबी माइनस रेटिङ

मुलुकको सार्वभौम क्रेडिट रेटिङमा नेपालले सन् २०२५ लागि बीबी माइनस प्राप्त गरेको छ । गत वर्ष पनि नेपालले सोही रेटिङ प्राप्त गरेको थियो । पछिल्ला महिनाहरूमा देखिएको सामाजिक, राजनीतिक चुनौति, वर्षाजन्य प्राकृतिक विपत्ति र विश्वव्यापी आर्थिक सुस्तता जस्ता परिस्थितिका बीच पनि गत वर्षको जस्तै रेटिङ कायम रहनुले नेपालको दीर्घकालीन दायित्वहरू पूरा गर्ने क्षमतालाई अन्तर्राष्ट्रिय रूपमा पुनः प्रमाणित गर्नुका साथै समष्टिगत आर्थिक स्थायित्व स्थिर र बलियो रहेको पुष्टि गर्दछ ।

चुनाव केन्द्रित खर्च तथा अनिश्चितता बढ्ने सम्भावनाबीच पनि सरकारले अपनाएको वित्तीय अनुशासन, राजस्व व्यवस्थापनमा सुधार, उचित खर्च प्राथमिकता, समयमै चुनाव सम्पन्न गर्ने प्रतिबद्धता र रणनीतिक परियोजनाहरूलाई अवरोध रहित रूपमा निरन्तरता दिने नीतिले अन्तर्राष्ट्रिय समुदायमा नेपालप्रतिको विश्वास मजबुत बनाएको अर्थ मन्त्रालयले जनाएको छ । साथै, नेपालले प्राप्त गरेको यो रेटिङले मुलुक भित्र स्थिर तथा सकारात्मक आर्थिक आधार तयार हुँदै गएको स्पष्ट सङ्केत दिएको छ ।

मुलुकभित्र वैदेशिक लगानी बढाउन, अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग सहकार्य विस्तार गर्न र भविष्यमा अन्तर्राष्ट्रिय वित्तीय बजारमा नेपालले आफ्नो सार्वभौम ऋण जारी गर्दा आवश्यक पर्ने स्थिर क्रेडिट प्रोफाइल कायम राख्‍न यो रेटिङले मद्दत पुर्‍याउने अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले बताएका छन् । विशेषगरी ऊर्जा, पूर्वाधार, पर्यटन, कृषि र डिजिटल अर्थतन्त्रमा हुने दीर्घकालीन लगानी आकर्षणका लागि रेटिङ स्थायित्व अत्यन्त महत्त्वपूर्ण सूचकको रुपमा रहेको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार