शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बुढिनन्दा
  • राजनीतिक भागबण्डामा थला परेको बुढीनन्दा क्याम्पस

राजनीतिक भागबण्डामा थला परेको बुढीनन्दा क्याम्पस

  • आइतवार, कार्तिक ३, २०८२
राजनीतिक भागबण्डामा थला परेको बुढीनन्दा क्याम्पस

यस लेखको आशय कुनै व्यक्ति वा संस्थाको विरोध गर्नु नभई क्याम्पसको शैक्षिक, भौतिक, आर्थिक र मानविय अवस्थाको सुधारका लागि हो । क्याम्पसका बारेमा बिगत बर्षहरुमा सामाजिक संजाल र पत्रपत्रिकामा लेखेपनि हामी जस्ता भुईमान्छेका सवाललाई क्याम्पस व्यवस्थापनले सुधारका लागि चासो नदेखाएका कारण पुःन लेख्दै छु । यसपटक सरोकारवाला निकायको ध्यानाकर्षण होस र जिल्ला स्थित राजनीतिक दल, नेतृत्व बर्ग, शिक्षा क्षेत्रका अगुवा, पत्रकार र सेवा क्षेत्रका नागरिकले सामाजिक दबाव सृजना गरेर क्याम्पसको समग्र पक्षको सुधारका लागि ठोस पहल गर्नुहुनेछ भन्ने आशा राखेको छु ।

बाजुराको पुर्वि क्षेत्र, बिच क्षेत्र र पश्चिम क्षेत्रमा तिनवटा क्याम्पस संञ्चालन हुनु भुगोल र जनसंख्याको हिसावले उपयुक्त देखिन्छन् । जिल्ला बाहिर जान नसक्ने गरिवका छोराछोरीले सर्वसुलव र गुणस्तरीय शिक्षा प्राप्त गरुन भन्ने उद्धेश्यले बाजुराका राजनीतिक दलका नेतृत्व बर्ग, बुद्धिजीवि, शिक्षा प्रेमी, शिक्षक, कर्मचारी, व्यापारी र समुदायको अगुवाईमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धन लिएर साविकको कुलदेवमाण्डौ गाविसको फालासैनमा वि.स.२०५७ सालमा पुर्व माननिय देवराज जोशीको अध्यक्षतामा बडिमालिका क्याम्पस, साविक मार्तडी गाविसको मार्तडीमा वि.स.२०६३ सालमा जंग बहादुर थापाको अध्यक्षतामा बाजुरा क्याम्पस र साविक कोल्टी गाविसको कोल्टीमा जनप्रकाश मा.वि.का विद्यालय व्यवस्थापन समिति अध्यक्ष बलदेव रेग्मीको अध्यक्षतामा बुढीनन्दा क्याम्पस स्थापना भएको हो । तिनवटै क्याम्पसको वर्तमान अवस्थाका बारेमा संक्षिप्तमा उल्लेख गर्न गइरहेको छु ।

