शुक्रबार, असार १२, २०८३
  • होमपेज
  • त्रिवेणी
  • त्रिवेणी र रामारोशनकाे  संयुक्त बैठककाे निष्कर्ष, चाकामाइ क्षेत्रको बिषयमा कुनै विवाद छैन

त्रिवेणी र रामारोशनकाे  संयुक्त बैठककाे निष्कर्ष, चाकामाइ क्षेत्रको बिषयमा कुनै विवाद छैन

  • शुक्रबार, असार १२, २०८३
सेयर गर्नुहोस् :
त्रिवेणी र रामारोशनकाे  संयुक्त बैठककाे निष्कर्ष, चाकामाइ क्षेत्रको बिषयमा कुनै विवाद छैन

बाजुरा– त्रिवेणी नगरपालिका, बाजुरा र रामारोशन गाउँपालिका, अछामबीच बडीमालिकाकाे बिचमा रहेकाे चाकामाइ क्षेत्रलाई लिएर सामाजिक सञ्जालमा फैलाइएको विवादको हल्ला निराधार रहेको दुवै स्थानीय तहले स्पष्ट पारेका छन्। शुक्रबार रामारोशन गाउँपालिकाको कार्यालय शान्तडामा बसेको संयुक्त बैठकले दुवै पालिकाबीच कुनै पनि प्रकारको सीमा वा क्षेत्रीय विवाद नरहेको निष्कर्ष निकालेको हो।

सामाजिक सञ्जालमा त्रिवेणी नगरपालिका र रामारोशन गाउँपालिकाबीच चाकामाइ क्षेत्रको विषयलाई लिएर विवाद रहेको भन्दै विभिन्न भ्रामक सूचना तथा टिप्पणीहरू सार्वजनिक भएपछि दुवै स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरूको संयुक्त बैठक बसेको थियो। बैठकले सामाजिक सञ्जालमार्फत फैलाइएका भ्रमपूर्ण प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्रिवेणी नगरपालिका र रामारोशन गाउँपालिकाबीच चाकामाइ क्षेत्रका सम्बन्धमा कुनै विवाद नरहेको स्पष्ट गरेको छ।

बैठकमा दुवै पक्षका जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। छलफलपछि सामाजिक सद्भाव, आपसी भाइचारा तथा स्थानीय तहहरूबीचको समन्वयलाई थप सुदृढ बनाउँदै तथ्यहीन प्रचारप्रसार नगर्न सबैलाई आग्रह गरिएको छ। बैठकको निर्णयमा सामाजिक सञ्जालमा आधारहीन सूचना र भ्रामक सामग्री प्रसारण तथा प्रचारप्रसार नगर्न, यस्ता गतिविधिले समाजमा अनावश्यक भ्रम र द्वन्द्व सिर्जना गर्ने भएकाले जिम्मेवार ढंगले अभिव्यक्ति दिन सबै सरोकारवालालाई अनुरोध गरिएको उल्लेख छ।

बैठकको निर्णयपत्रमा दुवै पालिकाका जनप्रतिनिधि तथा सहभागीहरूले हस्ताक्षर गरेका छन्। संयुक्त बैठकले चाकामाइ क्षेत्रलाई लिएर फैलाइएको विवादको हल्ला असत्य रहेको पुनः स्पष्ट गर्दै आपसी सहकार्य र सद्भावलाई निरन्तर कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

चर्चामा

सम्बन्धित समाचार