
आजको युगलाई प्रबिधिको युग भनिन्छ। ज्ञान, सूचना र सञ्जालले संसारलाई नजिक ल्याएको छ। तर, यसै सँगसँगै धार्मिक र सांस्कृतिक पहिचानलाई मेट्ने, सनातन मुल्य र मान्यतालाई कमजोर बनाउने र हिन्दू धर्मलाई बदनाम गर्ने चलखेल विश्वमै तीव्र रूपमा देखापरिरहेको छ। दुर्भाग्यवश, यस्तो लहर नेपालजस्तो सनातन मुलुकमा पनि फैलिन थालेको छ, जसले अब हाम्रा चुपचाप बस्ने दिनहरू समाप्त भएको सङ्केत दिन्छ।
नेपाल हिन्दू राष्ट्रको रूपमा हजारौँ वर्षदेखि चिनिएको, बाँचिरहेको र बढिरहेको थियो। बैदिक संस्कार, देवी–देवताहरूको उपासना, पर्वहरू, तीर्थयात्रा, यज्ञ, व्रत, कथा, प्रवचन, पूजापाठ र आध्यात्मिक मूल्यहरूले यो राष्ट्रको आत्मालाई जीवित राखेको थियो। तर आज, धर्मनिरपेक्षताको नाममा त्यही आत्मालाई क्रमश: कमजोर पार्ने प्रयास हुँदैछ।
➤ धर्मनिरपेक्षता होइन, धर्मविरोधी सोच हावी
धर्मनिरपेक्षता भन्नुको अर्थ सबै धर्मको समान सम्मान हो। तर नेपालमा लागू भएको तथाकथित धर्मनिरपेक्षता, खासमा सनातन धर्ममाथि कुठाराघात भएको छ। यसका केही उदाहरणहरू:
सार्वजनिक स्थलमा प्रवचन, सत्सङ्ग, भागवत कार्यक्रम गर्न अनुमति नदिने।
विद्यालय, कलेज वा सामाजिक संस्थामा सनातन धर्मका विषयमा पढाउन प्रतिबन्ध लगाउने।
सनातन धर्मप्रति श्रद्धा राख्ने धर्मगुरु, विद्वान वा प्रचारकहरूलाई हेप्ने, अपमान गर्ने।
हिन्दू मन्दिरमाथि कर लगाउने, तर अन्य धर्मको संस्थालाई सुविधा दिने।
हिन्दू धर्मलाई ‘पुरानो’, ‘अन्धविश्वासपूर्ण’ भनेर प्रचार गर्ने।
यस्ता कार्यहरू कुनै धर्मनिरपेक्ष राज्यका संकेत होइनन्। यी कार्यहरू त धर्मविरोधी मानसिकताको प्रतिफल हुन्, जसको अन्त्य नगरेसम्म हाम्रो मूल पहिचान संकटमा पर्छ।
➤ धर्मको गलत व्याख्या गरेर राजनीति गर्नु आपराधिक कार्य हो
धर्मले सदाचार, सत्य, अहिंसा, सहिष्णुता र सेवा सिकाउँछ। धर्मले मानव मात्र होइन, समस्त चराचर जगतको कल्याण चाहन्छ। यस्तो पवित्र व्यवस्थालाई बदनाम गरेर केही राजनीतिक शक्तिहरू व्यक्तिगत स्वार्थ र सत्ता प्राप्तिको लागि धर्मलाई प्रयोग गर्छन्। धर्मको नाममा जात–जातीबीच फुट हाल्ने, हिन्दू धर्मभित्रै द्वन्द्व गराउने र बाह्य विचारधाराको प्रचार गरेर मुल संस्कृति मेट्न खोज्ने कार्यहरू अति दुःखद छन्।
ध्यान दिनुपर्ने कुरा के हो भने:
धर्मले राजनीतिलाई मार्गदर्शन गर्न सक्छ, तर राजनीतिले धर्मको उपयोग गरेर सत्ता खेल खेल्न पाउँदैन।
धर्मलाई गल्तीको रुपमा देखाउनेहरूले केवल आफ्नो ज्ञानको अभाव देखाउँछन्, तर त्यो अज्ञानता जनतामा विष फैलाउने प्रयास हो।
धर्मको नाममा राजनीति गर्नु, जनतालाई भड्काउनु, गलत सूचना फैलाउनु यो लोकमा मात्र होइन, परलोकमा पनि अशान्तिको कारण बन्छ।
➤ सत्यको सदा विजय हुन्छ
सनातन धर्म कुनै धर्म मात्र होइन, यो मानव जीवन जिउने सर्वोच्च विधि हो। यो धर्मले जन्मदेखि मृत्युसम्मका सबै पक्षमा मार्गदर्शन गर्छ। यस्ता मूल्यहरू संसारका कुनै पनि धर्मले पूर्ण रूपमा नदिएका छन्। त्यसैले, यो धर्म नष्ट हुन सक्दैन, यसलाई असत्यको आँधीले उडाउन सक्दैन।
सत्य युगदेखि सत्य युगसम्म, सत्य धर्मको विजय हुँदै आएको छ। रामले रावणलाई सत्यका पक्षमा युद्ध गरी जिते। कृष्णले धर्मको रक्षा गर्न अर्जुनलाई युद्धभूमिमा गीता सुनाए। आज पनि त्यही सन्देश सान्दर्भिक छ— जब धर्म संकटमा हुन्छ, तब हाम्रा प्रत्येक धर्मप्रेमी नागरिक अर्जुन बन्नुपर्छ, र हाम्रा विचार, लेख, कर्म गीता बन्नुपर्छ।
➤ हाम्रो जिम्मेवारी के हो?
धर्मको सही ज्ञान लिनुहोस् र साँचो कुरा फैलाउनुहोस्।
बालबालिकालाई सनातन परम्परा, संस्कृति, भाषा र दर्शन सिकाउनुहोस्।
सनातन धर्मका मन्दिर, तीर्थस्थल, ग्रन्थ र कार्यक्रमहरूको संरक्षण र प्रचारमा लाग्नुहोस्।
सामाजिक सञ्जालमा सत्यको पक्षमा आवाज उठाउनुहोस्।
धर्मविरोधी गतिविधिलाई कानुनी, सामाजिक र वैचारिक रूपमा चुनौती दिनुहोस्।
हामीले यदि धर्म बिर्स्यौं भने, धर्मले पनि हामीलाई बिर्सनेछ। धर्म विनाको समाज अन्धकार हुन्छ। त्यो अन्धकारमा बाँच्नुभन्दा, सत्य धर्मको दीप जलाएर जीवन उज्यालो बनाऔं।
उपाध्याय हिमाली गाउँपालिका बाधु बाजुरा घर भइ धार्मिक पर्यटन एवम सामाजिक अभियान्ता हुन ।