वि.स.२०५७ सालमा मानविकी सङ्कायबाट पठनपाठन आरम्भ गरेको बडिमालिका क्याम्पसमा वि.स.२०६३ मा शिक्षाशास्त्र र वि.स.२०६७ मा व्यवस्थापन सङ्कायको पठनपाठन सञ्चालन गरी नेपाल सरकारको निर्णय वमोजिम वि.स.२०७५ साल श्रावण १ गते देखि सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसको रुपमा सञ्चालनमा रही शिक्षाशास्त्र, मानविकी र व्यवस्थापन सङ्कायका विषयहरु पठनपाठन गराइरहेको छ। शिक्षाशास्त्र सङ्कायमा अंग्रेजी, जनसङ्ख्या, नेपाली, स्वास्थ्य तथा शारिरिक र कम्प्युटर,मानविकी सङ्कायतर्फ अंग्रेजी, राजनीतिशास्त्र, नेपाली, समाजशास्त्र, अर्थशास्त्र र व्यवस्थापन सङ्कायमा वित्तशास्त्र, लेखा, बजारशास्त्र जस्ता विषयहरु पठनपाठन भइरहेका छन् । विभिन्न सङ्कायमा गरी ४०० जना विद्यार्थीहरु नियमित अध्ययन गरिरहेकाछन् भने हाल सम्म ५०० भन्दा बढी विद्यार्थीहरुले स्नातक तह उतिर्ण गरिसकेका छन् । क्याम्पसको भौतिक पुर्वाधार तर्फ तिनवटा पक्की भवन,कम्प्युटर ल्याब, खेल मैदान, पुस्तकालय र सातकोठे छात्रा छात्रावासका लागि भवन तयारी अवस्थामा रहेकोछ । क्याम्पसले शैक्षिक गुणस्तर सुधारका लागि आन्तरिक गुणस्तर सुनिश्चितता समिति,अनुसन्धान व्यवस्थापन समिति,शैक्षिक व्यवस्थापन सूचना प्रणाली समिति, शिक्षण समिति,विद्यार्थी गुणस्तर समिति,सृजना तथा अतिरिक्त क्रियाकलाप समिति र सूचना तथा परामर्श समिति निर्माण गरेको देखिन्छ । त्यस्तै जनशक्तिको हिसावले १४ जना उपप्राध्यापकमा ७ जना स्थायी, ३ जना अस्थायी, ४ जना करार र कर्मचारीहरुमा ४ जना स्थायी कर्मचारी र १ जना अस्थायी कर्मचारी रहेकाछन् । क्याम्पसको संस्थापक अध्यक्ष पुर्व प्रदेश प्रमुख देवराज जोशी हुदै देव बहादुर थापा र प्रकाश शाहले अध्यक्षको जिम्मेवारी र क्याम्पस प्रमुखमा रंग बहादुर खाती, नवराज जैशी, बीर बहादुर कटुवाल हुदै हाल नर बहादुर कटुवाल क्याम्पस प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ । बडीमालिका क्याम्पसमा अध्ययन गरेका नर बहादुर कटुवाल सोही क्याम्पसको क्याम्पस प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ । सुमित्रा खाती, सत्य थापा, डम्म कुमार थापा, बल बहादुर थापा, मान बहादुर बडुवाल, नवराज न्यौपाने, विस्ना कुमारी जोशी र मना कुमारी रेग्मी शिक्षक सेवा आयोगको परिक्षा पास गरेर शिक्षण पेशामा आवद्ध छन् भने निजामति सेवा तर्फ डम्म बहादुर थापा शिक्षा अधिकृत, बिष्णु जैसी स्वास्थ्य संयोजक र बसन्ती जोशी खरिदार पदमा कार्यरत हुनुहुन्छ । नियमित पठनपाठन हुनुका साथै क्याम्पस विश्वविद्यालयको नीति र अनुदान अनुदानमा चलिरहेको छ ।

