
गौरब विष्ट/काठमाडौँ– सिर्जनशील मिडिया ग्रुपको तेस्रो वार्षिकोत्सवको पावन अवसरमा आयोजित वार्षिकोत्सव विशेष कार्यक्रम जडिबुटीस्थित नरेफाट कोटदेवी माध्यमिक विद्यालयमा भव्य, सभ्य तथा अत्यन्तै स्मरणीय रूपमा सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा सभापति संगीत खरेल, प्रमुख अतिथि अर्जुन दहाल तथा विशिष्ट अतिथि कृष्ण प्रसाद पौडेल जस्ताघरेको गरिमामय उपस्थिति रहेको थियो। उहाँहरूको प्रेरणादायी मन्तव्यले उपस्थित सम्पूर्ण सहभागीहरूमा नयाँ ऊर्जा, उत्साह र सकारात्मक सोचको सञ्चार गरेको आयोजकले जनाएको छ। उहाँहरूको उपस्थितिले कार्यक्रमलाई अझ अर्थपूर्ण, उज्यालो र प्रभावशाली बनाएको थियो।
कार्यक्रममा सिर्जनशील मिडिया ग्रुपका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। विभिन्न सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुतिहरू, अनुभव आदानप्रदान, तथा समूहको तीन वर्षे यात्राका महत्वपूर्ण उपलब्धिहरूको समीक्षा प्रस्तुत गरिएको थियो। कार्यक्रममा समूहले विगत तीन वर्षमा गरेका गतिविधिहरू, भोगेका चुनौतीहरू र हासिल गरेका सफलताहरूलाई समेट्दै आगामी दिनका लक्ष्य तथा योजनाहरू समेत सार्वजनिक गरिएको थियो।
यस अवसरमा विशेष रूपमा निवर्तमान कार्यसमितिलाई सम्मान गरिएको थियो भने नवनिर्वाचित कार्यसमितिलाई औपचारिक रूपमा मनोनयन पत्र प्रदान गरिएको थियो। साथै समूहलाई निरन्तर योगदान पुर्याउँदै आएका उत्कृष्ट ६ जना टिम लिडरहरूलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो। यी सम्मान कार्यक्रमले संस्थाभित्रको समर्पण, नेतृत्व क्षमता र योगदानको कदर गर्दै आगामी दिनमा अझ सक्रिय रूपमा काम गर्न प्रेरणा प्रदान गरेको आयोजकले जनाएको छ।
त्यसैगरी, संस्थाका सक्रिय सदस्यहरू तथा सहयोगीहरूलाई पनि कदर स्वरूप खादा, टीका सहित सम्मान गरिएको थियो। कार्यक्रमले केवल उत्सव मात्र नभई आपसी सम्बन्ध, सहकार्य र भावनात्मक एकतालाई अझ सुदृढ बनाउने अवसरका रूपमा काम गरेको सहभागीहरूले बताएका छन्।
कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण अतिथि, सदस्य, सहयोगी, शुभेच्छुक तथा सम्पूर्ण सिर्जनशील मनहरूमा आयोजकले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।
विशेष रूपमा, कार्यक्रमलाई व्यवस्थित र आकर्षक ढंगले सञ्चालन गर्नुहुने सञ्चालक गौरव विष्टको भूमिका अत्यन्तै महत्वपूर्ण तथा प्रशंसनीय रहेको उल्लेख गरिएको छ।
सिर्जनशील मिडिया ग्रुपले आगामी दिनहरूमा पनि यस्तै माया, विश्वास र सहकार्यलाई निरन्तरता दिँदै अझ सशक्त, सिर्जनशील र प्रभावकारी गतिविधिहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
समूहले आफ्नो यात्रालाई केवल संस्थागत उपलब्धिमा सीमित नराखी समाजमा सकारात्मक परिवर्तन ल्याउने दिशामा केन्द्रित गर्दै लैजाने लक्ष्य लिएको जनाएको छ। तीन वर्षको सफल यात्रापछि अब आगामी दिनहरूमा अझ ठूलो जिम्मेवारी र अवसरहरूलाई आत्मसात गर्दै अगाडि बढ्ने दृढ विश्वास व्यक्त गरिएको छ।
“संयुक्त सङ्ग्रह” पुस्तक प्रकाशन सम्बन्धी जानकारी
यसै अवसरमा सिर्जनशील मिडिया ग्रुपको निर्णयअनुसार साहित्यिक सिर्जना, प्रतिभा प्रस्फुटन तथा सर्जकहरूलाई एउटै साझा मञ्चमा आबद्ध गर्ने उद्देश्यले “संयुक्त सङ्ग्रह” पुस्तक प्रकाशन योजना अघि बढाइएको जानकारी गराइएको ग्रुप का उपाध्यक्ष गौरब विष्ट ले बताउनु भएको छ।
संस्थाको आगामी वार्षिक उत्सव २०८४ को विशेष अवसरमा उक्त संयुक्त सङ्ग्रह पुस्तक औपचारिक रूपमा प्रकाशन तथा विमोचन गरिने भएको छ। यस पुस्तकमार्फत विभिन्न सर्जकहरूको उत्कृष्ट रचनाहरू एउटै कृतिमा समेटी साहित्यिक योगदानलाई अझ सशक्त बनाउने लक्ष्य राखिएको छ।
यस योजना अन्तर्गत रचना सङ्कलन, सम्पादन तथा प्रकाशन कार्यलाई चरणबद्ध रूपमा अगाडि बढाइनेछ। साथै, आवश्यक आर्थिक व्यवस्थापनका लागि “सिर्जनशील पुस्तक सहायता कोष” स्थापना गरी अक्षय कोषबाट प्राप्त ब्याज, सदस्य तथा शुभेच्छुकहरूको स्वेच्छिक सहयोग तथा विभिन्न कार्यक्रमबाट बचत रकम संकलन गरिनेछ। संकलित रकमको पारदर्शी र जिम्मेवार उपयोग गरिने जनाइएको छ।
यस महत्वपूर्ण अभियानलाई सफल बनाउन सम्पूर्ण सदस्य, सर्जक तथा शुभेच्छुकहरूबाट आवश्यक सहयोग, सहभागिता र सहकार्यको हार्दिक अपेक्षा गरिएको छ।


