टेक बहादुर बुढा—बाजुराको सदरमुकाम मार्तडी देखि बुढीनन्दाको कोल्टीसम्म बस सेवा सञ्चालन भएको छ । शुक्रवार एक औपचारिक कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख तुलसीराम राेकायाले उद्घाटन गर्दै मार्तडी–कोल्टी बस सेवा सञ्चालन गरिएको हो ।
नगरपालिका, जिल्ला प्रशासन लगायत सबैको लामो समयदेखिको पहल पछि आजबाट मार्तडी कोल्टी बस सेवा सञ्चालन गर्न सफल भइएको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक बोहराले बताए । बाजुराका उत्तरी भेगका पालिका सहित मुगु, हुम्ला र कालिकोटका नागरिकका लागि यातायातको सहज पहुँच पुर्याउन नितान्त आवश्यक रहेको भन्दै आजबाट सदरमुकाम मार्तडी देखि कोल्टीसम्म नियमित बस सेवा सञ्चालनमा आउने नगर प्रमुख बोहराले बताए । उनका अनुसार मार्तडी देखि कोल्टीसम्म प्रतिव्यक्तिको एकतर्फी भाडा पाँच सय रुपैयाँ कायम गरेर महाकाली यातायातका बस सञ्चालन गरिएका छन् ।
मार्तडी कोल्टी बस सेवा सञ्चालनमा आएसँगै जिल्लाको उत्तरी भेगका नागरिकलाई सदरमुकाम सहित महेन्द्रनगर, धनगढी लगायतका ठाउँसम्म आवतजावत गर्न ठुलो सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताए ।
जिल्लाको मुख्य लाइफलाईनको रुपमा रहेको मार्तडी कोल्टी सडकमा बस सञ्चालनका लागि यसअघि पटकपटक पहल हुँदा पनि सञ्चालनमा आउन सकेको थिएन ।
बस सेवा सञ्चालनमा आएपछि लामो समयदेखि महंगो भाडा तिरेर मार्तडी कोल्टीसम्मको कष्टपूर्ण यात्रा गरि रहेका नागरिकहरुलाई राहत भएको बडीमालिका नगरपालिकाका नगर प्रवक्ता तथा वडा नम्बर ७ का अध्यक्ष धर्मराज पाध्यायले बताए ।
आजबाट भव्यताका साथ मार्तडी कोल्टी बस सेवा सञ्चालनमा आएपनि यसको निरन्तरताका लागि सबैले पहल गर्नुपर्ने स्थानीयहरुले बताएका छन् ।