• होमपेज
  • विचार/ब्लग
  • राज्यले युवालाइ अवसर दिनुपर्छ

राज्यले युवालाइ अवसर दिनुपर्छ

  • बिहिबार, बैशाख १८, २०८२
राज्यले युवालाइ अवसर दिनुपर्छ

युवाको अर्थ सामान्यतया देशका मेरुदण्ड भन्ने बुझिन्छ। “युवा नै देशको अग्रगामी विकासका मुल आधार हुन् र युवाको मेहनतले नै देश बन्छ” – यो भनाई यत्रतत्र सुनिन्छ र धेरै अगाडिदेखि सुनिँदै आएको पनि हो । अवश्य पनि युवावस्था भनेको परिवर्तन चाहने उमेर हो र युवामा समाज र देशको लागि केही गर्ने चाहना पनि अधिक हुन्छ । यही कारण युवालाई असीम ‘ऊर्जाको केन्द्र’ र ‘देशको गौरवको आधार’को उपाधि दिनुलाई सही नै मान्नु पर्दछ । युवाको विश्वव्यापी रूपमा मान्य हुने एउटै परिभाषा नभए तापनि सामान्यतया युवावय अवस्थालाई बाल्यकाल सकिएर वयस्क नहोउन्जेलको उमेरलाई युवाकाल भनेर बुझ्ने गरिन्छ ।

नेपाल सरकारको युवा नीति २०७२ मा भने १६ देखि ४० वर्ष समूहकालाई युवा भनेर उल्लेख गरिएको छ । नेपाल सरकारको युवा नीतिले युवालाई ‘राष्ट्रको शक्ति, अमूल्य सम्पत्ति, अग्रगामी परिवर्तनका वाहकहरु’ भनेर व्याख्या गरेको छ । चौतर्फी रुपमा भइरहेको युवासम्बन्धी वहसलाई ध्यानमा राखी युवाले समाजको राजनैतिक, आर्थिक, सामाजिक र शैक्षिक विकास प्रक्रियामा कस्तो भूमिका खेल्न सक्छन् भन्नेबारे चर्चा हुन जरुरी देखिन्छ। परिवर्तन र समय अनुरुप चल्न सक्ने शक्ति नै युवाको जमाज हो। बिश्वमा विभिन्न क्रान्ति ,र योजनाहरु युवा मार्फत नै सफल भएका थुप्रै उदाहरणहरु यत्रतत्र सुनिन्छ्न।

समाजको विकास एक निरन्तर चलिरहने प्रक्रिया हो, जसले समाजको सामाजिक, आर्थिक, भौतिक र वातावरणीय अवस्थालाई सकारात्मक तरिकाले परिवर्तन गरिरहेको हुन्छ । सामान्यतया विकासलाई कुनै पनि समुदायको र त्यहाँका नागरिकहरुको जीवनमा आईपर्ने समस्याहरुलाई हल गर्दै नागरिकहरुको जीवनमा आउने सकारात्मक परिवर्तनका रुपमा व्याख्या गर्ने गरिन्छ । तर, परिवर्तन सहजै आउँदैन । वास्तविक परिवर्तनका लागि समुदायका सबै तहका वर्ग र समूहको सहभागिताको आवश्यकता पर्दछ । त्यसमध्ये पनि माथि उल्लेख गरिएझैँ सबैभन्दा उर्जाशील र परिवर्तनको चाह राख्ने युवावर्गको सहभागिता अत्यन्तै महत्वपूर्ण हुन्छ ।

लगभग तीन दशक यता विश्वव्यापि रुपमा नै ‘सहभागितामूलक विकास अवाधारणा’ स्विकार गरिनुका साथै यसको व्यापक अभ्यास भइरहेको छ । यसले मुलतः कुनै पनि विकास सम्बन्धित समुदायको संस्कृतिको जगमा टेकेर गरिनु पर्दछ र यस्तो विकासको नेतृत्व सम्बन्धित समुदायले नै लिनु पर्दछ भन्ने मान्यता राख्दछ । विकासमा सहभागिता भन्नाले आफ्नो समुदायमा कस्तो विकास गर्ने भन्ने निर्णय गर्नेदेखि, निर्णयअनुसार योजना बनाउने, त्यसको कार्यान्वयन गर्ने, कार्यान्वयन प्रक्रियाको अनुगमन तथा मूल्याङ्कन गर्ने र विकासको प्रतिफलको उपभोगमा समेत सम्बन्धित नागरिकहरुको सहभागिता हुनुपर्छ भनेर बुझिन्छ । यस्तो विकासको अवाधारणालाई ‘सहभागितामूलक विकास’ भनेर बुझिन्छ । विकासमा जनसहभागिताको कुरा गर्दा नेपालको कुल जनसंख्याको आधा हिस्सा युवाले ओगट्ने भएकोले उक्त प्रक्रियामा युवाको सहभागिता अपरिहार्य छ । साथै, युवाहरु शारीरिक हिसाबले मात्र सवल नभएर उनीहरुमा सकारात्मक सोँच हुने, श्रृजनात्मक कार्यमा लाग्ने क्षमता हुने र उनीहरुसँग समाज बदल्ने अठोट हुने हुँदा उनीहरुको सहभागिता जरुरी छ ।

