
आफ्नो हालत बदल्न
आमाले निधार छोएर
पढ्न पठाएका छोराहरू
सपना बोकेर किताबका अक्षरहरूमा
जीवन खोज्दै
दशैंमा आमालाई भेट्ने
अशिलाषा मनमा लिई
पुगे त्यो शहरमा ।
परिवारको अवस्था बदल्ने
सोच्दै पढ्दै
दिनहरू बित्दै
दशैँ नजिकिँदै गर्दा
एक्कासी,
शहरमा आन्दोलनको जुलुस
भएको
देखी सामाजिक सञ्जालमा
फोन गर्दै साँझपख मेरी आमाले
छोरा! सावधान हुनु
आन्दोलन भएछ त्यहाँ
आमा, म दशैँमा घर आउँछु
टीका नलगाईकन त
चित्तै बुझ्दैन मलाई तपाईंको हातको
सकियो फोनमा कुराकानी
आज बाँचेर म
आमाको हातको टिका थाप्न
शहरबाट घर जाँदै गर्दा
आन्दोलनमा रक्ताम्मे भई
ढलेका ती साथीका शरीरहरू
मानसपटलमा ताजै घुमिरहेका छन्
ढलेका ती साथीका आमाले
शहर जानेबेला
दशैंको टिका थाप्न फर्किने भनेको
छोराको आवाज मात्र
गुञ्जिएको छ होला
रित्तिएको छ
ती आमाको कोख
शब्द छैन होला
धैर्य छैन होला
छोराको शोकले
हालत बदल्छ परिवारको छोराले
भन्ने ती आमाको सपना
केवल,
सम्झनाको ऋतु मात्र बन्यो होला
म घरमा पुग्दा
मेरी आमा जति हर्ष विभोर होलिन्
त्यति जसका छोराहरू फर्केनन्
ती आमाहरूमा रोदन र पीडाका
आँसुहरू पोखिएका होलान्
तब लाग्छ मलाई
मेरो टिका पनि फिक्का नै छ
घर जानु र नजानु उस्तै हो
सम्झिन्छु
ती रक्ताम्मे लासहरू
र अश्रुधारा बगाई
बाँचिरहेका ती आमाहरुलाई ।
लाग्छ,
देशको परिवर्तनका लागि
जलेका ती अनुहारहरू
ती आमाका छोराका होइनन्
ती हुन् त
नेपाल आमाका छोराका
छोरा मरेका होइनन् ती आमाका
कलुषित बन्न लागेको मातृभूमिलाई
बचाउने जीवित आत्मा हुन्
ती आमाका छोराहरू ।
त्यसैले,
ती आमाहरू
आज मौन होलिन्
तर भित्रभित्रै गुर्जिरहेकी होलिन्
सम्झिरहेकी होलिन्
गलतका विरुद्ध
विजयादशमीको टिका
छोराले देशका लागि लगायो भनी
आमा,
ती छोरालाई
मातृभूमिको इतिहासले
सधैं विजयको टिका लगाउने छ
यो देशले सोधिरहनेछ स्वयम्
सधैं खोजिरहने छ
ती सपूत छोराहरूलाई ।
आमा ती छोराहरू
मातृभूमि सफा गर्न
यस धर्तीमा पाइला टेकेका
राष्ट्रका नामका भनी लेखेका
देशका छोरा हुन्
धेरै नदुखाउनु मन आमा
मातृभूमिले सधैं
खुशी राख्नेछ
ती छोराहरुलाई
जसरी विजयादशमीमा
न्यायको विजय टिका लगाइन्छ
त्यसरी देशले ती छोराहरुलाई
सधैं विजयको टिका लगाइ रहनेछ आमा
टिका लगाइ रहनेछ आमा ।