वि. स. २०६३ सालमा शिक्षाशास्त्र संकायबाट पठनपाठन शुरु गरेको बाजुरा क्याम्पसमा वि. स. २०६६ सालमा मानविकी र वि. स. २०६७ सालमा व्यवस्थापन संकायको पठनपाठन सुरुवात गरिएको थियो । संस्थापक अध्यक्ष जंग बहादुर थापा, कार्यवहाक अध्यक्ष पदमबहादुर बडुवाल हुदै दुई कार्यकाल तुलाराम जैशीले अध्यक्ष भएर काम गर्नु भएको थियो । क्याम्पस प्रमुखमा बीर बहादुर कटुवाल, सुरेश प्रसाद पण्डित र हाल रूप बहादुर रौले क्याम्पस प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ । वि. स. २०७५ साल श्रावण १ गतेदेखि सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसको रूपमा समायोजन पश्चात क्याम्पसमा ४४९ जना विद्यार्थीहरुले हाल पठनपाठन गरिरहेका छन् । क्याम्पसमा ५ जना उपप्राध्यापक स्थायी, ७ जना शिक्षण सहायक करार, ४ जना स्थायी कर्मचारी, ४ जना आंशिक शिक्षक र २ जना ज्यालादारी कार्यालय सहयोगी गरि जम्मा २२ जना जनशक्ति रहेको छ । क्याम्पसमा स्नातक तहमा शिक्षाशास्त्रः नेपाली, अङ्ग्रेजी र स्वास्थ्य तथा शारीरिक शिक्षा, मानविकीशास्त्र सङ्कायः विकास अध्ययन र समाजशास्त्र र व्यवस्थापन सङ्काय, स्नातकोत्तर नेपाली एम. एड. पाठ्यक्रम योजना र नेतृत्व (ऋएी) एम. एड. विकास अध्ययन एम.ए.का विषयहरु पठनपाठन भइरहेकाछन् । क्याम्पसबाट उत्पादितमा जनशक्तिमा नेपाली काँग्रेसका पार्टी सभापति रामसिंह रावल, गौमुल गाउँपालिका अध्यक्ष हरिबाहादुर रोकाया, जिल्ला समन्वय समितिका सभापति नरेन्द्र बहादुर रोकाया, नेकपा समाजवादीका जिल्ला अध्यक्ष पुर बहादुर रावत र नेपाल शिक्षक संघका अध्यक्ष प्रेमलाल पाध्या स्नातक तहमा अध्ययन गरेका विद्यार्थी हुन् । हरि बहादुर रोकायाले बाजुरा क्याम्पसका पहिलो स्ववियू सभापतिको जिम्मेवारी समाल्नु भएको थियो ।सरकारी सेवामा प्रवेश गर्नेहरूमा खप्तडछेडेदह गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत नन्दकृष्ण जोशी,बडीमालिका नगरपालिकाका विद्यालय निरीक्षक रंगमल वि. क., प्रा. स. राजेन्द्र रोकाया लगात धेरै जना निजामती सेवामा प्रवेश गरेकाछन् भने क्याम्पसमा अध्ययन गरेका १०० जना भन्दा बढी विद्यार्थीहरु शिक्षक सेवा पास गरेर शिक्षण पेशामा प्राथमिक, निम्न माध्यमिक, माध्यमिक र उच्च माध्यमिक तहसम्म कार्यरत रहेकाछन् । मंगल धामीले माध्यमिक तहमा नाम निकालेर मषटेश्वरी माविको प्रधानाध्यापम पदमा कार्यरत हुनुहुन्छ । सामाजिक तथा अन्य पेशामा क्रियाशिल व्यक्तिहरूमा देवेन्द्र शाह, शेरबहादुर शाही र सन्तोषी शाह, पत्रकारिता क्षेत्रमा कृष्ण ओली, अनिल शाही, निमेन्द्र शाही, नहकुल जोशी र मदन जैशी बाजुरा क्याम्पसकै उत्पादन हुन् । क्याम्पसमा अध्ययन अध्यापनका लागि जिल्लाका सबै स्थानीय तह र जिल्ला बाहिरबाट पनि पठनपाठनका लागि आउने गरेकाछन् । क्याम्पसको भौतिक अवस्थामा दुईवटा प्रशासनिक भवन, पुस्तकालय, दुई वटा कार्यक्रम हल र ७ करोड ५८ लाखको लागत इस्टिमेटमा २० कोठा चार तला भएको भवन निर्माणाधिन अवस्थामा रहेको । क्याम्पसमा सबै विषयको पठनपाठन नियमित हुने गरेको र क्याम्पसको गुणस्तर सुधारका लागि विभिन्न विभाग र समिति गठन गरेर जिम्मेवारी हस्तान्तरण गरिएको छ ।

बाजुरा जिल्लाका साविक एघार गाविस, हुम्ला, मुगु र कालिकोटका आर्थिक अवस्था न्युन भएर उच्च शिक्षा हाँसिल गर्न नसकेका विद्यार्थीहरुलाई लक्षित गर्दै वि.स.२०६३ साल माघमा दशबर्षे जनयुद्धबाट शान्ति सम्झौतामा देश गइरहेको अवस्थामा राजनीतिक संयन्त्रका माध्यमबाट बुढीनन्दा क्याम्पस स्थापनाका लागि जनप्रकाश माद्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलदेव रेग्मी अध्यक्ष र एघार गाविसबाट प्रतिनिधित्व हुने गरी क्याम्पस व्यवस्थापनको तदर्थ समिति गठन गर्नुका साथै जनप्रकाश उ.मा.वि.का प्रधानाध्यापक अनोजराज गिरीलाई क्याम्पस प्रमुखको जिम्मेवारी दिएर क्याम्पस संञ्चालन गरिएको थियो । त्रिभुवन विश्वविद्यालय बाट वि.स.२०६३ सालमा अनुमति लिएर वि.स.२०६४ साल बाट बुढीनन्दा क्याम्पसमा मानविकि संकायमा समाजशास्त्र¸ अंग्रेजी, नेपाली र जनसंख्या बिषयको पठनापाठन र वि.स. २०६७ बाट शिक्षा संकायमा अंग्रेजी, नेपाली, जनसंख्या ,गणित र शिक्षा बिषयको पठनपाठन भइरहेकोछ ।

