सोमवार, बैशाख २४, २०८१

असिनाले बाली सखाप

  • मङ्लबार, चैत्र १३, २०८०
असिनाले बाली सखाप

बेनी– म्याग्दीमा सोमबार परेको भीषण असिनाले हिउँदे खेतीबाली सखाप बनाएको छ। लामो खडेरीपछि परेको असिना पानीले अन्नपूर्ण, मंगला, रघुगंगा गाउँपालिका, बेनी नगरपालिका र पर्वतको जलजला गाउँपालिकामा हिउँदे खेतीबालीमा क्षति पुर्‍याएपछि कृषक निराश भएका छन्।

रघुगंगामा दिउँसो करिब २ बजेदेखि सुरु भएको असिना करिब तीन घण्टा सम्म परेको थियो भने बेनी नगरपालिका क्षेत्रमा साँझ पाँच बजेपछि असिना परेको थियो। असिनाले खेतबारीमा भित्र्याउने अवस्थामा पुगेको गहुँ, जौ, केराउ लगायतका खाद्य बाली सबै नष्ट गरेको छ।

त्यसैगरी खेतमा भर्खर उम्रिएका मकै बाली समेत अनिसाले पूर्ण रुपमा क्षतिवक्षत बनाएको कृषकहरूले बताएका छन्। असिनाले सुन्तला, कागति लगायतका फलफूलमा लागेको फूल समेत झारेको जलजला गाउँपालिका–१ बाँसखर्कका युवराज अर्मजाले बताए।

रघुगंगा गाउँपालिकाको पीपले, भगवती, कलेजाबाङ, मौवाफाँट, बेग, दग्नाम, झिँ, पाखापानी, बेनी नगरपालिकाको पात्लेखेत, घतान, पुलौचार, अर्थुङ्गे, बगरफाँट, बेनीबजार लगायतका स्थानमा भारी असिनापानी भएको थियो। त्यसैगरि मंगला गाउँपालिकाको पूर्णगाउँ, कुहुँ लगायतका क्षेत्रमा समेत असिनापानीले जौ, गहुँ, प्याज लगायतका खेतीबालीमा क्षति पुर्‍याएको छ।

असिनाले गौ, जौ, तोरी लगायतका खाद्यबालीसँगै तरकारी खेतीमा समेत ठूलो क्षति पुर्‍याएको बेनी नगरपालिका–९ तोरीपानीका कृषक भद्रबहादुर बानियाँले बताए। ‘हिउँदभर सिँचाइ गर्न पानी आएन, अहिले एकै पटक अनिसापानी खस्यो,’ उनले भने ‘ भित्र्याउने तयारी गरेको हिउँदेबाली सबै सखाप बनायो।’

असिनापानीले हिउँदेबालीमा ठूलो क्षति पुर्‍याएपछि स्थानीय तह र कृषि ज्ञान केन्द्रले क्षतिको विवरण संकलन गर्ने काम सुरु गरेको जनाएका छन्। अनिसा पानीले पुर्‍याएको क्षतिको वडास्तरबाट विवरण संकलन गर्न थालिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए। कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जिव बास्तोलाले स्थानीय तहका कृषि शाखाका प्राविधिक मार्फत असिनाले पुर्‍याएको क्षतिको विवरण संकलन गर्न थालिएको बताए।

चर्चामा

सम्बन्धित समाचार