सामुदायिक विकासमा युवाले विभिन्न किसिमका भूमिका खेल्न सक्छन् । युवाकै नेतृत्वबाट सामाजिक राजनैतिक आर्थिक तथा प्राविधिक विकास सम्भव हुन्छ । यसका पर्याप्त उदाहरणहरु नेपाल र विश्वका अनेकौ ठाउँमा देख्न पाइन्छ । सबैभन्दा पहिले युवाको भूमिका राजनीतिमा के हुनसक्छ र अहिलेसम्म घटित घटना र उदाहरणको चर्चा गरौँ ।

पहिलेको तुलनामा अहिलेका युवाहरु सामुदायिक अभियान र राजनीतिक गतिविधिमा चासो राखी त्यसमा सामेल हुन थालेको देख्न पाइन्छ । नेपालको इतिहास हेर्ने हो भने राणा शासन उन्मूलनका लागि भएको क्रान्ति, पञ्चायती व्यवस्था हटाउनका लागि भएको २०४६ सालको आन्दोलन र २०६२÷६३ को दोस्रो जनआन्दोलनमा युवाको सक्रिय भूमिका रहेको थियो । राणशाषनको विरुद्धमा लागी मृत्यु वरण गरेका शहिद गंगालालको उमेर २२ मात्र थियो । त्यतिबेला उनीसँगै देशको लागि थुप्रै युवाहरुले योगदान गरेका थिए । पञ्चायति व्यवस्था विरुद्ध भएको ४६ सालको अभूतपूर्व आन्दोलनमा सक्रिय भूमिका खेल्ने पनि युवाहरु नै थिए र युवाहरुको वलिदानीकै कारण २०६३ सालको आन्दोलन सफल भई नेपालमा गणतन्त्र स्थापना हुन सकेको हो । इतिहासका पाना पानामा युवाको सक्रिय सहभागीता र युवाको पहलले संभावना प्राप्त भएका उदाहरणहरु थुप्रै यथावत रहेकाछन।

हिजोआज त चियापसलदेखि संसदसम्ममा हुने वहसमा ‘राष्ट्र निर्माणमा युवाहरुको भूमिका’ले स्थान पाएको छ । पत्रपत्रिकामा पनि यस विषयमाथि पर्याप्त टिकाटिप्पणी हुन थालेका छन् । यसले समाज अनि सिंगो देशको परिवर्तनको लागि निर्णायक भूमिका खेल्ने राजनीतिक प्रक्रियामा युवाको भूमिका भएको थियो र अझै छ भन्ने कुरा बुझ्न सकिन्छ ।

सामाजिक विकासमा युवाको भूमिका हरेक गाउँ टोलमा देख्न पाइन्छ । समाजमा सञ्चालन हुने सानातिना विकास निर्माणका कामदेखि पालिका तहमा कार्यक्रम बनाउन, नीति निर्माणका लागि सरकारलाई दबाब दिने काममासमेत युवाको भूमिका देख्न सकिन्छ । वर्तमान अवस्थामा युवाले समुदाय विकासमा स्थानीय सरकारसँगको साझेदारीमा विकासका कार्यक्रमहरु सञ्चालन गर्न सक्ने प्रावधान राखिएको छ । यसै नीतिलाई अनुशरण गर्दै थुप्रै युवा र युवा सङ्लग्न सामाजिक संघसंस्थाले स्थानीय सरकारसँग मिलेर विकासका योजनाहरु सञ्चालन गरिरहेका छन् । पालिका तहको योजना तर्जुमा प्रक्रिया हेर्दा बस्ती एवं वडा स्तरीय योजना तर्जुमाका चरणहरुमा युवाहरुको अर्थपूर्ण सहभागिता हुनैपर्ने प्रावधान राखिएका छन् । त्यस्तै, समाजमा विद्यमान कुरीतीहरु जस्तै, जातीय भेदभाव, लैङ्गिक भेदभाव, छाउपडी, घरेलु हिंसा जस्ता अवस्थाका विरुद्ध युवाहरु खुलेर बोल्न थालेका छन् । यस्ता विषयलाई समुदाय तहको वहसमा ल्याउने र त्यसको विरुद्धमा बुलन्द आवाज उठाई परिवर्तनको नेतृत्व पनि युवाले नै लिनु पर्दछ ।