क्याम्पस व्यवस्थापन समितका रहेका सदस्यको विवरण
अध्यक्ष – बलदेब रेग्मी
उपाध्यक्ष – मन बहादुर बिष्ट
सदस्य – गोरख बहादुर मल्ल
सदस्य – रण बहादुर अधिकारी
सदस्य – नन्दलाल बोहरा (मृत्यु भइसकेको)
सदस्य – प्रतापे आउजी
सदस्य – रेलकला बिष्ट
सदस्य – नन्द बहादुर रोकाया
सदस्य – लोकराज रेग्मी (तिन बर्ष अगाडी राजिनामा दिनु भएको)
सदस्य – गम्म महतारा
सदस्य – हरिचन्द्र रेग्मी (पछि मनोनित गरिएको)
सदस्य सचिव – अनोजराज गिरी –जनप्रकाश उ.मा.वि.का प्रधानाध्यापक

गणतन्त्र हुदै लोकतन्त्र सम्म आइपुग्दा दुई पटक संविधान सभाको चुनाव, दुई पटक स्थानीय, प्रदेश र संघिय सरकारको चुनाव भएर देश एकात्मक व्यवस्थाबाट संघिय शासन प्रणालीमा गएर राज्यका हजारौ संरचनामा फेरबदल भैसक्दा पनि बुढीनन्दा क्याम्पसको व्यवस्थापन समिति पहिलेकै राजनीतिक संयन्त्रका आधारमा चलिरहेको छ । कानुनतह क्याम्पस संचालक समितिको पदावधि तिन बर्षको भएपनि तदर्थ समिति उन्नाइस बर्ष सम्म फेरबदल भएको देखिदैन । क्याम्पस संचालनका लागि संरक्षक, सल्लाहकार, संचालक समिति गठन हुनुपर्ने, विभिन्न समिति, कार्यक्रम संयोजक र विभागिय प्रमुखको नियुक्ती गर्ने, क्याम्पस संचालन नियमावलीमा व्यक्तिगत हित हुनेगरि कार्यगर्न पाइने छैन र क्याम्पसको विकास र हितलाई सर्वोपरि प्राथमिकता दिनु पर्नेछ भनेर स्पष्ट रुपमा उल्लेख गरिएको भएपनि बुढीनन्दा क्याम्पसको हकमा त्यो लागु भएको देखिदैन । क्याम्पस स्थापनाताका काम गरेका कर्मचारी र पार्टटाइप पठनपाठन गराइरहेका उपप्राध्यापकहरुलाई आन्तरिक विज्ञापन गरेर करारमा नियुक्ति गरिएकोछ । क्याम्पसले पुर्णकालिन क्याम्पस प्रमुख नियुक्ति गर्न सकेको देखिदैन । वि. स. २०८१ माघमा उमेर हदका कारण माद्यमिक तहको प्रथम श्रेणीबाट अवकाश हुनु भएका जनप्रकाश उमाविका प्रधानाध्यापक अनोजराज गिरी वि. स.२०६३ सालबाट हाल सम्म क्याम्पस प्रमुखको जिम्मेवारीमा रहनु भएको छ । क्याम्पसमा मानविकी संकाय तर्फका उपप्राध्यापकको भर्ना नै गरिएको छैन । भने शिक्षा संकायको बर्षमा लगभग तिन महिना मात्र पठनपाठन हुने गरेको र मानविकी संकायको त पढाई नै हुदैन । बुढीनन्दा क्याम्पसमा अध्यापन गराइरहनु भएका उपप्राध्यापक र कर्मचारीको नत पेशाको सुनिश्चितता छ नत आकर्षक तलव नै ।

