
बाजुरा—बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा एक महिलाले बाटामै बच्चालाई जन्म दिएकी छन् । गाउँपालिकाको वडा नम्बर १ रुढी बस्ने अन्दाजी १८ बर्षकी सुचना दमाईले शुक्रवार दिउँसो स्वास्थ्य संस्था जादैँ गर्दा बाटोमै बच्चालाई जन्म दिएकी हुन् ।
सुत्केरी व्यथा लागेपछि सुचना रुढी गाउँबाट करिब २ घण्टा लाग्ने साप्पाटा स्वास्थ्य संस्थामा जादैँ थिइन् । गाउँकै दुई जना महिलाहरुको सहयोगमा पैदल हिडेर स्वास्थ्य चौकी पुग्न अझै डेढ घण्टा बाँकी थियो । करिब आधा घण्टा पैदल हिड्दै जाँदा लेम्नामा प्रसव व्यथाले च्याप्दै गएपछि हिड्न नसक्ने भइन् ।
सुचना बाटोमै सुत्केरी व्यथाले छट्पटिएपछि नबोकेर लिन सक्ने अवस्था थियो नत एम्वुलेन्स नै । आफन्तले तत्काल डेढ घण्टा टाढा रहेको साप्पाटा स्वास्थ्य संस्थामा खबर गरे । स्वास्थ्य संस्थाबाट हतार हतारमा अनमी रेखा कट्टेल र सुइपर सुनकटा विक व्यथा लागेर छट्पटिएको ठाउँ लेम्नामा पुगिन् । अनमी रेखा त्याँहा पुग्दा सुचनाले छोरालाई जन्म दिई सकेकी थिइन् । साल भित्र अड्किएको थियो, अत्याधिक रगत बगिरहेको थियो । नाल समेत काटेको थिएन् । रेखाले अड्किएको साल झिकिन्, नालको व्यवस्थापन गरिन् । सुचनालाई त्यहीँ ठाउँमा प्रसूति सेवा दिनुका साथै उपचार गरेर शिशु र आमालाई घर पठाइन् ।
अनमी रेखा भन्छन्, “हतार हतारमा गयौ, साल अड्किएर रगत बगिरहेको थियो, प्रसव पीडाले छट्पटिरहेकी थिइन् । म समयमै नपुगे भए आमाको ज्यान जोखिम हुने थियो, धन्न आमा र बच्चालाई बचाउन सफल भयौ ।” अहिले आमा र बच्चा खतरामुक्त छन् भने घरमा पनि हाम्रो निगरानीमा रहेको रेखाले बताइन् । दुबैको स्वास्थ्य अवस्था सामान्य छ । बाटोबाट स्वास्थ्य संस्था ल्याउने थियौ, तर निकै टाढा, बोक्नुपर्ने बाटो अफ्ठयारो हुँदा घर पठाएको अनमी रेखाले बताइन् ।
रेखाको सहयोगी सुइपर सुनकटा र सामुदायिक स्वास्थ्य इकाइ जिजुवामा कार्यरत अहेब पाल कुमारी विक रहेकी थिइन् । रेखा करार अनमी हुन्, तर उनी दुर्गम गाउँमा निस्वार्थ भावनाले यसरी जोखिम आमा र बच्चाको ज्यान जोगाइरहेकी छन् ।
बाजुराका दुर्गम गाउँका महिलाहरु अहिले पनि भौगोलिक विकटता, स्वास्थ्य संस्थाको सहज पहुँच नहुनु र यातायातको समस्याले जोखिमपूर्ण अवस्थामा बाटोमै बच्चा जन्माउन बाध्य छन् ।
