• होमपेज
  • बाजुरा बिशेष
  • बाजुराको पिलुचौर खोलामा बेलिबृज निर्माण कार्य अन्तिम चरणमा

बाजुराको पिलुचौर खोलामा बेलिबृज निर्माण कार्य अन्तिम चरणमा

  • बिहिबार, मंसिर २०, २०८१
बाजुराको पिलुचौर खोलामा बेलिबृज निर्माण कार्य अन्तिम चरणमा

टेक बहादुर बुढा —बाजुराको पिलुचौर खोलामा बेलिबृज निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको छ । बुढीनन्दा नगरपालिका र जगन्नाथ गाउँपालिकाको बिचमा रहेको पिलुचौर खोलामा करोडौं रुपैयाँ लागतमा निर्माणधिन बेलिबृज निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।

सडक विभागले उत्तर दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाको खुलालु– सरिसल्ला सडक योजना कोल्टी बाजुराको २ करोड ३४ लाख ९७ हजार ६ सय ९९ रुपैयाँ लागतमा सो खोलामा बेलिबृज निर्माण हुन लागेको जनाएको छ । यो सडक मार्ग कर्णाली करिडोर अन्तर्गत पर्ने गरेको छ । बेलिब्रिजको सामान बाहेक ढुवानी र निर्माणका लागि ठेक्का भएको हो । बेलिब्रिजको सामान भने सडक डिभिजन कार्यलय नेपालगञ्ज बाट ल्याइएको थियो ।

सडक विभाग उत्तर दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना खुलालु– सलिसल्ला सडक योजना कोल्टीका सूचना अधिकारी अन्तराज शाहीले उक्त खोलामा ४८.८ मिटर लम्बाइको बेलिबृज बन्ने बताएका छन् । बेलिबृज निर्माणको भौतिक काम करिब ९० प्रतिशत सम्पन्न भइसकेकाले यहीँ मंसिर मसान्तसम्म निर्माण कार्य सबै सकिने सूचना अधिकारी शाहीले बताए ।

खुलालु– सरिसल्ला सडक योजना कोल्टीका अनुसार २०८१ बैशाखमा अजनेपनी जेभी काठमाण्डौंसँग १ करोड ९९ लाख २७ हजार १२ रुपैयाँमा २०८१ मंसिर ३० मा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएर काम तीव्र रुपमा भइरहेको जनाएको छ ।

कर्णाली करिडोर सडकखण्डमा रहेको उक्त खोलामा पुल नहुँदा वर्षातको समयमा जोखिमपूर्ण आवतजावत गर्नुपर्ने बाध्यताले सवारी साधनहरुले सास्ती खेप्दै आएका छन् । खोलामा पुल नभएकै कारण बाह्रै महिना खोलाबाटै सवारी साधन वारपार गरि रहेका छन् ।

बेलिब्रिज निर्माण भएपछि बर्षातको समयमा पनि बाजुरा, हुम्ला, मुगुमा नियमित रुपमा यातायात सञ्चालन हुने भएका छन् । सामान ढुवानी सँगै आवतजावतमा समेत निकै सहयोग हुने भएको छ ।

 

चर्चामा

सम्बन्धित समाचार