बुढीनन्दा क्याम्पस स्नातक तहको प्रमाण–पत्र आवश्यक पर्ने विद्यार्थीहरुको रोजाइमा परेको हुनाले अहिले जिल्ला बाहिरबाट पनि विद्यार्थीहरु भर्ना भएका छन् भने कुण्डा क्षेत्रका विद्यार्थीहरु राम्रो पढाई हुदैन भनेर जिल्ला बाहिर र बाजुरा क्याम्पसमा भर्ना भएर पढिरहेकाछन् । अघिल्लो बर्ष कार्यालयको कामको शिलशिलामा जगन्नाथ गाउँपालिकाको ५, नं वडा कार्यालय गोत्रीमा जाँदा एकजना भाई वडा कार्यालयको छतमा बसेर एकाग्रता पुर्वक मोवाइल चलाईरहेको देखे र सोधे ।
के गरेको भाई ?
प्रश्न हल गर्दै छु ।
के को नि ?
स्नातक तहको ।
खै त प्रश्न ?
म्यासेन्जसरमा भर्खर पठाएको छ ।
कसले पठाएको ?
दाईले ।
दाई कहाँ हुनुहुन्छ ?
बुढीनन्दा क्याम्पसमा परिक्षा दिइ रहनु भएको छ ।
प्रश्न कसरी हल गर्छौ नि ?
च्याट जिपिटीबाट।
आउछ त ?
धेरै प्रश्न हल गरेर पठाइ सके ।

केहि समय पछि परिक्षार्थी दाईको नाम सोधे र आफ्नो काममा फर्किए त्यसको केहि महिना पछि त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशन गर्यो । परिक्षा दिने परिक्षार्थीले राम्रो नम्बर ल्याएर पास भएपछि बधाई कसलाई दिने भन्ने अन्योलका बिच मनमा अहिलेपनि कुरा खेलिरहेको छ । गाउँमा बसेर च्याट जिपिटि मार्फत प्रश्न हल गरेर उत्तर पठाउनेलाई दिने कि ? बुढीनन्दा क्याम्पसको कक्षाकोठामा बसेर मोवाइलबाट उत्तर सार्ने परिक्षालाई दिने की ? परिक्षाका लागि यति राम्रो वातावरण बनाईदिने क्याम्पस व्यवस्थापन र प्रशासनलाई दिने ? शिक्षा शास्त्रको पठनपाठन हुने भएपनि अभ्यास शिक्षण औपचारिकतामा मात्र सिमित हुने गरेको देखिन्छ ।

