
बाजुरा– बाजुराको पूर्वीउत्तरी भेग कोल्टीमा राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले त्याँहाका ४ वटा स्थानीय तहका नागरिकहरुको सहजताका लागि सेवा सुरु गरेको हो ।
बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी शितल बहादुर रावलले बर्षातमा राष्ट्रिय परिचयपत्र बनाउन मार्तडी पुग्न त्यँहाका नागरिकहरुलाई समस्यालाई मध्यनजर गर्दै सेवा सुरु गरिएको बताए । उनका अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट बाजुराका लागि थप भएको स्टेशन कोल्टीमा राखेर सेवा प्रवाह सुरु गरिएको बताएका छन् । कोल्टीमा राष्ट्रिय परिचय पत्र विवरण संकलन कार्य एक महिनासम्म सञ्चालन हुने बताए ।
उक्त सेवाको आइतवार प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, सहायक प्रमुख जिल्ला अधिकारी शितल बहादुर रावल, हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द मल्ल, स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर रोकाया, सुरक्षा निकाय प्रमुख लगायतको सहभागीतामा औपचारीक रुपमा शुभारम्भ गरिएको छ ।
यसअघि राष्ट्रिय परिचयपत्र विवरण संकलनको स्टेशन जिल्ला प्रशासन कार्यालयमा मात्रै रहेको थियो । जिल्लाको पूर्वीउत्तरी भेगका ४ पालिकाको केन्द्र मानिएको कोल्टीमा परिचयपत्रको विवरण संकलन कार्य सुरु भएसँगै त्याँहाका नागरिकहरुलाई सहजता भएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द मल्लले बताए ।
बर्षातको समयमा पूर्वीउत्तरी भेगका नागरिकहरुले कष्टपूर्ण यात्रा गरेर राष्ट्रिय परिचयपत्र सदरमुकाम मार्तडी पुग्नु पर्ने बाध्यता रहेको थियो । कोल्टीमै सेवा प्रवाह सुरु भएसँगै बुढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका, जगन्नाथ गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकाहरु उक्त सेवाबाट लाभान्वित हुने छन् । भने उनीहरुले अब राष्ट्रिय परिचयपत्रका लागि मार्तडी पुग्नु पर्ने बाध्यता हटेको छ ।
राष्ट्रिय परिचयपत्र बनाउन मार्तडी पुग्न सबैभन्दा बढी समस्या झेलिरहेको पूर्वीउत्तरी भेगका नागरिकहरु कोल्टीबाटै सेवा पाइने भएपछि खुसी भएका छन् ।
अहिले मार्तडी कोल्टी सडकखण्ड समेत करिब ३ महिना देखि अवरुद्ध भएको छ । खुलाउन भने हालसम्म कुनै पहल हुन सकेको छैन् । त्यस क्षेत्रका नागरिकहरु नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका सेवाका लागि ४।५ गाडी फेरेर मार्तडी पुग्नु पर्ने बाध्यता रहेको छ ।
नेपाली नागरिकता प्रमाणपत्रको विकल्पका रूपमा सरकारले अघि सारेको राष्ट्रिय परिचयपत्र विभिन्न निकायमा अनिवार्य गर्न थालेपछि प्रशासनमा समेत सेवाग्राहीहरुको भीड लाग्ने गरेको छ ।