शैक्षिक र आर्थिक विकासमा पनि युवाको भूमिका महत्वपूर्ण हुन्छ । यसको लागि आवश्यक वातावरण तयार पार्न राज्यले संयोजक र संरक्षकको भूमिका खेल्नुपर्ने हुन्छ । तर, अहिले सरकारले यस विषयमा अपेक्षित जिम्मेवारी पुरा गर्न सकेको छैन । नेपालका युवाहरु विश्वबजारमा पुगेका छन् ।
युवा पलायनलाई रोक्न सरकारले समयमै यसका कारकहरूमा अध्ययन गर्न आवश्यक छ । देशमै सानोतिनो रोजगारी गरेर पढ्न पाउने र भविष्यमा सर्टिफिकेट अनुसारको रोजगारी तथा व्यवसायको ग्यारेन्टी हुने भए युवाको ठुलो पंक्ति विदेश पलायनबाट रोकिने देखिन्छ तर यसमा सरकारले ठोस कदम चाल्न आवश्यक छ।

नेपालबाट दैनिक रुपमा २१०० सयको हाराहारीमा युवाहरु अन्य देशको आर्थिक विकासका लागि आफ्नो देश छोडिरहेका छन् । तथ्याङ्कले नेपालका ६० लाखभन्दा बढी युवाहरु नेपालभन्दा बाहिर कार्यरत रहेको देखाउँछ । खाडी मुलुकको भौतिक पूर्वाधार तथा आर्थिक विकासमा ती नेपाली युवाहरुले अर्थपूर्ण योगदान पु¥याएका छन् । उनीहरु मलेसिया, कोरियादेखि युरोपका विभिन्न मुलुकमा पुगेका छन् । आफ्नो मुलुकमा रोजगारीको अभावका कारण यहाँका युवाहरु असङ्ख्य समस्या र पीडा सहँदै विभिन्न मुलुकमा कार्यरत छन् । युवाको त्यो उर्जालाई आफ्नै देशको विकासको लागि उपयोग गर्न सकिएको छैन । कोभिड–१९ का कारण विश्वका विभिन्न मुलुकबाट फर्की नेपालमा कृषि, पशुपालन र प्रविधि क्षेत्रमा उल्लेख्य प्रगति गरेका समाचारहरु धेरै सुन्न पाइन्छन् । यो कुरालाई ध्यानमा राखी राज्यले छिटोभन्दा छिटो युवामुखी विकासको लागि आवश्यक नीति ल्याउनु जरुरी छ ।

तथ्याङ्कले पछिल्लो १० वर्षयता १८ देखि २४ वर्ष समूहका दुई लाख युवाले उच्च शिक्षा हासिल गर्न देश छोडेको देखाउँछ । यसले नेपालबाट शिक्षाकै लागि अरवौँ रुपैया वर्षेनी बाहिरिरहेको देखाउँछ । बाहिर गएकामध्ये धेरैले उतै बस्ने गरेको देखिन्छ भने केही युवाहरु आफ्नै देश फर्की त्यहाँ हासिल गरेका शिक्षा र सीपको उपयोग गर्दै विभिन्न कामहरु अघि बढाइरहेका कुराहरुसमेत पढ्न र देख्न पाइएको छ । कृषिसम्बन्धी सीप हासिल गर्न इजरायल गएका युवा समूहले नेपाल फर्किएर लमजुङमा आरभा आधुनिक कृषि फार्म संचालन गरी स्थानीय सयौँ युवालाई रोजगारी दिएको कुरालाई एक महत्वपूर्ण उदाहरणको रुपमा लिन सकिन्छ । यसबाहेक कति नेपाली युवाहरु उच्च आय भएका देशहरु, जस्तै अमेरिका, बेलायत, अस्ट्रेलिया, फिनल्याण्डमा विश्वविद्यालयदेखि ठूला कम्पनीमा कार्यरत छन् । त्यस्ता जनशक्तिलाई नेपाल फर्कने माहोल बनाई दक्ष युवाबाट त्यहाँ सिकेका कुरा नेपालमा पनि लागू गरी यहाँको विकासमा टेवा पु¥याउन सकिन्छ । विदेशमा उच्च शिक्षा हासिल गरेपछि आफ्नै देशमा केही गर्ने उद्देश्यले नेपाल फर्की प्रविधिको विकासमा लामो समयदेखि सक्रिय महाविर पुनलाई नेपालका हज्जारौँ युवाहरुले रोल–मोडेल मानेका छन् । पुनले अहिले प्रविधिको विकासको लागि उल्लेखनीय कार्य गरिरहेका छन् । उनको कार्यले पनि नेपालको शिक्षा प्रविधिमुखी र युवामुखी बनाउन सकिएमा धेरै युवाहरु स्वदेश फर्काई यहाँको विकासको लागि उपयोग गर्न सकिन्छ । साथै, नेपालकै धेरै युवाहरुलाई पुनको अभियानमा सहभागी गराउन सकिन्छ । महावीर पुन जस्तै क्षमता भएका अन्य सयौँ हुन सक्छन् । उनीहरुको क्षमताको पनि कसरी उपयोग गर्ने भनी सोँच्नु जरुरी छ ।