बुढीनन्दा क्याम्पसको क्याम्पस प्रमुखमा अनोजराज गिरी, सहायक क्याम्पस प्रमुख ढक्कराज गिरी, उपप्राध्यापकहरु जयदेव देबकोटा, कर्ण बिष्ट र भुवनराज रेग्मी कर्मचारीहरुमा लेखापाल जन्मराज रेग्मी कार्यालय सहयोगी ओब्जन आउजी, बासुदेव रेग्मी र चौकीदार अमृत सार्कीले काम गरिरहनु भएको छ । विगतमा बुढीनन्दा क्याम्पसमा अध्यापन गराउनु हुने सहायक क्याम्पस प्रमुखको मासिक तलव रु ३१,०००। र उपप्राधापकहरुले रु २५,०००। मा काम गरिरहनु भएको थियो भने वि. स. २०८२ भाद्र १२ गते कोल्टी दरबार होटलमा बसेको क्याम्पस व्यवस्थापन समितिको बैठकले प्राध्यापक र कर्मचारीहरुको सेवासुविधा बृद्धि गरेर सहायक क्याम्पस प्रमुखको मासिक तलव रु ४०,०००। र अन्य उपप्राध्यापकहरुको मासिक तलव रु ३५,०००। र अन्य कर्मचारीहरुको मासिक तलव रु १५,०००। देखि रु २५,०००। सम्म बृद्धि गरेको छ । नेपाल सरकारले निर्धारण गरेको तलव स्केल भन्दा न्यूनतम तलवमा काम गर्नुपर्दा कुन जोस जाँगरले पठनपाठन गराउनु हुन्छ होला ? क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुमा बि. एड. प्रथम बर्षमा ११२ जना, दोस्रो बर्षमा १५० जना, तेस्रो बर्षमा १२३ जना र चौथो बर्षमा १३५ जना र मानविकी संकाय वि. ए. प्रथम बर्षमा १० जना, दोस्रो बर्षमा १६ जना, तेस्रो बर्षमा १६ जना र चौथो बर्षमा ५ जना गरी जम्मा ५६७ जना विद्यार्थीहरुले हाल क्याम्पसमा पठनपाठन गरिरहेका छन् । अध्ययनरत विद्यार्थीहरुले बार्षिक शुल्क रु १४,०००। तिरेर अध्ययन अध्यापन गरिरहेका छन् । क्याम्पसको भौतिक अवस्थामा क्याम्पसमा ६ वटा भवन भएपनि ४ वटा भवन मात्र प्रयोग गर्न सकिने अवस्थाका रहेका, फर्निचर ,पुस्तकालय क्ष्ऋत् ीबद को व्यवस्था रहेको छ । बुढीनन्दा क्याम्पसबाट दिपेन्द्र पाण्डे, टिका प्रशाद उपाध्याय, राम दत्त न्यौपाने र दिलिप कुमार शाही स्नातक तह अध्ययन गर्नु भएको थियो । बुढीनन्दा क्याम्पसको गुणस्तरमा सुधार गर्न सकेमा हुम्ला, मुगु, कालिकोट र बाजुराका चारवटा स्थानीय तहका १२ वटा उच्च मा. वि. का विद्यार्थीहरुलाई पढन आउने खालको वातावरण बनाउन सकेमा बुढीनन्दा क्याम्पसलाई शैक्षिक हवको रुपमा विकास गर्न सकिन्छ । अहिले क्याम्पसको प्रशासनिक र व्यवस्थापन खर्च विद्यार्थीबाट उठेको शुल्क र विश्वविद्यालयबाट प्राप्त अनुदानले धानेको भने विश्वविद्यायलय बाट प्राप्त अनुदान र विद्यार्थीबाट उठेको शुल्कको सार्वजनिक सुनुवाई गरेको देखिदैन ।

बुढीनन्दा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आगिंक क्याम्पस बनाउने कुरामा मैले सत्तरीको दशकमा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष संग कुरा गर्दा उहाँले त्रिभुवन विश्वविद्यालयको आगिंक क्याम्पस बनाएरै छोड्ने, नबनाउन्जेल सम्म पद पनि नछोडने र आगिंक क्याम्पस बनाएको दिन नै जिम्मेवारी हस्तारण गर्ने कुरा बताउनु भएको थियो । असिको दशक सम्म आइपुग्दा आगिंक क्याम्पस बनाउनका लागि कुनै पनि पहल नगरेको र जिम्मेवारी पनि हस्तान्तरण गरेको देखिदैन । क्याम्पसको अध्यक्ष भएपश्चात दुई पटक नेकपा एमालेको पार्टी सचिव, एक पटक सुदूरपश्चिम प्रदेशको प्रदेश सभा सदस्य र अहिले पनि पार्टीको प्रमुख जिम्मेवारी हुनुहुन्छ । जिम्मेवार पदमा रहेर पनि क्याम्पसको सुधारका लागि पदिय जिम्मेवारी अनुसारको काम गरेको देखिदैन । संगै स्थापना भएका बडिमालिका क्याम्पस र बाजुरा क्याम्पसले असल नेतृत्व र कुशल व्यवस्थापक पाएका कारण सुदूरपश्चिम विश्वविद्यालयको आगिंक क्याम्पस भएर स्नातक र स्नातकोत्तर पहको विभिन्न विषय र संकायको पठन पाठन हुनुका साथै प्रयाप्त पुर्वाधार र जनशक्तिको व्यवस्थाका कारण नियमित पठनपाठन हुने गरेको छ ।

