टेक बहादुर बुढा— बाजुरामा राष्ट्रिय परिचय पत्रका लागि कैदीबन्दीहरुको विवरण संकलन कार्य सुरु गरिएको छ । शनिवार बाजुरा कारागारमा एक औपचारिक कार्यक्रमकाविच राष्ट्रिय परिचय पत्रका लागि कैदीबन्दीहरुको बायोमेट्रिक सहितको विवरण संकलन कार्यको सुरुवात गरिएको हो ।
बाजुरा कारागारका प्रमुख जेलर अनिलकुमार तिवारीले नेपाल सरकार कारागार व्यवस्थापन विभागको पत्र बमोजिम कारागारमै कैदीबन्दीहरुको विवरण संकलन गरिएको छ । उनका अनुसार राष्ट्रिय परिचय पत्रका लागि शुक्रवार २० जना कैदीहरुको आवेदन भरेर शनिवार जिल्ला प्रशासन कार्यालयको टोलि कारागारमै पुगेर विवरण कार्य सुरु गरिएको छ । कारागार प्रमुख तिवारीले सबै कागजात पुगेका २० जनाको आवेदन भरेको र केहिको नागरिकता, बिवाह दर्ता लगायतका कागजात उपलब्ध नहुँदा अब बाँकी रहेकाहरुको अर्को बिदाको दिन विवरण संकलन गरिने बताए ।
जिल्ला प्रशासन कार्यालय राष्ट्रिय परिचयपत्र शाखाका मेसिन कारागारमै लिएर कैदीहरुको आँखा, कान र हस्ताक्षर सहितको बायोमेट्रिक विवरण संकलन गरिएको छ । हाल बाजुरा कारागारमा ४४ कैदी र २५ जना थुनुवा गरी ६९ कैदी रहेका छन् ।
कैदीबन्दीहरुको विवरण संकलन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले कैदीहरुलाई सहज होस् भन्ने उदेश्यका साथ आँखा, कान र हस्ताक्षर सहितको बायोमेट्रिक विवरण संकलन गर्नुपर्ने हुँदा प्रशासनको स्टेसन कारागारमै ल्याएर कार्य सुरु गरिएको बताएका छन् ।
बाजुरा कारागार प्रमुख जेलर अनिलकुमार तिवारीको अध्यक्षतामा सञ्चालन भएको कैदीहरुको विवरण संकलन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या प्रमुख अथिति रहेका थिए । त्यस्तै कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डल, सशस्त्र प्रहरी बल गुल्म बाजुराका डिएसपी श्याम रावत, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देव बहादुर चौधरी, कारागारका कर्मचारी, अन्य सुरक्षाकर्मी पत्रकार लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला प्रशासन कार्यालय राष्ट्रिय परिचयपत्र शाखाका जय ऐडीले गरेका थिए ।