
बाजुरा —सरकारले बाजुरा र हुम्ला जिल्ला विवाद सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न समिति गठन गरेको छ । नापी विभागका उपमहानिर्देशक सुशिल डंगोलको संयोजकत्वमा समिति गठन भएको हो ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आइतबार बसेको बैठकले समिति गठन गरेको उनको सचिवालयले जनाएको छ ।
समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट एक–एक जना प्रतिनिधि सदस्य रहनेछन् ।
त्यस्तै, नापी विभागका निर्देशकलाई समितिको सदस्य–सचिवको जिम्मेवारी दिइएको छ । उक्त विषयमा सघन छलफलपछि समिति गठन भएको सचिवालयले जनाएको छ ।
बाजुराको हिमाली गाउँपालिका–३ को लाम्पाटामा प्रहरी चाैकी स्थापना हुन लागेपछि भएकाे विवादको विषयलाई लिएर कुटपिटको घटना भएको थियो । चौकी स्थापना गर्न खोजेपछि हुम्लाका स्थानीयले कवारीखोला भन्दा वारिपट्टि आएर चौकीको संरचना बनाउन खोजिएको भन्दै बाजुराबासी माथि साङघातिक आक्रमण गरेका थिए। उक्त आक्रमणमा परी स्थानीय, जनप्रतिनिधि, प्रहरी सहित ६ जना घाइते भएका थिए ।
यस्तै उक्त घटनाका क्रममा हिमाली गाउँपालिका अध्यक्ष गाेबिन्द मल्लसहित “हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौं” अभियान अन्तर्गत भ्रमणमा गएका धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल सहितकाे टाेली रानीसैनमा नपुगेर हुम्लाका स्थानीयहरुले लखेटेपछि फर्किएका थिए ।