जिल्ला स्थित राजनीतिक दल र जनप्रतिनिधिले विद्यालय तह देखि क्याम्पसमा अध्ययन गरिरहेका वालवालिका अबको पाँच बर्ष पछि हाम्रा मतदाता हुन भन्ने कुराको मनन गरेको देखिदैन् ।अहिलेको समय विज्ञान र प्रविधिको भएको हुनाले कसले के गरिरहेको छ छिन भरमै संसारभरी फैलिन्छ । युवा पुस्ताले कामको मुल्याङ्कनका आधारमा व्यक्ति र पार्टीको छनौट गर्ने अधिकार स्वयंमलाई भएको हुँदा नेतृत्वले काम गरेर देखाउने समय हो । बाजुराका जनप्रतिनिधि र राजनीतिक दलका नेतालाई हजारौ विद्यार्थीको भविष्य भन्दा दश जना मतदाता र एक जना कार्यकर्ताको संरक्षणमा बढी जोड दिएको देखिन्छ । जिल्ला स्थित राजनीतिक दलले भागबण्डामा बनेको समितिलाई अहिले सम्म संरक्षण गरेर राखेका कारण बुढीनन्दा क्याम्पसको शैक्षिक, भौतिक, र आर्थिक अवस्था आधारभुत विद्यालय जत्तिको पनि देखिदैन । क्याम्पस व्यवस्थापन समितिमा रहेका अधिकाँश पदाधिकारी २०८४ सालमा हुने स्थानीय, प्रदेश सभा र प्रतिनिधि सभाको चुनावका लागि दौरासुरुवाल सिलाउने तयारी गरेको सुनिन्छ । १९ बर्ष सम्म क्याम्पस व्यवस्थापन समितिमा रहेर सुधारका लागि देखिने खालको काम नगरेका सदस्यले जनप्रतिनिधि भएर जनताको जीवनस्तरमा के सुधार गर्लान ? क्याम्पसको सुधारका लागि पहल गर्नु भयो भने जनताले पुन निर्वाचित गराउन सक्छन् । बुढीनन्दा क्याम्पस व्यवस्थापन समितिका पदाधिकारी स्वभाविक प्रक्रियाका आधारमा पद छोडने नदेखिएको हुँदा बाजुरा स्थित राजनीतक दल नेकपा एमालेका अध्यक्ष लाल बहादुर ओली, नेपाली काँग्रेसका सभापति रामसिंह रावल, माओवादीका अध्यक्ष देविचन्द्र बुढा, नेकपा समाजवादीका अध्यक्ष पुर बहादुर रावत, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति नवराज जैसी र राष्ट्रिय प्रजातन्त्र पार्टी जीत बहादुर शाहीले बुढीनन्दा क्याम्पसको स्थलगत अनुगमन गरिदिन र बाजुराको प्रदेश (क) का जनता पनि हजुरका मतदाता भएकोले अनुगनमा देखिएका विषयबस्तुको आर्थिक, शैक्षिक, भौतिक, संस्थागत सुधारका लागि पार्टीमा नीतिगत निर्णय र सकारात्मक सुधारका लागि पहल गरिदिन अनुरोध गर्दछु ।

हाल त्रिभुवन विश्वविद्यालयका आगिंक क्याम्पस ६२ र सम्बन्धन प्राप्त क्याम्पस १०६० रहेकाछन् । (स्रोत – शैक्षिक सूचना २०८१) भने त्रिभुवन विश्वविद्यालयले सम्बन्धन प्राप्त क्याम्पसलाई आगिंक बनाउने नीति नै हटाइ सकेको र आगिंक बनाउने नै भएपनि बुढीनन्दा क्याम्पसको न्यूनतमप पुर्वाधार पनि नपुग्ने भएको हुनाले आगामी दिनमा सुदूरपश्चिम विश्वविद्यालयको आगिंक क्याम्पस बनाउनका लागि तत्काल समयमा साधारण सभा, सार्वजनिक सुनुवाई, आर्थिक संकलन, भौतिक पुर्वाधार निर्माणमा जोड, शैक्षिक गुणस्तरमा सुधार, मानव जनशक्तिको परिपुर्ति, कानुनी स्पष्टतता र समुदाय परिचालनका लागि स्वतन्त्र विद्यार्थी युनियन, जनप्रतिनिधि, राजनीतिक दल र सेवा क्षेत्रका नागरिकले एकताबद्ध भएर अगाडी बढ्नुपर्ने देखिन्छ ।

लक्ष्मण जोशी
बुढीनन्दा नगरपालिका वडा १, साउनेगाँउ

चर्चामा

सम्बन्धित समाचार