शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • विचार/ब्लग
  • बाजुराको अनुपम उपत्यका : रानीसैन

बाजुराको अनुपम उपत्यका : रानीसैन

  • आइतवार, अशोज १९, २०८२
बाजुराको अनुपम उपत्यका : रानीसैन

नेपालको सुदूरपश्चिम प्रदेश प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदाले भरिएको भूभाग हो। हिमाल, पहाड, तराई सबैलाई समेटेको यो प्रदेश केवल भौगोलिक विविधताकै कारण होइन, अद्वितीय सौन्दर्य र ऐतिहासिक–धार्मिक महत्वका कारण पनि विशेष छ। तर, यी सम्पदाबीच अझै पनि राज्यको ध्यान पाउन नसकेको एक अनुपम धरोहर छ—रानीसैन, जुन बाजुरा जिल्लाको हिमाली गाउँपालिका–३ मा अवस्थित छ।

रानीसैनलाई हेर्दा लाग्छ—धरतीमा फैलिएको एक सानो स्वर्ग हो। झण्डै ४४ सयदेखि ५ हजार मिटर उचाइमा फैलिएको यो उपत्यका चारैतिर सेता हिमालले घेरेको छ। बिहानैदेखि हिमालको टुप्पोमा परेको घामको सुनौलो किरण र उपत्यकामा पस्ने हिमशीतल हावा यहाँ पुग्ने जो कोहीलाई मन्त्रमुग्ध पार्छ।

डाँडामाथि फुल्ने रङ्गीचङ्गी जंगली फूल, हिउँ पग्लिएर बग्ने चिसो खोला र त्यसमाथि उड्ने चराहरूले यो स्थानलाई जीवित चित्रजस्तै देखाउँछन्। यति मनमोहक छ यहाँको दृश्य, जसलाई शब्दले पूर्ण रूपमा समेट्न गाह्रो पर्छ।

स्थानीय बासिन्दाले यसलाई “बाजुराको उपत्यका” पनि भन्ने गर्छन्, किनकि चारैतिर डाँडा र हिमालबीच समथर जमिनमा फैलिएको यो ठाउँ साँच्चै उपत्यकाको जस्तै भास हुन्छ।

रानीसैन केवल प्राकृतिक उपहार मात्र होइन, यो धार्मिक आस्थाको केन्द्र पनि हो। प्रत्येक वर्ष बाजुरा र हुम्लाका बौद्ध धर्मावलम्बीहरू यहाँ जम्मा हुन्छन्। यहाँ अवस्थित ठूलो गुम्बा उनीहरूको पूजाआस्थाको केन्द्र बनेको छ। वार्षिक पूजाआजा र मेलामा हजारौँ भक्तजनको सहभागिता हुन्छ, जसले यस स्थानलाई धार्मिक पर्यटनको दृष्टिले समेत महत्त्वपूर्ण बनाएको छ।

स्थानीय पालिकाले हरेक वर्ष गुम्बा व्यवस्थापनका लागि करिब दुई लाख रुपैयाँ छुट्याउने गरेको छ। पूजाआजा, मेलामहोत्सवका बेला भक्तजनलाई बास र खानपिनको व्यवस्थापन यसै बजेटबाट हुने गर्दछ।

रानीसैनमा पुग्ने पर्यटकहरू भन्छन,हामी स्वर्गमै पुगेझैँ लाग्छ।यहाँको हरियाली, हिमशृङ्खला र जडीबुटीले सजिएको उपत्यकाले पर्यटकलाई मन्त्रमुग्ध पार्छ।

यदि उचित संरक्षण र प्रवर्द्धन गरियो भने, रानीसैनले बाजुरालाई विश्व पर्यटन नक्सामा चिनाउन सक्छ। जस्तै राराले मुगुलाई चिनाएको छ, खप्तडले सुदूरपश्चिमलाई चिनाएको छ, त्यसैगरी रानीसैनले बाजुरालाई चिनाउने क्षमता राख्छ।

तर, हालसम्म यस स्थानमा सडक, धर्मशाला, व्यास क्याम्प, पदमार्ग, होटल–लज जस्ता संरचना बनेका छैनन्। त्यसैले धेरै पर्यटकहरू केवल सुन्ने गर्छन्, तर पुग्न सक्दैनन्।

अछामको साँफेबगरदेखि बाजुराको मार्तडी ५७ किलोमिटर, मार्तडीदेखि कोल्टी ४२ किलोमिटर र कोल्टीदेखि हिमाली गाउँपालिका–३ को धुलाचौरसम्म १६ किलोमिटर दूरी छ। पहिले यहाँ पुग्न सात दिनसम्म लाग्थ्यो। अहिले आंशिक सडक पुगेको कारण पैदल यात्रामा दुई–तीन दिनमै पुग्न सकिन्छ।

तर अझै पनि यहाँसम्म पुग्ने बाटो दुर्गम छ, बास बस्ने सुविधा छैन। यो अवस्थामा सामान्य पर्यटकले सहजै यात्रा गर्न सक्दैनन्।

रानीसैन जडीबुटीको भण्डार हो। हिमाली चिसोमा फुल्ने दुर्लभ वनस्पति र औषधिजन्य बिरुवा यहाँ प्रशस्त पाइन्छन्। तर, उचित व्यवस्थापन नहुँदा चोरी निकासी हुने गरेको छ। यसको दीर्घकालीन संरक्षणका लागि यहाँ प्रहरी चौकी वा सुरक्षा पोस्ट स्थापना गर्ने माग स्थानीयले बारम्बार गर्दै आएका छन्।

स्थानीय सरकारले यहाँसम्म पुग्ने गोरेटो बाटो बनाएको छ र गुम्बाको व्यवस्थापनमा सहयोग गरेको छ। तर प्रदेश र संघीय सरकारले भने अझैसम्म कुनै ठोस कदम चालेका छैनन्।
उद्योग, वन तथा पर्यटन मन्त्रालयमा पटक–पटक निवेदन गए पनि अहिलेसम्म सुनुवाइ भएको छैन। यस कारण यो अनुपम धरोहर लोप हुने खतरा बढ्दै गएको छ।

रानीसैन केवल बाजुराको मात्र नभई, सम्पूर्ण नेपालको सम्पत्ति हो। यो स्थानले प्रकृति, संस्कृति र पर्यटनलाई एकैसाथ बोकेको छ।

यदि समयमै यसको संरक्षण गरिएन भने, यो धरोहर हराउने छ। तर, यदि आजैदेखि पहल गरियो भने, रानीसैनले एकदिन बाजुरालाई मात्र होइन, सम्पूर्ण सुदूरपश्चिम र नेपाललाई विश्व नक्सामा चिनाउनेछ।
स्थानिय भनाइ अनुसार
“राराले मुगुलाई चिनाएको छ भने, रानीसैनले बाजुरालाई चिनाउनेछ।”

चर्चामा

सम्बन्धित समाचार