देशको प्राविधिक विकासमा युवाहरुको योगदान सबैभन्दा बढी छ । अन्य देशको तुलनामा नेपालमा प्राविधिक विकास ढिलो शुरू भए तापनि पछिल्लो १० वर्षयता मुलुकमा प्रविधिको विकासले ठूलो फड्को मारेको देख्न पाइन्छ । युवाहरुको नेतृत्वमा आधुनिक प्रविधिलाई कृषि, यातायात तथा भौतिक निर्माण र उद्योगधन्दा क्षेत्रमा जोडी देशको आर्थिक विकासमा हुने लगानीलाई अझै बढाउनु पर्दछ । युवाहरु स्वभावैले आधुनिक प्रविधिको प्रयोग गर्न रुचाउँछन् र प्रविधिलाई विभिन्न क्षेत्रमा उपयोग गर्न चाहन्छन् । त्यसैले होला पछिल्लो समयमा आधुनिक प्रविधिसहितको कृषि पेशामा उनीहरुको सहभागिता बढिरहेको देखिन्छ । यस्ता यस्ता महत्त्वपूर्ण अबसरहरुको खोजीनीति गरि राज्यले लगानी र सहयोगको बाताबरण बनाइदिएमा युवाहरु बिदेश पलायन हुन बाट रोकिने थिए।नेपालमा प्राबिधिक र दक्ष जनशक्तिलाई,रोजगारी र सिपमुलक जस्ता कार्यक्रमको ब्यबस्था गर्न सकिए युवाको मनोबल उच्च हुने थियो होला, यसबाट प्राविधिक विकास भएको खण्डमा सामुदायिक विकासमा युवाको सहभागीता अझै बढी उपलब्धिमूलक हुन्छ भन्ने बुझ्न सकिन्छ । राज्यले युवाको नीति र प्रक्रियामा बिशेश ध्यान दिन जरुरी देखिन्छ।

अन्ततः युवाको सक्रिय सहभागितामा राजनैतिक, आर्थिक, सामाजिक, शैक्षिक र प्राविधिक रूपान्तरण गर्न सकेमा निःसन्देह सम्वृद्ध र समतामूलक समाजको निर्माण हुने निश्चित छ । राज्य संचालन प्रक्रियाका हरेक क्षेत्र र स्थानमा युवाको सक्रिय सहभागीले मात्र देशको गति उभो लाग्न सक्छ। यसबारेमा समाजका सबै वर्ग, समूहले ध्यान दिनु पर्दछ र राज्यले यसको निम्ति आवश्यक नीति निर्माण गर्नु पर्दछ । सबैभन्दा महत्वपूर्ण कुरा त यसको लागि सबैभदा बढी बिचार गर्नुपर्ने र राज्यलाई आवश्यक दवाव सिर्जना गर्नुपर्ने त युवाहरुले नै हो । यसका लागि देशका सम्पूर्ण युवाहरुले गम्भीरतापूर्वक बिचार गरौँ ! राज्यले युवाहरूको लागि लगानी गर्नु पर्दछ। समय र परिवेश सुआउदो अनुरुपको अबसर दिने माध्यम बनाइदिने हो भने यसरी दिनप्रतिदिन युवाहरु बाहिरीले थिएनन् होला।यस विषयया राज्यले गम्भीरता पुर्बक सोच्न,मनन गर्न जरुरी देखिन्छ।

चर्चामा

सम्बन्धित समाचार