
बाजुरा— त्रिवेणी नगरपालिका–४ तोली देवलडाँडा माध्यमिक विद्यालयमा बडीमालिका मष्टोदेवल ज्ञानविज्ञान धार्मिक महामहोत्सव–२०८२ को सचिवालय उद्घाटन गरिएको छ ।
महायज्ञ आयोजक मूल समितिका संयोजक तथा वडा अध्यक्ष गणेशबहादुर साउँदको अध्यक्षतामा भएको कार्यक्रममा त्रिवेणी नगरपालिका नगर प्रमुख कर्णबहादुर थापाले सचिवालयको ब्यानर पढी उद्घाटन गरेका थिए । कार्यक्रममा नगर उपप्रमुख कमलाकुमारी जैशी न्यौपाने, नगर प्रवक्ता मीनबहादुर भण्डारी, मूल आयोजक समिति पदाधिकारी, स्थानीय बुद्धिजीवी तथा समाजसेवीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
महायज्ञ आयोजक मूल समितिका महासचिव तथा विद्यालयका प्रधानाध्यापक बिष्णुप्रसाद ओझाका अनुसार आगामी मंसीर ८ देखि १४ गतेसम्म विश्वविख्यात कथावाचक श्री चैतन्यकृष्ण महाराजको प्रमुख वाचनमा महायज्ञ सञ्चालन गरिने भएकाे छ । कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरूको समेत प्रस्तुति रहने जनाइएको छ ।
महामहोत्सवबाट अनाथ तथा टुहुरा बालबालिकाका लागि आवासीय सुविधा थप गर्ने, विद्यालयका लागि जग्गा खरिद तथा भौतिक सुधार गर्ने लगायत विद्यालयको सर्वाङ्गीण विकास गर्ने उद्देश्य राखिएको छ । उद्घाटनकै दिन २२ जनाबाट १ लाख ११ हजारदेखि १ हजार १०० रुपैयाँसम्म दान गरेका छन् । सोही अवसरमा जम्मा ५ लाख २६ हजार ३ सय २१ रुपैयाँ दान संकलन भएको आयोजक समितिले जनाएको छ ।
