बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बडीमालिकाद्धारा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सञ्चारकर्मीसँग अभिमुखीकरण

बडीमालिकाद्धारा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सञ्चारकर्मीसँग अभिमुखीकरण

  • बुधबार, बैशाख ३०, २०८३
सेयर गर्नुहोस् :
बडीमालिकाद्धारा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सञ्चारकर्मीसँग अभिमुखीकरण

बाजुरा— बाजुराबाट बढ्दो युवापलायन, वैदेशिक रोजगारका जोखिम र स्थानीय अवसर सिर्जनाको आवश्यकताबारे बडिमालिका नगरपालिकामा सरोकारवालाबीच छलफल गरिएको छ । बडिमालिका नगरपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा “सुरक्षित आप्रवासन (सामी) कार्यक्रम” अन्तर्गत सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सञ्चारकर्मीसँग १ दिने अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । “स्वदेशमै नै रोजगारी गरौं, वैदेशिक रोजगारमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा वैदेशिक रोजगारको अवस्था, जोखिम, युवापलायन तथा स्थानीय रोजगारी सिर्जनाबारे छलफल गरिएको थियो ।

अभिमुखीकरण कार्यक्रमका प्रमुख अतिथि तथा बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले वैदेशिक रोजगार अहिले बाध्यता बन्दै गएको उल्लेख गर्दै युवालाई गाउँमै रोजगारी दिने वातावरण सिर्जना गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताए । उनले भने, “नगरपालिकाका धेरै युवा रोजगारीको खोजीमा विदेशिन बाध्य छन् । अब कृषि, पर्यटन, पशुपालन, जडीबुटी र साना उद्यममार्फत स्थानीय अवसर सिर्जनाका गरिहेका छौ त्यसमा केही नितिगत सुधारका कार्यहरु पनि भइरहेका छन र सुरक्षित वैदेशिक रोजगारका लागि सही सूचना र सीप अत्यावश्यक छ ।” नगरपालिकाले युवा रोजगारका लागि बिभिन्न कार्यक्रम गरेपनी प्रतिफल सोचेजस्ता नआएको बताएका छन । नगरपालिकाले कृषि, पर्यटन, बिभिन्न घरेलु तालिम दिएका छौ । कतिपयले तालिम पश्चात आफै ब्यवासायी बनेका छन भने कतिपयले तालिमको प्रमाण पत्र घरमा थन्काएर बसेको नगरप्रमुख खड्काले भने ।

कार्यक्रमकी अतिथि तथा नगर उपप्रमुख नन्दा थापाले “सचेतना र कानुनी जानकारी अभावमा महिलाहरू बढी जोखिममा पर्ने गरेका छन् । सुरक्षित र मर्यादित वैदेशिक रोजगारका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएकी छन ।” कार्यक्रमका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत लोकराज जोशीले स्थानीय तहको मुख्य लक्ष्य युवालाई स्वदेशमै अवसर सिर्जना गर्नु रहेको बताए । उनका अनुसार नगरपालिकाले स्वरोजगार, सीप विकास, कृषि अनुदान तथा तालिममूलक कार्यक्रममार्फत युवालाई उद्यमशीलतामा जोड्ने प्रयास गरिरहेको बताए ।

कार्यक्रममा वरिष्ठ पत्रकार दयाराम पण्डितले वैदेशिक रोजगारका विषयमा सञ्चारमाध्यमले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले भने, “पत्रकारको काम केवल समाचार लेख्नु मात्र होइन, सही सूचना प्रवाह गर्नु पनि हो । म्यानपावर ठगी, श्रम शोषण र युवा पलायनका विषयमा अनुसन्धानात्मक पत्रकारिता आवश्यक छ रहेको बताएका छन ।” त्यस्तै वरिष्ठ पत्रकार मदनराज जैशीले बाजुराबाट दैनिक रूपमा युवा विदेशिने क्रम बढ्दै गएको भन्दै यसको दीर्घकालीन सामाजिक असरबारे चिन्ता व्यक्त गरे । उनले भने, “गाउँ रित्तिँदै गएका छन् । अब स्थानीय सरकार, समुदाय र सञ्चार क्षेत्र मिलेर युवालाई स्वदेशमै अवसर दिने वातावरण बनाउन आवश्यक रहेको बताएका छन ।”

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले वैदेशिक रोजगारसँग सम्बन्धित सूचना, श्रमिक अधिकार, सुरक्षित आप्रवासन र स्थानीय अवसर सिर्जनाबारे थप प्रभावकारी रूपमा जनचेतनामूलक सामग्री उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । बडीमालिका नगरपालिकाको रोजगार शाखाको आयोजनामा संचालन गरिएको कार्यक्रमको सामी कार्यक्रमको सहयोग रहेको थियो । सो कार्यक्रममा आप्रवासी सेवा केन्द्र कार्यक्रमका परामर्शकता प्रकाश खड्काले जिल्लाको अवस्था कानुनी उपचार र बैदेशीक रोजगारमा हुने समस्या तथा समाधानका बिषयमा सहजीकरण गरेका थिए भने ।

पत्रकार लक्ष्मीराज पाध्यायाले पत्रकारीताका क्षेत्रबाट सुरक्षित बैदेशीक रोजगारमा संचारकर्मीको भुमीकाका बारेमा सहजीकरण गरेका थिए । सो कार्यक्रमको संचालन बडीमालिका नगरपालिका रोजगार संयोजक प्रमिला थापाले गरेकी थिइन । कार्यक्रममा बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का, उपप्रमुख नन्दा थापा, प्रमुख प्रशासकिय अधिकृत लोकराज जोशी, बडीमालिका नगरपालिका ७ का वडा अध्यक्ष तथा नगर प्रबक्ता धर्मराज पाध्याय, वडा न २ का वडाअध्यक्ष डम्मर महत लगायत नगरप्रालिकाका कर्मचारी र बडीमालिका नगरपालिका भित्रका पत्रकार तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार